कसले गरेको रहेछ प्रधानमन्त्रीको ट्विटरबाट सोनिया गान्धीको भिडियो रिट्विट ?
फाइल तस्वीर ।

काठमाडौं– भारतमा अहिले नयाँ नागरिकता कानुनको विषयमा व्यापक विरोध प्रदर्शन भइरहेको छ । यही विषयमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ह्यान्डलबाट २१ डिसेम्बरमा एउटा ट्विट रिट्विट भयो । 

नेपालका प्रधानमन्त्रीको आधिकारिक ह्यान्डलबाट भएको यो रिट्विटले नेपाल मात्र होइन, छिमेकी देश भारतमा र भुटानमा पनि हंगामा मच्चाइदियो । 

भिडियोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले गरेकी थिइन् ।

सोनिया गान्धीको यो भिडियो भारतीय पत्रकार शिवम विजले ट्विट गर्दै लेखेका थिए, ‘जे सोनिया गान्धी गरिरहेकी छिन्, त्यही काम मोदीले गर्नु पथ्र्यो । उनले देशलाई बढो शान्त तरिकाबाट सम्बोधन गरिन् ।’

प्रधानमन्त्रीको आधिकारिक ह्यान्डलबाट आएको यो रिट्विट लगत्तै केही समयअघि मात्र प्रधानमन्त्रीका प्रेस सल्लाहकारमा नियुक्त भएका सूर्य थापाले ट्विटरबाट नै जानकारी दिए, ‘पासवर्ड दुरुपयोग गरि यस्तो गरिएको हुनसक्ने आशंकामा छानविन भइरहेको छ ।’

यही विषयमा छानविन नेपाल प्रहरीले पनि थालेको छ । तर, अहिलेसम्म यसबारे के प्रगति भएको छ भन्ने बाहिर ल्याइएको छैन । 



हामीले यस विषयमा बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत केही सदस्यहरुसँग कुरा गर्यौँ ।



सूर्य थापासँग छैन यो ट्विटरको एक्सेस

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले दुई वटा ट्विटर ह्यान्डल चलाइरहेका छन् । पहिलो उनको व्यक्तिगत र दोस्रो नेपालको प्रधानमन्त्रीले चलाउने ट्विटर । नेपाली प्रधानमन्त्रीको ट्विटर ह्यान्डल नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री हुने समयमा खोलिएको थियो । 

त्यसपछि यो ट्विटर जो प्रधानमन्त्री बन्छ, उनकै सचिवालयमार्फत् प्रधानमन्त्रीलाई दिँदै आइएको छ । 

यसपटक प्रधानमन्त्री भएपछि यो ट्विटर ह्यान्डलको पासवर्ड प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयलाई दिइएको थियो । प्रधानमन्त्रीले पत्रकार कुन्दन अर्याललाई प्रेस सल्लाहकारमा नियुक्त गरेलगत्तै उनलाई नै यो ट्विटर ह्यान्डलको एक्सेस दिइएको थियो । तर, केही समयअघि अर्यालले पदबाट राजीनामा दिए । 

त्यसपछि प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त भए, सूर्य थापा । 

प्रधानमन्त्री सचिवालयका एक सदस्यका अनुसार कुन्दन अर्यालले राजीनामा दिएलगत्तै यो ट्विटर ह्यान्डलको पासवर्ड परिवर्तन गरिएको थियो । त्यसैले यसको एक्सेस अहिले कुन्दन अर्यालसँग छैन । कुन्दन अर्यालसँगै राजीनामा दिएका प्रधानमन्त्रीका अन्य सचिवालय सदस्यसँग पनि यो ट्विटरको एक्सेस छैन, पछिल्लो पटक यो ट्विटर ह्यान्डलको पासवर्ड फेरिँदा पुराना डिभाइसहरुलाई निस्क्रिय पारिएको थियो । 

‘सूर्यजी पनि केही दिनअघि मात्र आउनु भएको थियो,’ प्रधानमन्त्री सचिवालयका ती सदस्यले भने, ‘उहाँलाई पनि यो ट्विटरको पासवर्ड दिइएको छैन । उहाँले प्रधानमन्त्री ओलीको व्यक्तिगत ट्विटर ह्यान्डलमात्र चलाउने गर्नु भएको छ । अनि उहाँ आफ्नै ।’

यसको अर्थ हो, यो ट्विटर ह्यान्डलको एक्सेस प्रधानमन्त्रीको मोबाइलमा र सचिवालयका अन्य दुई सदस्यसँग मात्र छ । 

 

ट्विटरसँग सोधपुछ

अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा नै असर पर्ने खालको ट्विट रिट्विट भएपछि यस विषयमा प्रधानमन्त्री कार्यालयले ट्विटरको कार्यालयसँग सोधपुछ पनि गरेको छ । 

प्रधानमन्त्री सचिवालयका ती सदस्यका अनुसार ट्विटरले यसबारे एउटा जवाफ पनि पठाएको छ । ट्विटरको जवाफमा ‘ट्विटरमा देखिएको बगका कारण’ यस्तो हुनसक्ने जवाफ दिइएको छ । तर, यो कुरा निराकरण गरिसकेको पनि ट्विटरले जानकारी दिएको छ । 

तर, यही एउटा कारणले मात्र प्रधानमन्त्रीको ह्यान्डलबाट त्यो रिट्विट भएको हुनसक्ने कुरामा प्रधानमन्त्री ओली स्वयं कन्भिन्स छैनन् । सचिवालयका ती सदस्यका अनुसार प्रधानमन्त्री ओलीले नै यो कार्यबाट रुष्ट बनेका छन् र उनले यसको छानबिन गर्न प्रहरीलाई निर्देशन पनि दिएका छन् । 

 

के अरु कसैले चलाएको थियो, प्रधानमन्त्रीको मोबाइल ? 

प्रधानमन्त्री केपी शर्मा ओलीले चलाउने मोबाइल हत्तपत्त अरु कसैलाई पनि दिँदैनन् । ‘उहाँले थाहा नपाइ अरु कसैले त्यो मोबाइल चलाउने कुरा पनि भएन,’ प्रधानमन्त्री सचिवालयका ती सदस्यले भने, ‘तर, यो ट्विटर एकाउन्ट लग इन भएको कसैको मोबाइलबाट यस्तो भएको हो कि भन्ने पनि छ ।’ 

प्रधानमन्त्रीको मोबाइलबाट नै यो रिट्विट भएको हुनसक्ने आशंका पनि धेरैले गरेका छन् । तर, आशंकाको घेरामा प्रधानमन्त्रीका नीजि सचिवालयका अन्य दुई सदस्य पनि परेका छन्– प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल र प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अली ।

‘उहाँहरुबाहेक पनि अरुसँग पनि यसको एक्सेस छ,’ प्रधानमन्त्रीका सचिवालयका सदस्यले भने, ‘त्यसैले सबैमाथि छानबिन भइरहेको छ ।’

तथ्य बाहिर नआउने आशंका

प्रधानमन्त्रीको नीजि सचिवालयका ती सदस्यले मात्र होइन, यस विषयमा नेकपाकै केही नेताले पनि यो विषयमा तथ्य बाहिर आउनेमा आशंका गरेका छन् ।

‘यो अनुसन्धान त होला, तर यसको नतिजा बाहिर आउने खालको होला भन्ने लाग्दैन,’ उनले भने । 

यतिमात्र होइन, प्रधानमन्त्री कार्यालयका अन्य अधिकारी र नीजि सचिवालयका सदस्यहरुसमेत यो विषयमा नेपाली मिडियाले बढी उचालेकोमा निष्कर्षमा पुगेका छन् । 

‘यो खासमा गल्ती थियो, ट्विट तत्कालै डिलिट पनि भएको थियो, राष्ट्रिय सरोकारको विषयमा यसबारे मिडियाले यति धेरै नउचालेको भए हुने थियो,’ प्रधानमन्त्री सचिवालयका ती सदस्यले भने । 

  • प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार १३:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया