ऋचा शर्मा, केकी अधिकारी नेतृत्वको ‘कमेडी कन्टेन्ट’ नै किन यति अश्लिल ?

काठमाडौं– केही समययता हास्यव्यंग्यको रियालिटी सो कमेडी च्याम्पियन कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको छ । कमेडी च्याम्पियनका विभिन्न एपिसोडहरु युट्युबमा पनि राखिएका छन् । 

पछिल्लो समय कमेडी कन्टेन्टहरुले नेपालीको ध्यान निकै तान्न थालेको छ । त्यही कमेडी विधामा भएकाले नै हुनुपर्छ, कमेडी च्याम्पियन पनि छोटो समयमा नै निकै ‘पपुलर’ भएको छ । 

सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा जज रहेको यो कार्यक्रममा विभिन्न प्रतिस्पर्धीले आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन्, विभिन्न विषयमा हास्यव्यंग्य कन्टेन्ट प्रस्तुत गरे । 

कार्यक्रमकी सन्चालिका हुन्, रिमा विश्वकर्मा । कार्यक्रमका प्रोड्युसरमध्ये एक हुन्, अभिनेत्री केकी अधिकारी । 

ऋचा शर्मा, केकी अधिकारी र रिमा विश्वकर्मा पछिल्लो समय नेपाली समाजमा केही गर्छन् भन्ने आश गरिएका अभिनेत्रीहरु हुन् । उनीहरुले विभिन्न कार्यक्रम तथा विभिन्न विषयमा राख्ने धारणा र विभिन्न अभियानमा हुने उनीहरुको सहभागितालाई विशेष रुपमा लिइन्छ । तर, यी तीनले नै नेतृत्व गरेको कमेडी च्याम्पियनमा ‘कमेडी’ कम अश्लीलता बढी छ भन्दा पत्याउनै गाह्रो हुनसक्छ । 

तर, कमेडी च्याम्पियनका विभिन्न एपिसोड तथा भिडियो क्लिपहरुलाई जसरी युट्युबमा राखिएको छ, त्यसले यो कुरालाई पत्याउन बाध्य बनाउँछ । किनकि यी भिडियोहरुमा जे भनेर दर्शकलाई हसाउन खोजिएको छ, ती कुराहरु नेपाली समाजमा पाच्य शब्दावलीले मात्र भरिएका छैनन् । कतिपय कन्टेन्टमै पनि उनीहरुले निकै हलुका तरिकाले कमेडीलाई लिएको बुझ्न सकिन्छ । 



उदाहरणमा कमेडी च्याम्पियनका एक प्रतिस्पर्धी प्रनेश गौतमले गरेको एउटा ‘कमेडी’ भिडियोलाई लिँदा हुन्छ । उनले त्यो एपिसोडमा यस्ता शब्दहरुको प्रयोग गरेका छन्, जुन शब्दहरु एउटा सुसँस्कृत समाजका लागि वर्जित छन् । यी गौतम तिनै हुन्, जसले फिल्म समीक्षा गर्दा आवश्यक होसियारी नअपनाएको आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको थियो । 

त्यति बेला प्रनेशको पक्षमा सिंगो नेपाली समाज उभिएको थियो । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठेको थियो । त्यति बेला स्वयं केकी अधिकारीले आफ्नो ट्विटरमा एउटा स्क्रिन सट राखेकी थिइन् । उनको फेसबुकको पोस्टलाई उनले ट्विटरमा सेयर गरेकी थिइन् ।  



त्यो पोस्टमा केकीले लेखेकी थिइन्, ‘ठट्टाको नाउँमा अपशब्द, गालीगलौच, व्यक्तिगत रुप, रंग, बनौट, धर्म, लिंगका आधारमा गरिने मानहानी कदापि स्वागतयोग्य हुँदैन ।’

तर, आज यीनै केकी अधिकारी निर्मार्ता रहेको कमेडी च्याम्पियनमा तिनै प्रनेश गौतमले कमेडीको नाममा प्रयोग गरेका अपशब्दलाई उनीहरुले नै खुलेर स्वागत गरेका छन् । त्यस्तै अपशब्द प्रयोग गरिएको भिडियो युट्युबमा अपलोड गरिएको छ । 

यसबारे किन बोल्दिनन् केकी ? 

हामीले यस विषयमा कुरा गर्न केही समयअघि देखि केकीसँग सम्पर्क गर्ने प्रस्ताव गर्यौँ । उनले यसबारे कुरा गर्न नै चाहिनन् । कार्यक्रमकी जजसमेत रहेकी ऋचा शर्मासँग पनि हामीले यस विषयमा कुराकानी गर्न खोज्यौँ । तर, उनले पनि यस विषयमा कुरा गर्न मन देखाइनन् । 

बरु ऋचाले त प्रनेशले कार्यक्रममा बोलेका अपशब्दलाई समेत ‘फनी’ भन्दै आफ्नो मत व्यक्त गरेकी छिन् । 

कार्यक्रममा यौनजन्य शब्दहरु वा प्रसंगको बढावामा मात्र दिइएको छैन, केही सामाजिक विषयमा पनि निकै नकारात्मक र ‘आवश्यकता भन्दा बढी’ अतिरन्जित गरिने गरिएको छ । त्यहीमध्ये एक प्रसंग हो, सम्बन्धविच्छेदको । 

यो कुरा स्वीकार गर्छन्, कार्यक्रमकै कार्यकारी निर्मातामध्येका एक, विशाल भण्डारी । 

‘हो, डिभोर्सको बारेमा अलिक बढी नै भयो कि भन्ने पनि हामीले कुरा गरेका हौँ,’ फरक धारसँगको टेलिफोन सम्पर्कमा उनले भने, ‘अब त्यस विषयमा अलिक कम प्रस्तुत गरिने नै भएको छ, हामीले यसमा सेन्सर गर्न थालिसकेका छौँ ।’

यतिमात्र होइन, अनेक अपशब्द र अपाच्य अभिव्यक्तिको संगम बनेको कमेडी च्याम्पियनमा आफूहरुले केही गलत नगरेको पनि उनको दाबी छ । ‘हामीले टिभीमा आउने एपिसोडमा निकै संयम अपनाएका हुन्छौँ,’ उनले भने, ‘तर, युट्युब त एक्लाएक्लै हेर्न मिल्ने हुन्छ, एक्लाएक्लै हेरिन्छ, त्यहाँ हामीले अनसेन्र्सड कार्यक्रम राखिरहेका पनि हुन्छौँ । यो त इस्यु भएन ।’

कमेडीको नाममा महिलामाथि होच्याउने शब्द, समाजमा अपाच्य शब्द प्रयोग गरेमात्र अहिले दर्शक हाँस्छन् हो भन्ने प्रश्न गर्दा विशालको उत्तर थियो– अहिले हामीले एकमाथि अर्को प्रतिबन्ध लगाउँदै जाने हो भने कमेडीका लागि अरु कुनै विषय पनि नरहन सक्छन्, हामीले टिभीमा सेन्सर गरेर पठाएका छौँ, युट्युब पर्सनल प्लेटफर्म हो, त्यसैले त्यसमा अनसेन्सर गरेर पठाएका छौँ ।

विशालले पनि के स्वीकार गरे भने कार्यक्रममा आपत्तिजनक शब्दहरु प्रयोग गरिरहेका छन् । ‘हामीले आपत्तिजनक शब्दहरु सकेसम्म टिभीमा प्रसारण गरेका छैनौँ,’ उनले भने, ‘युट्युब त त्यस्तै प्लेटफर्म हो, त्यहाँ आइरहेको छ ।’

उनले कमेडियनहरुलाई आफूहरुले सेन्सर गरिरहेको पनि बताए । उनले आफ्नो कार्यक्रमले कुनै व्यक्ति, धर्म, वर्ग तथा राज्यले तोकेका ओहोदालाई आफूहरुले नछोएको पनि दाबी गर्छन् ।

उनले कमेडी च्याम्पियन एउटा टुर्नामेन्ट भएकाले पनि आफूहरुले पूरै कैंची चलाउन नसकेको पनि बताउँछन् । ‘अहिलेसम्म प्रसारण भएका विषयवस्तुमा त्यस्तो आपत्तिजनक छ जस्तो लाग्दैन,’ उनले भने, ‘एउटा दुईवटा आपत्तिजनक एपिसोड गए होलान् ।’

उनले अहिले ती आपत्तिजनकको विषयमा कुरा नगर्ने र अरु राम्रा विषयमा मात्र कुरा गर्नु पर्ने धारणा राख्छन् ।

त्यसपछि विशालले भने, ‘हाम्रो पहिलो काम भनेको मनोरन्जन हो । त्यसपछि बल्ल सामाजिक दायित्वको विषय आउँछ । हामीले कन्टेन्टमाथि नै बन्देज लगाउने हो भने मनोरन्जन नहोला, यसमा हामी क्लियर हुनुपर्छ ।’

यतिमात्र होइन, विशाल अहिले कमेडी च्याम्पियनभन्दा अरु च्यानलहरुबाट बढी अपाच्य सामग्री आइरहेको छ भन्ने कुरा पनि भन्न छुटाउँदैनन् । 

के समाजले आश गरेका अभिनेत्री, महिलामाथि जथाभावी भनिनु हुँदैन भन्नेमा स्वर मिलाउने र उनीहरुले लिड गरुन् भन्ने आश गरेका केकी अधिकारी, ऋचा शर्मा र रिमा विश्वकर्माहरुले अब आफ्नो पालो आउँदा यी सब कुरा बिर्सिएका हुन् ? 

यो प्रश्नको उत्तर के उनीहरुले समाजलाई दिनु पर्दैन ? 

  • प्रकाशित मिति : पुस १३, २०७६ आइतबार १७:१४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया