नेपाल सरकारको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर : राजदूत पुरी

काठमाडौं– नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रलाई आर्थिक–सामाजिक विकासको मार्गमाा अग्रसर गराउने नेपाल सरकारको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर रहेको बताएका छन् ।

उनकाे सम्मानमा परराष्ट्र सचिव शंकरदास वैरागीले बिहीबार अपराह्न राजधानीमा आयोजना गरेकाे बिदाइ समारोहमा उनले तीन तहका निर्वाचन सम्पन्न गरेर नेपालले विश्वलाई एकता, शान्ति र प्रगतिका निम्ति पूर्ण प्रतिबद्ध रहेको सन्देश प्रवाह गरेको बताए । राजदूत पूरीले भने, ‘संसारका कुनै पनि देशले एकैपटक तीनवटा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको इतिहास छैन ।’ 

उनले भारत र नेपालबीचको सम्बन्ध अतुलनीय रहेको तथा शताब्दीऔँ पुरानो आपसी मैत्री भविष्यमा अझ सुमधुर एवं सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताए । ‘देवभूमि नेपाल भारतीयहरूका निम्ति अति सम्मानीय छ, प्रकृतिको वरदानप्राप्त अति सुन्दर राष्ट्र नेपाल जलस्रोत र पर्यटनका माध्यमबाट विकासको पथमा लम्किन सक्षम छ’, उनले भने ।

आफ्नो कार्यकालमा अरुण तेस्रो र मााथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणसम्बन्धी दुई राष्ट्रबीच भएको सहमति, भूकम्पपछिको पुनःनिर्माण, एकीकृत जाँच चौकी, हुलाकी राजमार्गलगायत भारत–नेपाल सहयोग र साझेदारी पारस्परिक मैत्रीका प्रतीक भएको बताए । अरुण तेस्रो र मााथिल्लो कर्णाली जलविद्युत् आयोजनाले नेपालको सामाजिक–आर्थिक परिदृश्यमा अकल्पनीय परिवर्तन ल्याउने र नेपाललाई समृद्ध देशका रुपमा विश्वमा स्थापित गर्ने उनले बताए ।

संक्षिप्त मन्तव्य व्यक्त गर्दै सचिव वैरागीले राजदूत पुरीको कार्यकालमा दुई देशबीचको सम्बन्धले नयाँ उचाइ हासिल गरेको भन्दै त्यसका निम्ति उनले निर्वाह गरेकाे भूमिकाको प्रशंसा गरे । समारोहमा नेपालस्थित अधिकांश देशका राजदूत तथा कार्यबाहक राजदूतहरूको उपस्थिति थियो ।





  • प्रकाशित मिति : मंसिर २६, २०७६ बिहीबार १८:११:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया