सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि पुरस्कार घोषणा गर्न माग

काठमाडाैं– राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पदक जितेका खेलाडीलाई पुरस्कारको घोषणा गर्न सरकारसँग माग गरेको छ । सागमा टिम इभेन्टतर्फ रजत र कास्य जितेका खेलाडीका लागि हालसम्म सरकारले पुरस्कार घोषणा नगरेकाले संघले उक्त माग गरेको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर २५ गते सागमा पदक विजेता खेलाडी तथा प्रशिक्षकका लागि विशेष प्याकेजको घोषणा गरेका थिए । व्यक्तिगत स्पर्धातर्फ स्वर्ण विजेता खेलाडीलाई नौ लाख, रजत विजेतालाई ६ लाख र कास्य जितेकालाई तीन लाख दिने घोषणा गरिएको थियो । सरकारले टिम इभेन्ट्सतर्फ स्वर्ण जित्नेलाई पाँच लाख दिने घोषणा गरे पनि रजत र कास्य पदक जित्नेका हकमा भने पुरस्कारको घोषणा गरेको छैन । तेह्रौँ साग सकिएको दुई सातासम्म पनि सोबारे सरकारले निर्णय गरेको छैन । 

'टिम इभेन्ट्सका पदक विजेताका लागि पुरस्कार तत्काल घोषणा गरी खेलाडीको मनोबल घट्न नदिन अनुरोध गर्छौं,' संघका अध्यक्ष दीपक श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपाली खेलकुदमा विगतमा पनि सरकारबाट घोषणा भएका पुरस्कार पाउन खेलाडीले लामो समयसम्म प्रतीक्षा गर्नुपरेको स्मरण गराउँदै उनले यसपटक घोषित रकम तत्काल उपलब्ध गराउन अनुरोध गरेका छन् । नेपालले १३औँ सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कुल २०६ पदक जितेको थियो । 





  • प्रकाशित मिति : पुस ९, २०७६ बुधबार १२:४८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया