नेकपा बैठक तयारी : सीमा अतिक्रमण र सिएमसीबारे ठाेस निर्णय आउने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दोस्रो केन्द्रीय कमिटी बैठकको तयारी गरिएको छ । यही पुस २३ बस्ने केन्द्रीय कमिटीको बैठकको तयारी गरिएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।  पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक ६ महिनामा एकपटक बस्ने व्यवस्था भए पनि डेढ वर्षमा पहिलो पटक बस्न थालेको हो । विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेका खण्डमा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ । 

विसं २०७५ जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतापछिको यो दोस्रो केन्द्रीय कमिटीको बैठक हो । पहिलो बैठकमा केन्द्रीय सदस्यलाई शपथ खुवाइएको थियो । त्यसपछि बैठक हुन सकेको छैन । पार्टी एकता भएको झण्डै डेढ वर्षपछि बैठक हुन थालेको हो ।  बैठक प्रदर्शनीमार्गस्थिति राष्ट्रिय सभागृहमा गर्नका लागि बुकिङसमेत भइसकेको उनले जानकारी दिए । बैठक आगामी बुधबारदेखि पाँच दिनसम्म सञ्चालन हुनेछ । बिहान ११ बजेदेखि ५ बजेसम्म बैठक हुनेछ । पार्टी एकतापछि पहिलोपटक कार्यसूचीसहित बैठक बस्न थालेको हो । केन्द्रीय कमिटीको बैठकको कार्यसूची सचिवालय बैठकले तय गरेको थियो । 

पार्टीभित्र बैठक, भेला र सांगठनिक गतिविधि बढाउन व्यापक माग बढेका बेला नेकपाको मंसिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक डाकिएको हो । बैठकले सचिवालय बैठक र स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन गर्नेछ । बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टी सञ्चालन गर्ने जिम्मेवारी र सचिवालय सदस्य वामदेव गौतमलाई उपाध्यक्ष बनाउने सचिवालय बैठकको निर्णयलाई अनुमोदनसमेत गर्नेछ । बैठकले अनुमोदन गरेपछि गौतम उपाध्यक्ष बन्नेछन् । यसअघि स्थायी कमिटीले अनुमोदन गरिसकेको छ । 

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र दाहालको राजनीतिक प्रतिवेदन, विधान संशोधन, राष्ट्रिय अभियान सञ्चालन योजना र समसामयिक प्रस्ताव रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । महासचिव विष्णुप्रसाद पौडेलद्वारा सचिवालय बैठकमा प्रस्तुत विधान संशोधन प्रस्तावलाई प्राप्त सुझाब र धारणाका आधारमा अन्तिम रुप दिई केन्द्रीय कमिटी बैठकमा पारित गरिनेछ । संशोधित विधान  प्रस्तावनामा पार्टीको नीतिगत कार्यक्रम समाजवादोन्मुख जनवाद र दीर्घकालीन लक्ष्य वैज्ञानिक समाजवाद हुने उल्लेख छ । 

बैठक पार्टीलाई क्रियाशील बनाउनका लागि अभियानमा मुख्यतया केन्द्रित हुनेछ । ‘प्रदेश, जिल्ला र स्थानीय तहलाई चलायमान बनाउनका लागि अभियान आवश्यक रहेको छ’, विष्णु रिजालले भने, ‘अभियानलाई कसरी सञ्चालन गर्ने भन्ने निर्णय बैठकले गर्नेछ ।’ दुई पार्टी मिलेर बनेको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रायः केन्द्रीय सदस्यबीच एकापसमा समेत भेटघाट भएको छैन । सो बैठकले दुई पार्टीका नेतालाई घुलमिल गराउनसमेत सहयोग मिल्ने विश्वास गरिएको छ । बैठकमा केन्द्रीय कमिटीबाहेक विभिन्न आयोगका अध्यक्षसमेतको सहभागिता हुनेछ । 

बैठकले मुख्यतः सचिवालय र स्थायी कमिटीले गरेको निर्णयलाई अनुमोदन गर्ने कार्यतालिका छ । संशोधित विधान केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मात्र लागू हुन्छ । पाँच दिनसम्म चल्ने बैठकमा केन्द्रीय कमिटी सदस्यको समूह विभाजन गरेर छलफल गरिने केन्द्रीय कार्यालय सचिव रिजालले जानकारी दिए । ‘धेरै केन्द्रीय सदस्य भएकोले सबै बोल्न असम्भव हुन्छ’, उनले भने, ‘समूह–समूह बनाएर एजेण्डामाथि छलफलमा गरिएको निष्कर्षलाई बैठकमा प्रस्तुत गरिनेछ ।’ 



महाधिवेशनपछिको कार्यकारी कमिटी केन्द्रीय कमिटीलाई लिने गरिन्छ । पार्टीको नीति, सिद्धान्त र  योजना केन्द्रीय कमिटी बैठकले नै बनाउने गर्छ । केन्द्रीय कमिटी आगामी एकताको राष्ट्रिय महाधिवेशनसम्मका लागि पार्टीको सर्वोच्च संस्था हुनेछ भनेर उल्लेख गरिएको छ ।  केन्द्रीय सदस्य ठाकुर गैरेले बैठकमा सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयलाई अनुमोदन मात्र गराउन नभई पार्टी र सरकारले गरेका कामको समीक्षासमेत हुने भएकाले  फलदायी हुने बताए ।

आवश्यक विषयमा पार्टीको दृष्टिकोण तथा नीति तय गर्ने र पार्टीका नीति तथा निर्णय कार्यान्वयन गर्ने र गराउनेसमेत पार्टीको अन्तरिम विधानमा उल्लेख गरिएको छ । केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सरकार र पार्टीका अहिले भएका कामको समीक्षा गरी सुधार गर्नमा बैठक केन्द्रित हुनुपर्ने बताए ।  केन्द्रीय सदस्य सुनिल मानन्धरले केन्द्रीय सदस्यले पहिलो पटक पार्टी सञ्चालनका बारेमा आफ्नो विचार राख्न पाउने बताए । ‘पार्टी एकता भएपछि पार्टीमा धेरै नै उतारचढाव आएको छ’, उनले भने, ‘भारतसँगको सीमा विवाददेखि अमेरिकी सहयोगका कुरा पनि आएका छन् । बैठकले यस विषयमा ठोस निर्णय गर्न सघाउँछ ।'



  • प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार १८:१४:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया