एजेन्सी– ‘एक किशोरी जो आफ्नो रिसलाई काबुमा राख्न सिकिरहेकी छे । अहिले चाहिँ मस्ती गरिरहेकी छु र एक साथीसँग पुरानो फिल्म हेरिरहेकी छु ।’
यो परिचय हो, पर्यावरण तथा जलवायु परिवर्तन मुद्दामा काम गर्ने स्विडेनकी १६ वर्षीया ग्रेटा थनबर्गको ।
तिनै ग्रेटा थनबर्ग जसले संयुक्त राष्ट्रसंघमा एउटा भाषणमा रिसाउँदै विश्वका नेताहरुलाई प्रश्न गरेकी थिइन्, ‘हाउ डेयर यु ? कसरी तिमीहरुको यस्तो हिम्मत भयो ?’
विश्वभरका नेताहरुसँग बारम्बार रिस प्रकट गरिरहेकी ग्रेटाले यो परिचय आफ्नो ट्विटरमा राखेकी हुन् । उनलाई केही दिनअघि मात्र विश्वचर्चित पत्रिका टाइमले वर्षव्यक्ति छानेको थियो ।
खासमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रेटालाई व्यंग्य गर्दै उडाएका थिए, त्यही कुरालाई नै ग्रेटाले आफ्नो ट्विटरमा लेखेकी हुन् ।
ट्रम्पले ग्रेटालाई उडाउन चाहिँ त्यति बेला सुरु गरे जब अभिनेत्री रोमा डवेनीले टाइम पत्रिकाको फोटो (ग्रेटालाई वर्ष व्यक्ति बनाएको तस्वीर)लाई सेयर गरिन् र ग्रेटालाई बधाई दिइन् ।
ट्रम्पले त्यही ट्विटरमा जवाफ लेखेका थिए, ‘कस्तो हास्यास्पद ! ग्रेटालाई आफ्नो रिस व्यवस्थापनबारे काम गर्न चाहिएको छ र कोही साथीसँग कुनै पुरानो फिल्म हेर्दा हुन्छ । चिल ग्रेटा चिल ।’
अनि यही कुरालाई नै ग्रेटाले आफ्नो ट्विटरको बायो बनाएकी हुन् ।
त्यसो त ग्रेटाले ट्विटरमा परिचय बदलेको यो पहिलो पटक होइन । उनले यसअघि पनि विश्वका नेताहरुले गरेको आलोचनालाई आफ्नो ट्विटरमा बायो बनाइरहेकी हुन्छिन् । यसअघि उनले ब्राजिलका राष्ट्रपतिले बिग्रिएकी बच्चा भनेपछि आफ्नो ट्विटरमा त्यही लेखेकी थिइन् । गत अक्टोबरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई दयालु तर गलत तरिकाले जानकारी दिइएकी किशोरी भनेका थिए, ग्रेटाले यही कुरा आफ्नो ट्विटर बायोमा लेखेकी थिइन् ।
ग्रेटालाई यो वर्ष टाइम म्यागजिनले पर्सन अफ द इयर बनाएको हो । उनी सबैभन्दा कम उमेरमा टाइमको वर्ष व्यक्ति भएकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।