राष्ट्रिय सभा निर्वाचन माघ दाेस्राे साता गर्न निर्वाचन आयोगकाे प्रस्ताव

काठमाडौं– राष्ट्रिय सभाका रिक्त सदस्य पदका लागि आगामी माघ ७ देखि ११ गतेभित्र निर्वाचन हुने भएको छ । राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न निर्वाचन आयोगद्वारा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त समयमा निर्वाचन गर्नका लागि आयोगले आजै सरकारलाई परामर्श पेस गर्न लागेको राजनीतिक दलका प्रतिनिधिलाई जानकारी दिए ।

निर्वाचन आयोगको परामर्शमा सरकारले राष्ट्रियसभाको  निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था रहेको छ । ५९ सदस्यीय राष्ट्रिय सभाका एक तिहाइ अर्थात् १९ सदस्यको आगामी फानुन २० गतेबाट पदावधि सकिँदै छ । तीमध्ये १८ जनाको निर्वाचनका माध्यमबाट चयन हुनेछ भने एक सदस्यको  सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्ने व्यवस्था छ । पदावधि सकिनु ३५ दिनअघि नै सम्पूर्ण निर्वाचनसम्बन्धी कार्यक्रम पूरा गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘निर्वाचनका लागि कम्तीमा पनि ३५–४० दिन तयारीका लागि समय लाग्ने हुँदा सरकारलाई त्यही अनुसारले माघको ७ देखि ११ गतेभित्र निर्वाचनका लागि मिति घोषणा गर्न परामर्श दिन लागेका हौँ, आयोगमा दर्ता भएका कुनै पनि दललाई सानो वा ठूलो भनेर हेरिएको अवस्था छैन, सबैप्रति समान व्यवहार गर्नरगराउन प्रतिबद्ध छौँ ।’

यो निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्यबाट सातजनाको चयन हुनेछ । निर्वाचनका लागि प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचन मण्डल रहनेछ । 

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उपनिर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगप्रति धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय सभाको निर्वाचनका लागि सरकार र नेकपाका तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले नतिजाको पूर्वानुमान गर्न सकिने राष्ट्रिय सभाको निर्वाचनका लागि पार्टीका तर्फबाट सहयोगको वचन दिए ।

आयोगका अनुसार आगामी निर्वाचनमा प्रदेश नं १ मा महिला एक, दलित एक र अन्य एक गरी तीन, प्रदेश नं २ मा  महिला एक, दलित एक, अल्पसंख्यक एक र अन्य एक गरी चार, प्रदेश नं ३ मा  महिला एक  र अन्य एकजना गरी दुई पदका लागि निर्वाचन हुनेछ । त्यस्तै गण्डकी प्रदेशमा  महिला एक र अन्य एक गरी दुई तथा प्रदेश नं ५ मा महिला एक, अल्पसंख्यक एक र अन्य एक गरी तीन, कर्णाली प्रदेशमा महिला एक, अन्य एक गरी दुई र सुदूरपश्चिम प्रदेशमा महिला एक र अन्य एक गरी दुई पदका लागि आयोगबाट निर्वाचतको तयारी गरिएको छ । 



स्थायी सदनका रुपमा रहेको राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुनेछ । राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक २ वर्षमा समाप्त हुनेछ । पहिलो पटक गोला प्रथाद्वारा १९ जनाको २ वर्ष, २० जनाको ४ र बाँकी २० जनाको वर्ष कार्यकाल ६ वर्ष कायम गरिएको थियो । राष्ट्रिय सभाको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलले निर्वाचन आयोगमा उक्त प्रयोजनाका लागि दल दर्ता गराउनुपर्नेछ । 

राष्ट्रिय जनता पार्टी (राजपा)का महासचिव केशव झाले उम्मेदवार मनोनयन र मतदानबीचको अवधि फराकिलो राख्न सुझाव दिए । उक्त छलफलमा समाजवादी पार्टी, नेपाली जनता दल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायत दलका प्रतिनिधि सहभागी रहेका थिए । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले राजनीतिक दल नै निर्वाचनको प्रमुख सरोकार पक्ष रहेको बताउँदै निर्वाचन मण्डलबारे जानकारी गराए ।



  • प्रकाशित मिति : मंसिर २३, २०७६ साेमबार १७:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया