Wed, 15 Jul, 2020


पद्मकन्या क्याम्पसका लेक्चररको नजरमा विद्यार्थीः ती विद्यार्थी, यी विद्यार्थी
फरकधार / पुस ६, २०७६
पद्मकन्या क्याम्पसका विद्यार्थी

केही वर्षअघिको कुरा हो । पद्मकन्या क्याम्पसले विद्यार्थीहरुलाई लिएर शैक्षिक भ्रमणमा जाने भयो । भ्रमणमा ८० विद्यार्थी सहभागी थिए ।



सुदूरपश्चिममा गएको यो भ्रमणमा होटलका कोठा भेट्ट्याउन महिला विद्यार्थी लिएर गएका शिक्षकलाई समस्या पर्यो । अन्ततः १० जना बाहेक अरु सबैले राम्रो होटलका कोठा भेट्ट्याए । 

‘अनि ती १० जना विद्यार्थीले हामीलाई निकै धेरै समस्यामा पो पारे,’ ती विद्यार्थीहरुसँगै भ्रमणमा गएका पद्मकन्या क्याम्पसका शिक्षक कैलाश उप्रेतीले भने, ‘उनीहरुले आफूलाई हामीले विभेद गरेको गुनासो पो गरे ।’

यो त एउटा घटनामात्र हो, पद्मकन्या क्याम्पसका उपप्राध्यापक उप्रेतीले यस्ता समस्या बारम्बार भोगिरहेका छन् । किनकि उनले पद्मकन्यामा पढाउन थालेकै अब १७ वर्ष भइसकेको छ । 

योबीचमा उनले महिला विद्यार्थीहरुमा आएका परिवर्तनलाई पनि सुक्ष्मरुपमा बुझेका छन् । 

‘कन्या क्याम्पसमा पढाउनुका सुखदुःख दुवै छन्,’ केही दिनअघिको एउटा भेटमा उप्रेतीले सुनाए, ‘किनकि आजभन्दा १५ वर्षअगाडि र अहिले उस्तै उस्तै नम्बरमा यहाँ विद्यार्थी छन् ।’

सुरुमा त कक्षामा पसेर ३५ मिनेट पढाएर बाहिर निस्कँदा नै आफूलाई रिगँटा लाग्ने गरेको कैलाश सम्झिन्छन् । ‘एउटै कक्षामा १ सय ५० विद्यार्थी हुन्थे,’ उनले भने, ‘उनीहरुले सुन्ने गरि पढाउँदा चिच्याउनु पथ्र्यो, अनि कक्षा सकिँदा रिगँटा नै चल्थ्यो ।’

उप्रेतीले पद्मकन्या क्याम्पसमा कस्ता परिवर्तन देखेका छन् त ? केही दिनअघि फरक धारसँग कुराकानी गर्दै उनले बताएः

 

पहिरनको परिवर्तन

आजभन्दा १७ वर्षअगाडि म पद्मकन्या कलेजमा पढाउन आउँदा यहाँका सबै विद्यार्थीले अनिवार्य रुपमा साडी लगाउनु पथ्र्यो । राणाका छोरी हुन् या राजपरिवारका सदस्यका छोरीहरु नै किन नहुन्, सबैले कटनको साडी लगाएका हुन्थे । त्यसले कलेजको माहोल नै फरक थियो । 

तर, साडी लगाउनु झन्झटिलो हुन थाल्यो भन्ने गुनासो पछिल्ला वर्षमा देखिन थाल्यो । सबै समान होउन् भनेर लगाउन बनाइएको साडी विद्यार्थीहरुकै चाहनाका कारण अनिवार्य बनाउनबाट हटाइयो । त्यसपछि विद्यार्थीहरुले यहाँ आउँदा कुर्ता सुरुवाल लगाउन थाले । कुर्ता सुरुवाल कलेजको ड्रेस बन्यो । 

तर, यसमा पनि विद्यार्थीहरुको मन बुझेन । विद्यार्थीहरुको मन नबुझेपछि कुर्ता सुरुवाल पनि लगाउनै पर्ने बाध्यता हट्यो । अहिले त विद्यार्थीहरु जुन कपडामा आफूलाई सहज मान्छन्, त्यही कपडा लगाएर आउँछन् । 

 

पहिले शिक्षकसँग बोल्दैनथे, अहिले उपहार बोकेरै आउँछन्

पहिले पहिले पद्मकन्याका विद्यार्थीहरुले शिक्षकसँग खासै कुराकानी नै गर्दैनथे । उनीहरु शिक्षक देख्यो कि अर्कोतिर फर्किएर हिँड्थे । एक अर्थमा भन्ने हो भने उनीहरुले शिक्षकलाई आँखा उठाएर पनि हेर्न सक्दैनथे । तर, अब विद्यार्थीमा बोल्ने बानीको विकास भइसकेको छ । उनीहरु शिक्षकसँग डराउँदैनन्, कुरा गर्छन् । 

त्यति मात्र होइन, शिक्षक र विद्यार्थीबीचको दूरी निकै घटिसकेको छ । अहिले त बरु शिक्षकसँग नजिकिन खोज्दै विद्यार्थीहरु शिक्षकलाई आज त गुरु पूर्णिमा हो नि भन्दै उपहार बोकेर आउँछन् । कुनै दिवसको सन्दर्भ परेको रहेछ भने उनीहरु नै अगाडि बढेर उपहार दिन खोज्छन्, छलफल गरौँ भन्छन् । 

 

राजनीतिमा चासो हटेका विद्यार्थी

आजभन्दा १० वर्षअघि सम्म पनि पद्मकन्या क्याम्पसमा अधिकांश विद्यार्थीको पहिलो रोजाइ हुन्थ्यो, राजनीतिशास्त्र । अधिकांश विद्यार्थीहरु राजनीतिशास्त्र पढ्न चाहन्थे । 

तर, अब पढ्नका लागि मात्र विद्यार्थीहरुमा राजनीतिप्रतिको चाहना पनि घट्दै गएको पाइन्छ । पहिले परिवर्तनका कुरा, राजनीतिका कुरा गरिरहेका हुन्थे, विद्यार्थीहरु । अहिले त राजनीतिप्रति उनीहरु नकारात्मक धारणा राख्छन्, त्यस विषयमा बोल्दै चाहँदैनन् । 

विषयगत हिसाबमा पनि पछिल्लो समय विज्ञान, मनोविज्ञान, व्यवस्थापन, समाजशास्त्र, नृत्य, संगीतजस्ता विषयले राजनीतिशास्त्रलाई उछिनिसकेका छन् । बरु अहिले त विद्यार्थीहरुले कुन विषय पढ्ने भन्दा स्कोप केमा छ भन्ने कुरा सोधखोज गर्न थालेका छन् । 

 

बदलिँदो छ स्वभाव पनि

केही वर्षपहिले सम्म पद्मकन्यामा पढ्ने विद्यार्थीहरु लजालू स्वभावका हुन्थे । उनीहरु शिक्षकसँग बोल्ने कुरा त परै जाओस्, साथीसाथीबीच पनि त्यति खुलेर कुरा गर्न चाहँदैनथे । चुपचाप बस्ने, कक्षाकोठामा पनि हल्ला नगर्ने र सरल स्वभावलाई अंगिकार गर्ने उनीहरुको बानी थियो । 

तर, अहिलेका विद्यार्थीहरुमा लजालू भन्ने कुरा भेटिँदैन् । उनीहरु आवश्यक कुरामा खुला रुपमा उत्रिएर बहस गर्न सक्ने क्षमताका भएका छन् । लाज, डर अहिलेका विद्यार्थीमा हराइसकेको छ । बरु आफूहरु अन्योलमा नबस्ने बानी उनीहरुमा विकास भएको छ ।

 

कक्षाकोठाबाट बाहिर निस्कन चाहन्छन् विद्यार्थी

केही पहिलेसम्म पद्मकन्याका विद्यार्थीहरु कलेजमा पनि कक्षाकोठामा नै बस्न चाहन्थे । तर, अहिलेका विद्यार्थीमा अतिरिक्त क्रियाकलापमा पनि आफू सहभागी हुनुपर्छ भन्ने धारणा विकास भएको छ । पहिले खेलकुदमा महिला विद्यार्थीको खासै रुचि हुँदैनथ्यो, अहिलेका विद्यार्थीहरु फुटबल, भलिबल, बास्केटबल, ब्याडमिन्टन, टेबलटेनिस खेल्नुपर्छ भन्ने मान्यतामा अडिग छन् । अहिले त यही कलेजबाट केही राष्ट्रियस्तरका खेलाडीसमेत उत्पादन भइसकेका छन् ।

यतिमात्र होइन, पद्मकन्याका विद्यार्थीमा नाचगानमा पनि रुचि बढ्दै गएको छ ।

कैलाश उप्रेती

आफ्नो अधिकार माग गर्ने विद्यार्थी

पहिले पद्मकन्या क्याम्पसमा विद्यार्थीहरु अधिकारको विषयमा खासै कुरा नै गर्दैनथे । अहिले उनीहरुमा अधिकारको विषय चर्को रुपमा उठ्न थालेको छ । शिक्षहरुले पढाएको कुरा राम्रो लागेन भने पनि उनीहरु खुलेर आएर कुरा गर्न थालेका छन्, कलेजको भौतिक अवस्थाबारे आफूहरुले पाउनु पर्ने जे हो त्यसको वकालत गर्न थालेका छन् । 

 

महिला हिंसालाई हेर्ने नजरमा आएको परिवर्तन

महिलामाथिको हिंसाबारे देखाउने चासो र हेर्ने दृष्टिकोणमा कन्या क्याम्पसका विद्यार्थीहरुमा सकारात्मक परिवर्तन भएको छ । पहिलेका विद्यार्थीहरु आफू हिंसा र दुव्र्यबहारमा परेमा पनि कसैलाई भन्दैनथे । यस्ता कुराहरु बाहिर ल्याउन डराउँथे । तर, अहिलेका बिद्यार्थीहरु हिंसाविरुद्ध कडा रुपमा आवाज उठाउने भइसकेका छन् । 

विश्वमा महिला हिंसाको कस्ता मुद्दा चलिरहेका छन् भन्नेमा समेत बहस गर्ने भएका छन् अहिले पद्मकन्याका महिला विद्यार्थी । 

 

प्रबिधिले ल्याएको परिवर्तन

प्रबिधिमा भएको विकासका कारण पनि पद्मकन्याका विद्यार्थीमा व्यापक परिवर्तन आएको छ । आजभन्दा १० वर्षअघिसम्म पनि विद्यार्थीमा इन्टरनेटको सहज पहुँच थिएन । 

त्यसैले अहिले यसको पहुँचले उनीहरुको बानी र सिक्ने प्रक्रियालाई पनि फरक पारेको छ । कतिपय विद्यार्थीले आवश्यक कुरा खोजेर इन्टरनेटको सदुपयोग गरेका छन् । यसले उनीहरुको व्यक्तित्व विकासमा ठूलो सहयोग पुगेको छ ।

इनटरनेटको एक्सेस र विश्वबारे अपडेट हुने भएकाले विद्यार्थीसँग शिक्षक प्रस्तुत हुँदा चाहिँ एउटा शिक्षकले निकै ठूलो चुनौति अनुभूत गर्न सक्छन् । पद्कन्याका विद्यार्थीमा आएको यो परिवर्तन पनि नकार्न सकिँदैन ।
 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्