माग पूरा नभए उखु किसानले बालुवाटार घेर्ने
सीताराम महताे

काठमाडौं– ६० वर्षका भए रामविलास महतो । सर्लाहीका रामविलास पहिलो पटक काठमाडौं आएका छन् । अनि केही दिनयता उनी माइतीघरमा भेटिन्छन्, प्रत्येक दिन दिउँसो । 

माइतीघरमा उनले उठाउने एउटै आवाज हो– हाम्रो उखुको पैसा पाउनु पर्यो । 

चिनी मिलका साहुले केही वर्षयता रामविलास महतोको उखुबारीबाट उखु लगिरहेका छन्, तर रामविलासले आफूले हुर्काएको उखुको एक पैसा पाएका छैनन् । 

‘तीन वर्ष भइसक्यो,’ मंगलबार माइतीघरमा भेटिएका रामविलासले भने, ‘अहिले काठमाडौं आउँदा पनि गाउँकै साहुसँग ६ हजार ऋण लिएर आएको हुँ, त्यो पैसा पनि सकिइसक्यो ।’

रामविलासले सपना बनाएका थिए– यो जाडोमा उखुको पैसा पाइन्छ, छोराछोरी र नातिनातिनालाई कपडा किनिदिन्छु । 

विडम्बना ! रामविलास अहिले काठमाडौंमा पनि अरुले दिएको ‘जड्यौरी’ले जाडो कटाइरहेका छन् । ‘बस्ने ठाउँ पनि छैन,’ उनले आँखाभरी आँसु बनाए, ‘घरमा पैसा लिएर मात्र आउँछु भनेको छु, पैसा पाए घर जान हुन्थ्यो ।’



तीन वर्षदेखि नपाएको उखुको पैसा पाउँदा पनि रामविलासलाई अब सहज दैनिकी चाहिँ हुनेछैन । किनकि पैसा नपाएपछि उनले यति धेरै ऋण लिएका छन् कि त्यसको भुक्तानीमा नै उनले पाउने अधिकांश पैसा खर्च हुन्छ । 

तर, अहिलेको बाहिरको चिसो मात्र होइन, रामविलासको मनमा पनि चिसो पसेको छ । चिसो यसकारण कि उनलाई अझै पनि डर छ– उनले पैसा पाउँदैनन् । 



रामविलासले सर्लाहीमा डेढ विघामा उखु खेती गरेका छन् । ‘त्यो पनि बटैयामा लिएको हुँ,’ उखु खेती गर्न खेत अधियाँमा लिएको बताए रामविलासले, ‘मिलवालाले पैसा नदिँदा त्यही खेतीको अधियाँ पनि तिर्न सकेको छैन ।’

रामविलासले एक सुको नपाउन थालेको नै तीन वर्ष भएको हो; त्यसभन्दा अगाडिको पैसा पनि उनले लिन बाँकी छ । ‘यी वर्षमा छोराको कामले घर चलेको छ,’ उनले भने, ‘छोरा दैनिक ज्यालादारीमा काम गर्छ, त्यही ज्यालाले ११ जनाको परिवार चलाइरहेका छौँ ।’

विडम्बना त सबैभन्दा ठूलो रामविलासलाई के लाग्छ भने उनले लगाएको उखु खेतीलाई जहाँ मन लाग्छ, त्यहीँ बेच्न पाउँदैनन् । ‘उखु बेच्न त चिनी मिलमा नै पुग्नुपर्छ,’ उनले भने, ‘अन्यत्र बेच्छु भनेर पनि पाइँदैन ।’

रामविलासको जस्तै कथा छ, हरिश्याम रायको पनि । रायले पनि उखुको पैसा नपाएको केही वर्ष भइसकेको छ । उनी त यसअघि अन्नपूर्ण सुगर मिलका राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका वीरेन्द्र कनौडियाको घरमा नै पुगेर पनि आफ्नो पैसा माग्न विरोध गरे । 

तर, ती चिनी मिलका मालिकले यसबारे कुनै वास्ता गरेनन् । 

बरु उनीहरु उल्टै फरार भए । मंगलबारमात्र सरकारले चिनी मिलका साहुहरु सम्पर्कमा नआए पक्राउ गर्ने चेतावनी दियो । त्यसपछि उनीहरु सम्पर्कमा आए । अब उनीहरुले केही दिनमा उखु कृषकहरुलाई पैसा दिने बताएका छन् । 

‘तर, त्यसको भर छैन,’ माइतीघरमा आन्दोलनमा उत्रिएका कृषकहरु भन्छन्, ‘दिन्छु भनेर उनीहरुले केही वर्षअघि देखि पनि भन्दै आएका छन् । असार र कार्तिकमा पनि उनीहरुले बाँकी रहेको पैसा दिन्छौँ त भनेका थिए तर दिएनन् ।’

त्यसैले हरिश्यामले निष्कर्ष निकालेका छन्, ‘मिलवालाले हामीलाई मर्नु न बाँच्नु बनाए, हाम्रो पीडा सुनाउन हामी काठमाडौं नै आउनु पर्यो ।’

हरिश्यामहरुले आफ्नो पैसा पाउँ भनेर संघर्ष गर्न थालेको १८ महिना भइसकेको छ । तर, उनीहरुले यसबीचमा बारम्बार आश्वासन मात्र पाएका छन्, आफूले पाउनु पर्ने पैसा पाएका छैनन् । 

‘हामीलाई मिलवालाले बारम्बार ढाँटिरहेका छन्,’ उनले भने, ‘हामीलाई ढाँट्ने मिलवालाई सरकारले कडा सजाय दिनै पर्छ ।’

काठमाडौं आउनुभन्दा पहिले यी उखु किसानहरुले जिल्लामै पनि आन्दोलन गरेका थिए, आफूले पैसा पाउनु पर्ने माग राखेका थिए । ‘गत जेठमा मात्र हामी अनसन पनि बसेका थियौँ,’ हरिश्यामले भने, ‘तीन दिन अनसर बसेपछि सम्झौता भयो– हामीलाई पैसा दिने ।’ 

तर, त्यो सम्झौता सम्झौतामा नै सिमित भयो । उखु किसानहरुले पैसा पाएनन् ।

त्यसपछि उनीहरु काठमाडौं आए । अन्नपूर्ण सुगरमिलको काठमाडौंमा रहेको कार्यालयमा उनीहरुले ताला लगाए । तर, अझै पनि अन्नपूर्णका राकेश अग्रवाल उनीहरुको सम्पर्कमा आएनन् । 

‘अब यहाँबाट हाम्रो माग सम्बोधन भएन भने, हामीले पैसा पाएनौँ भने,’ हरिश्यामले भने, ‘हामी प्रधानमन्त्री निवास बालुवाटार घेर्न जान्छौँ ।’

रामविलास र हरिश्यामजस्तै रातभर आकाशलाई नै छत मानेर आफूले पाउनु पर्ने पैसाको माग गरिरहेका छन्, अर्का उखु किसान सीताराम महतो । 

‘हामीले चोरी डकैती गरेको होइन,’ उनले भने, ‘पसिना बगाएर उमारेको उखु प्रयोग गरेकाहरुसँग हाम्रो पैसा मागेको हो । अब त यहाँ काठमाडौंमा बस्न पनि धौ धौ भइसक्यो ।’

अहिले महतो संतुगलमा बसिरहेका छन् । ‘अब त त्यहाँबाट माइतीघरसम्म आउने गाडीभाडा पनि हामीसँग छैन,’ महतोले भने, ‘संतुगलबा हिँड्दै आएका छौँ, हिँड्दै फर्किएका छौँ । तर, सरकारले किन हाम्रो कुरा सुन्दैन ?’ 

  • प्रकाशित मिति : पुस १६, २०७६ बुधबार ११:३६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया