हारलाई घृणा गर्ने नयाँ जापानी स्टार ताकुमी

काठमाडौं– जापानी स्टार ताकुमी मिनामिनो विजेता हुन् । २४ वर्षका यी फुटबलरलाई कम्तिमा पनि जितबाहेक अरु केही सोच्ने फुर्सद छैन । बरु उनी त नयाँ नयाँ जित निकाल्न प्रतिबद्ध छन् । त्यसैले पनि ताकुमी बारम्बार भनिरहेका हुन्छन्– म हारलाई घृणा गर्छु । 

भन्नेमात्र होइन, ताकुमीले यसलाई पुष्टि पनि गरेका छन् । आफूले जे भनेका छन्, त्यसलाई प्रमाणित गर्दा, ताकुमीलाई उपहार पनि निकै मिलेको छ । जस्तो कि लिभरपुल जस्तो सफल क्लबले उनलाई किनेको छ । अबको चार वर्ष अर्थात् सन् २०२४ सम्म ताकुमी त्यसैले लिभरपुलको जर्सीमा खेल्नेछन् । लिभरपुलले ताकुमीको यो प्रतिभा पहिचान गरेर नै रेडबुल साल्जवर्गबाट ७.२५ मिलियन पाउण्डमा आफ्नो टिममा ताकुमीलाई भित्र्यायो । 

अब केही दिनपछि लिभरपुलको जर्सीमा ताकुमीले साल्जवर्गका लागि यो सिजनमा ९ गोल गरे भने ११ गोलका लागि अवसर सिर्जना गरे । उनले साल्जवर्गबाट २२ खेल खेले ।

यो सबै उपलब्धि हुँदाहुँदै पनि ताकुमीलाई अब प्रिमियर लिग खेल्न पाउँदा निकै खुसी लागेको छ । बरु लिभरपुलसँग जोडिन पाउनुलाई उनी आफ्नो भाग्य मान्छन् । ‘लिभरपुल जस्तो सफल क्लबसँग जोडिन पाउँदा म आफूलाई निकै भाग्यमानी ठान्छु,’ ताकुमीले भनेका छन् ।

तर, यो सफलता अहिले आएर मात्र ताकुमीलाई मिलेको होइन । उनले त बच्चैदेखि फुटबल निकै रुचाउँथे । सानोमै हुँदा उनी स्थानीय क्लबमा जोडिए, अनि आफ्नो संघर्षलाई सधैं कायम राखिरहे । 



‘तपाईंले मलाई रोज्नुभयो,’ उनले सानैमा प्रशिक्षकलाई भनेका पनि थिए, ‘म फुटबल निकै मन पराउँछु, मलाई धेरैभन्दा धेरै खेल्ने अवसर दिनुहोस् न ।’

ती प्रशिक्षकका लागि यो नै सबैभन्दा आश्चर्यको कुरा थियो । ताकुमीलेजस्तो यसअघि कसैले पनि उनलाई यस्तो भनेका थिएनन् । 



सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा विश्वकप फुटबल आयोजना गरेका थिए । त्यहाँ खेल्न पुगेका थिए, ब्राजिलियन स्टार रोनाल्डो । 

तिनै रोनाल्डोलाई आफ्नो आइकन मान्छन्, ताकुमी । ‘मैले रोनाल्डोका भिडियोहरु हेरेको छु,’ ताकुमीले आफ्नै देशमा खेलेका रोनाल्डोका भिडियोको प्रसंगबारे बारम्बार बोल्दै आएका छन्, ‘उनको फिनिसिङ र डिब्लिङको म निकै ठूलो फ्यान हुँ ।’ 

रोनाल्डोलाई जुन स्थानमा उनले राखेका छन्, त्यहाँभन्दा माथि उनले आफ्नै दाइ केन्टालाई राखेका छन् । 

बाबुले पनि फुटबल मन पराउने भएकाले यी दुई दाजुभाइको बाल्यकाल पनि फुटबलसँगै सुरु भयो । ‘अनि दाइले मलाई फुटबल खेल्न निकै उत्साहित गर्नुहुन्थ्यो,’ ताकुमीले भनेका छन्, ‘उहाँकै कारण म यहाँसम्म आइपुगेको हुँ ।’

जापानी टिमका लागि सन् २०१५ मा इरानविरुद्ध भएको मैत्रिपूर्ण खेलबाट डेब्यु गरेका ताकुमीले अब इपिएलका खेलमा कस्तो जादू देखाउने छन्, हेर्न बाँकी नै छ । तर, लिभरपुल उनका लागि त्यस्तो अपरिचित छैन किनकि साल्जवर्गका लागि ताकुमीले लिभरपुलविरुद्ध दुई खेल खेलिसकेका छन् । 

– एजेन्सीकाे सहयाेगमा

  • प्रकाशित मिति : पुस ८, २०७६ मंगलबार १५:२९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया