Wed, 15 Jul, 2020


कमनरकाे कथा
चिया बेचेर महिनामा दुई लाख नाफा
फरकधार / पुस २, २०७६

काठमाडौंमा चिसो निकै बढेको छ । केही दिन यता प्रत्येक विहान चिसोले काठमाडौंमा नयाँ रेकर्ड बनाउँदै आएको छ । 



चिसो र चिया । एकअर्काका पर्याय बन्छन्, काठमाडौंमा । जब चिसो बढ्दै जान्छ, चियाको माग बढ्दै जान्छ । 

केही दिनअघि बानेश्वरमा रहेको एभरेस्ट होटलको पछाडि पनि चिसोको च्यालेन्जलाई चियाको चुस्कीले माथ दिँदै थिए, केही मानिस । 

चिया पसल थियो– बेन टी । 

चिया पसलको नाम बेन टी । तर, कसरी रह्यो यो नाम ? 

चिया पकाउन व्यस्त रहिरहेकी दिदीलाई सोध्ने निर्णयमा पुगेँ । 

कुराकानीको क्रम सुरु भयो, अनि बल्ल थाहा भयो, उनको नाम रहेछ– सुमित्रा गैरे । 

चिया पसलको नाम किन बेन टी राख्नुभएको नि ?

यही एउटा प्रश्नले सुमित्राको मनको पोयो विस्तारै खोल्न सहज बन्यो । 

नवलपरासी हो, सुमित्रको घर । तर, उनी काठमाडौं आएर बस्न थालेको झन्डै आठ वर्ष भइसकेको छ । अनि उनले यो चिया पसल सुरु गरेको पनि त्यति नै वर्ष भइसकेको छ । 

त्यति बेला उनका श्रीमान् भर्खर वैदेशिक रोजगारीबाट फर्किएका थिए । माल्दिभ्समा जेनेरेटर अपरेटरको रुपमा काम गरेका सुमित्रका श्रीमानले एभरेस्ट होटलमा जागिर पाए । अनि नवलपरासीमा छोराछोरीसहित बसिरहेकी सुमित्रालाई भने– काठमाडौं नै आउनू !

१० वर्षसम्म विदेशमा काम गर्न गएका श्रीमानको यो कुरा कुनै योजना नबनाई झट्टै मानिदिइन् सुमित्राले । छोरा र छोरीलाई बोकेर उनी काठमाडौं आइन् । 

श्रीमानलाई एभरेस्ट होटलले ‘एकोमोडेसन’ दिएको थियो । अब चिन्ता पर्यो, सुमित्रा छोराछोरीसँग कहाँ बस्ने ? 

श्रीमानको होटल नजिकै बस्न पाए सहज हुने निष्कर्ष निकाल्दै उनीहरुले बानेश्वर वरपर नै कोठा खोजे । त्यसो त सुमित्राका श्रीमानले त्यति बेला योजना बनाइसकेका थिए, श्रीमतीलाई पनि काठमाडौंमा कुनै काम गराउने । र, त्यो काम आफ्नै होस् भन्ने चाहन्थे उनी ।

र, यही सोचले जन्माइदियो चिया पसल । 

चिया पसल सुरु गर्नुभन्दा केही दिनअघि मात्रै उनी ज्योतिषीकहाँ पुगिन् । ज्योतिषीले उनलाई भनिदिए– श्रीमानको नामबाट व्यवसाय गर्नू, मालामाल हुन्छ ।

त्यही भएर चिया पसल खोल्ने निर्णयलगत्तै सुमित्राले पसलको नाम श्रीमानको नामबाट नै राख्ने निधो गरिन् । श्रीमानको नाम बेनप्रसाद गैरे, चिया पसलको नाम बेन टी ।

‘राम्रो हुन्छ भनेर नै बेन टी नाम राखेकी हुँ नि,’ केही दिनअघि पसलमा चिया उमाल्दै गरेकी सुमित्राले हाँस्दै भनिन्, ‘नत्र त सुमित्रा चिया पसल राख्थेँ नि, किन श्रीमानको नाम राख्थेँ र ?’ 

बेन टी सुरु गर्दा सुमित्राहरुसँग खासै पैसा थिएन । श्रीमानले विदेशमा कमाएर ल्याएको पैसा एउटा स्कुल चलाउने भन्दैमा सकेका थिए, स्कुल नचलेपछि उनको लगानी डुबेको थियो । 

खासै पैसा नभएकाले उनीहरुले सानो लगानीबाट चिया पसल सुरु गर्ने भए । सटर भाडामा पाएपछि पाँच वटा गिलास, दुई प्याकेट दूध, एक किलो चिनी, र चियापत्ती किनेर ल्याइन् सुमित्राले । श्रीमानले एउटा ग्यास र स्टोभ किनेर ल्याए । 

पहिलो दिन ठिकै व्यापार भयो । भोलिपल्ट दुई गुणा भयो । अनि विस्तारै सुमित्राको चिया पसलले ‘मार्केट’ लिन थाल्यो । 

चिया पसलले नै राम्रो हुन थालेपछि सुमित्रा र बेनप्रसादले घरसल्लाह गरे, बेनप्रसादले एभरेस्ट होटलको जागिर छोडिदिए । 

अब यी दुई मिलेर नै बिहानदेखि साँझ अबेरसम्म चिया पसल चलाउँछन् ।

दुुई प्याकेट दूधबाट सुरु भएको चिया पसललमा अहिले कम्तिमा पनि ४० लिटर दूधको चिया बिक्छ । एक लिटरबाट सरदर १० कप चिया बन्छ । यसको आधारलाई मान्ने हो भने सुमित्राले एक दिनमा दूध चियामात्रै पनि ४ सय गिलासभन्दा धेरै बेच्छिन् । लेमन टी, ब्ल्याक टी पनि यस्तै हाराहारीमा पुग्छ ।

‘त्यति बेला चिया पसल सुरु गर्न डेढ लाख रुपैयाँ सापटी लिएको थिएँ,’ सुमित्राले आफ्नो कथा भनिन्, ‘त्यो मैले एक वर्षमा नै तिरेँ । अब त ऋण छैन, बरु राम्रो सेभिङ छ ।’

कति बचाउँछिन् त सुमित्रा चिया बेचेर ? 

‘दिनमा ८÷९ हजार त बच्छ,’ सुमित्राले भनिन्, ‘मासिक त्यस्तै दुई लाख जति बच्छ होला ।’

त्यसो त अहिलेको ठाउँसम्म आइपुग्दा सुमित्राले पहिले सुरु गरेको चिया पसल अर्को ठाउँमा सारिसकेकी छिन् । तर, पहिलेको ठाउँ पनि नजिकै थियो, त्यसैले उनका पुराना ग्राहक पनि नयाँ ठाउँसम्म आइपुगे ।

तिनै पुराना ग्राहकको प्रशंसाका कारण दिनभरको थकानलाई पनि खुसीमा बदल्ने ऊर्जा मिल्छ सुमित्रालाई । ‘कहिलेकांही त गल्ती गरिन्छ, त्यस्तो बेला ग्राहकहरु कराउनुहुन्छ,’ सुमित्राले भनिन्, ‘कोही चिनी नहालेको चिया मागिरहेको हुन्छन्, उनीहरुलाई नै धेरै चिनी पनि जान सक्छ । तर, यस्तो सधैं हुने होइन ।’

त्यसो त सुमित्राका ग्राहक कति छन् भने विहान उनले १५ मिनेटमात्रै ढिला पसल खोलिन् भने पनि उनलाई फोन आइहाल्छ– चिया पसल किन नखोलेको ?

‘अस्ति तिहारमा पनि त्यस्तै भयो,’ उनले भनिन्, ‘टिकाको दिन पनि मैले पसल खोल्नु पर्यो, दाजुभाइहरु टिका लगाएपछि चिया खाने भन्दै मेरो पसलमा आइपुगेका थिए । बरु मै माइत जान पाइनँ ।’

सुमित्राले बेन टी पसलमा चिया बेच्न थालेको आठ वर्ष भइसक्यो, यी वर्षमा उनको चिया पसलमा हजारौँ ग्राहक आए । तर, सुमित्रा अहिलेसम्म अरु कुनै चिया पसलमा ग्राहक भएर पुगेकी छैनन् । 

‘मलाई चिया खानै मन लाग्दैन,’ उनले भनिन्, ‘यहाँ विभिन्न थरीको चिया अर्डर हुन्छ, ती चिया चाख्दाचाख्दै पनि मैले कम्तिमा दिनमा १० कप चिया त खान्छु नै होला ।’

बरु उनका श्रीमान अरु चिया पसलमा पुगिरहेका हुन्छन्, त्यहाँको स्वाद चाखेर आएर सुमित्रालाई भन्ने गर्छन् । राम्रो कुराको अनुसरण गर्छिन्, त्यसपछि सुमित्रा । 

अहिले सुमित्राको चिया पसलमा कति भीड लाग्छ भने श्रीमानश्रीमतीले नभ्याउने भएर उनीहरुले अरु तीन जना काम गर्ने मानिस राखेका छन् । ‘आफू पनि बाँचेकी छु,’ उनले भनिन्, ‘रोजगारी पनि दिन पाएकी छु, यसले त मलाई फाइदा नै पुगेको छ नि ।’

अब विस्तारै बेन टीलाई सुमित्राले ब्रान्डको रुपमा विकास गर्ने योजना बनाएकी छिन् । ‘नेपालका विभिन्न ठाउँमा बेन टीको नामबाट चिया पसल खोल्न मन छ मलाई,’ उनले भनिन्, ‘काम त पाखुरा चलुन्जेल गर्नु पर्छ नि ।’


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्