राष्ट्रिय सभा निर्वाचन : आइतबार मनोनयपत्र दर्ता

काठमाडौं– राष्ट्रिय सभा सदस्यको माघ ९ गते हुने  निर्वाचनका लागि आगामी आइतबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै छ ।  निर्वाचन आयोगका अनुसार, बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ ।

उक्त निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय सम्बन्धित प्रदेशको उच्च अदालत रहेका जिल्लामा स्थापना भइसकेको छ । उम्मेदवारले मनोनयनपत्र दर्ताका लागि नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता नामावलीको उतार, धरौटी जम्मा गरेको नगदी रसिद वा बैंक भौचर पेस गर्नुपर्ने आयोगले जनाएको छ । महिला, दलित वा अल्पसंख्यक समुदाय वा आर्थिक रुपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ ।

मनोनयनको औपचारिक पत्र, दलित, अल्पसंख्यक वा अपांगता भएका समूहबाट निर्वाचित हुने पदको लागि उम्मेदवारी दिने व्यक्तिले सम्बन्धित गाउँपालिका, नगरपालिका वा प्रचलित कानुनबमोजिम अधिकारप्राप्त निकायले दिएको प्रमाणित हुने निस्सा पेस गर्नुपर्नेछ ।

प्रस्तावक र समर्थकको नाम, सम्बन्धित प्रदेशसभाका सदस्य वा सम्बन्धित प्रदेशभित्रको गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुख समावेश भएको निर्वाचन मण्डलको मतदाता नामावलीमा नाम दर्ता भएको व्यहोरा खुल्ने प्रमाण  पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रुपमा सम्पन्न गर्ने–गराउने कार्यमा सबैको सहयोग र सहभागिताको लागि आयोगले अनुरोध गरेको छ । कुल ५९ सदस्यीय राष्ट्रिय सभाका एकतिहाई अर्थात् १९ जना सदस्यको आगामी फागुन २० गते पदावधि सकिँदै छ । त्यसमध्ये १८ जनाको निर्वाचनका माध्यमबाट चयन हुनेछ भने एकजनाको सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।





  • प्रकाशित मिति : पुस १८, २०७६ शुक्रबार १८:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया