एजेन्सी— अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्तावलाई मन्जुरी दिएको छ ।
अब यो मुद्दा अर्को महिना त्यहाँको संसदको उपल्लो सदन अर्थात् सिनेटमा जानेछ । त्यहाँ महाभियोगको पक्षमा दुई तिहाई सांसदले मत दिएमा डोनाल्ड ट्रम्पले पद छोड्नु पर्ने हुन्छ ।
तर, माथिल्लो सदनमा रिपब्लिकनको बहुमत छ । त्यसैले राष्ट्रपति ट्रम्प पदबाट हट्ने सम्भावना देखिँदैन ।
डोनाल्ड ट्रम्प अमेरिकाका तेस्रो राष्ट्रपति हुन् जोविरुद्ध महाभियोग लगाइएको छ । अब सिनेटमा के हुनेछ, महाभियोग सफल भएमा के हुनेछ वा असफल भएमा के हुनेछ, के अब ट्रम्प राष्ट्रपति पदमा चुनाव लड्न पाउँदैनन् ? यस्ता प्रश्नहरु अहिले विश्वभर जन्मिएका छन्, नेपाली पाठकहरुलाई पनि पक्कै यसमा चासो छ ।
यस्तै केही प्रश्न र तिनको उत्तरः
सिनेटमा ट्रम्पविरुद्धको छानबिन कहिले सुरु हुँदैछ ?
स्पष्ट रुपमा अहिलेसम्म यसबारे केही तय भएको छैन । जनवरीको दोस्रो सातामा सिनेटको अधिवेशन सुरु हुँदै छ ।
खासमा एउटा बुझाइ छ कि त्यही जनवरीको दोस्रो साता नै ट्रम्पविरुद्ध छानबिन वा सोधखोज सुरु हुन सक्नेछ । डेमोक्रेटिक पार्टीका नेताहरुले पनि यसलाई अनुरोध गरेका छन् । तर, अहिलेसम्म यो कन्फर्म भइसकेको छैन ।
यदि यो महाभियोग सफल भएमा २०२० मा हुने राष्ट्रपति चुनावमा के हुनेछ ?
यो पनि अहिलेसम्म स्पष्ट भइसकेको छैन । तर, यसबाट रिपब्लिकन पार्टीले आफूलाई फाइदा नै पुग्ने देखेको छ । अर्को चुनावका लागि उठाइने खर्चमा निकै धेरै वृद्धि हुने यो पार्टीले विश्वास लिएको छ ।
डेमोक्रेटिक पार्टीले चाहिँ यसका कारण रिपब्लिकनले निकै ठूलो मूल्य चुकाउनु पर्ने बताएको छ ।
यदि ट्रम्प महाभियोगबाट हटाइए र पेन्स राष्ट्रपति बने भने के उनले फेरि ट्रम्पलाई उपराष्ट्रपति बनाउन सक्छन् ?
अमेरिकाको संविधानमा यसबारे केही पनि भनिएको छैन । त्यसैले पनि यसलाई अर्को सम्भावनाका रुपमा हेरिएको छ । तर, माइक पेन्सले ट्रम्पलाई उपराष्ट्रपति पदका लागि चुन्दा नै उनले दुवै सदनको मन्जुरी लिनु पर्ने हुन्छ । त्यसैले यसलाई सम्भव हुने सम्भावना अत्यन्त कम देखिएको छ ।
त्यसो त सिनेटले महाभियोगपछि ट्रम्पलाई कुनै पनि पदमा रहन नमिल्ने पनि गर्न सक्छ । तर, यो रोक लगाउने सम्भावना कम भएकाले पेन्सले ट्रम्पलाई उपराष्ट्रपतिमा नियुक्त गर्न सक्छन् ।
सिनेटमा रिपब्लिकनको बहुमत भएकाले ट्रम्पविरुद्धको महाभियोग सफल हुँदैन भन्दाभन्दै पनि यस्तो किन गरियो ?
यो खासमा राजनीति हो । डेमोक्रेटिक पार्टीले राष्ट्रपतिलाई जवाफदेही बनाउनु पर्छ भन्ने धारणाका कारण यो गरेको हो ।
डेमोक्रेटिक पार्टीले राष्ट्रपति पदमा रहँदा ट्रम्पले शक्तिको दुरुपयोग गरेको कुरा पुष्टि गर्न चाहन्छ ।
सिनेटले ट्रम्पविरुद्धको महाभियोग असफल गराएमा उनी अर्को चुनावमा राष्ट्रपति पदमा उम्मेदवार हुन पाउँछन् कि पाउँदैनन् ?
निश्चित रुपमा उनी अर्को वर्ष निर्वाचन लड्न सक्छन् । हो, महाभियोगका कारण उनलाई चुनावमा निकै ठूलो घाटा पुग्ने छ । तर, उनले चुनावै लड्न नपाउने चाहिँ कसैले बनाउन पाउँदैन ।
के सिनेटमा सांसदहरुले पार्टीको ह्विप मान्नै पर्छ ?
त्यस्तो छैन । प्रत्येक सिनेटरले आआफ्नो विवेकअनुसार भोट गर्न पाउने छन् । यसपटक ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमा तल्लो सदनमा पनि डेमोक्रेटिक पार्टीका दुई सदस्यले यसको विरोधमा भोट गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।