Sun, 05 Jul, 2020


अमेरिकी सरकारले नेपाली सेनालाई दियाे दुईवटा स्काई ट्रक
फरकधार / पुस २, २०७६

काठमाडौं– नेपाली सेनालाई अमेरिकी सरकारले दुईवटा एम २८ स्काई ट्रक हस्तान्तरण गरेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्ल्यू बेरीले बलाधिकृत रथी शरद गरीलाई ती विमान हस्तान्तरण गरेका हुन् । 



छोटो समयमा उडान र अवतरण गर्नसक्ने क्षमतासहितको उक्त विमान नेपालको भूूगोलका लागि उपयुक्त मानिन्छन् । नेपालको मानवीय सहायता र विपद् व्यवस्थापन प्रतिकार्य सञ्चालनमा यी विमानबाट महत्वपूर्ण योगदान पुग्नेछ । अमेरिकी सरकारबाट हालसम्म प्रदान गरिएको यो सबैभन्दा ठूलो सुरक्षा अनुदान हो । 

दुई हजार ३०० केजी भारवहन क्षमताका यी विमानले २५ हजार फिटसम्मको उचाइमा उडान भर्नेछ । निकै शक्तिशाली इञ्जिन जडान भएका यी विमानले नेपालको मनाङमा पनि उडान भर्न सक्नेछन् । 

तीन चालक दलसहित १८ जना यात्रु क्षमताका यी विमान विपद्मा चिकित्सक टोली र राहत सामग्री ओसारपसार, प्याराजम्प, ठूला खाले दुर्घटनामा घाइते उद्धार र कहिलेकाहीँ विशिष्ट व्यक्तिको सवारीका लागि प्रयोग गरिने नेपाली सेनाले जानकारी दिएको छ । दुर्गम क्षेत्रमा अत्यावश्यक सामान ढुवानीका लागि पनि यी विमान प्रयोग गरिने बताइएको छ । यी दुई विमानको मूल्य करिब एक करोड ५० लाख अमेरिकी डलर रहेको जानकारी दिइएको छ ।

विमानका लागि आवश्यक अतिरिक्त पाटपुर्जा, विमान चालक तथा मर्मतसम्भार तालिम र आधुनिक मर्मतसम्भार व्यवस्थापन अभ्यासमा सहजीकरणलगायतको सहयोग पनि अनुुदानमा समावेश रहेको अमेरिकी दूतावासले जानकारी दिएको छ । यी दुई विमान प्राप्त गरेसँगै अब नेपाली सेनासँग साना र मध्यमखाले गरी सातवटा विमान र १५ हेलिकाेप्टर भएका छन् ।

समारोहमा प्रधानसेनापति पूर्णचन्द्र थापाले अमेरिकी सरकारका तर्फबाट नेपाली सेनालाई उपलब्ध हुँदै आएको तालिम र यस प्रकारका सहायताले दुुई देशबीचको सम्बन्ध विस्तारमा योगदान पुुगेको बताए । राजदूत बेरीले नेपालको आवश्यकताअनुसार मानवीय सहायताअन्तर्गत विपद् व्यवस्थापनका लागि सहयोग पुर्याउने हेतुले उपलब्ध गराइएको विमान दुई देशबीच सम्बन्ध सेतुका रुपमा रहने विश्वास व्यक्त गरे ।

नेपाली सेना हवाई महानिर्देशनालयका सहायक रथी घनेन्द्रबहादुर शाहले नेपाल–अमेरिकी सम्बन्धको विस्तारमा विमानसम्बन्धी सहयोग कोसेढुंगा सावित भएको बताए । अमेरिकी सरकारले नेपाली सेनालाई आगामी दिनमा थप एक विमान उपलब्ध गराउनेछ । अमेरिकी दूतावासले भनेको छ– यस्ता पहलबाट नेपालको दीर्घकालीन दिगोपन, सुरक्षा र उत्थानशीलतालाई सशक्त बनाउनका लागि दुई देशबीचको सहकार्य र निकट साझेदारी प्रदर्शन भएको छ ।
 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्