Wed, 15 Jul, 2020


एसिड आक्रमण पीडितको कफी सप जसले पाइरहेछ ‘भव्य’ प्रशंसा
फरकधार / पुस २०, २०७६

ताज महल सम्भवतः विश्वकै एक आश्चर्य हो । तर, त्यहाँबाट आधा माइलमात्र टाढा अर्को एउटा स्थान जन्मिएको छ, जसलाई अहिले ताज महल पुग्ने वा नपुग्ने दुवैले आफ्नो गन्तव्य बनाइरहेका छन् । त्यो हो– सेरोज ह्याङआउट । 



‘म सबैभन्दा पहिले निकै ठूलो आश्चर्यमा परेँ र खुसी भएँ,’ सेरोज ह्याङआउटकी २२ वर्षीय रुपाले भनेकी छिन्, ‘जब भारतीय पर्यटकको एउटा समूहले यहाँ आएर मेरो यो कामको ठूलो प्रशंसा गरे ।’ २२ वर्षकी रुपा एसिड आक्रमणमा परेकी थिइन् । उनीजस्तै एसिड आक्रमणमा परेका अन्य चार महिलाले यो क्याफे सुरु गरेका हुन् । 

‘अहिले यहाँ नियमित आउने ग्राहकहरु पनि छन्,’ उनले भनेकी छिन्, ‘उहाँहरु यहाँ एक कप कफीका लागि मात्र होइन, हामीसँग कुरा गर्न पनि आउनुहुन्छ ।’

सेरोज ह्याङआउटमा अहिले पुग्ने ग्राहकरु खुसी भएर नै फर्किन्छन् । तर, यो त्यहाँ पाइने मीठो कफी र खानाका कारण मात्र पनि होइन ।

यो क्याफे सुरु भएको चाहिँ अब ४ वर्ष पूरा भइसकेको छ । सन् २०१४ मा आग्रामा सुरु गरिएको यो कफी सप यी पाँच महिलाले सुरु गर्नुको उद्देश्य एसिड आक्रमणलाई अन्त्य गराउनु पनि हो । 

‘हाम्रा अधिकांश ग्राहकरुले हाम्रोबारेमा समाचारबाट थाहा पाउँछन्,’ एसिड आक्रमणमा परेकी २० वर्षकी चन्चल कुमारी भन्छिन्, ‘उनीहरु एसिड आक्रमणपछि बाँचेका हामीहरु कसरी जीवन बिताइरहेका छौँ भन्ने हेर्न र थाहा पाउन पनि यहाँ आइपुग्छन् ।’ चन्चल कुमारीलाई सन् २०१२ मा एक युवाले विवाहको प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड आक्रमण गरेका थिए ।

कुमारी जो अहिले पाँचौ पटक कस्मेटिक सर्जरी गरेर बसेकी छिन्, रुपा, रितु सैनी, गीता माहोर, नीतु माहोरसँग काम गरिरहेकी छिन् । उनीहरु खासमा वर्षौसम्म यत्तिकै घरमा बसिरहेका थिए, एसिड आक्रमणपछि विक्षिप्त भएको मन र अनुहार लिएर । सन् २०१३ मा उनीहरुले एउटा फेसबुक अभियान पत्ता लगाए– एसिड आक्रमण रोकौँ । खासमा यो स्टप एसिड एट्याक्स नामको संस्थाले गरेको सुरुवाती अभियान थियो । नयाँ दिल्लीमा अवस्थित यो संस्थाले एसिड आक्रमणमा परेका युवतीहरुलाई सहज बनाउन विभिन्न कामहरु गरिरहेको छ ।

भारतमा एसिड आक्रमण एउटा विकराल समस्याका रुपमा रहेको छ । भारतीय सरकारको एक आँकडाका अनुसार अहिले पनि वर्षेनी भारतमा १ हजारभन्दा धेरै युवतीमाथि एसिड आक्रमण हुन्छ । तर, यीमध्ये धेरै आक्रमणहरुविरुद्ध उजुरी नै पर्दैन । यसको कारण फेरि आफूमाथि वा आफ्नो परिवारमाथि आक्रमण हुनसक्ने भय भएको बताइन्छ ।

यही संस्थाले गीता माहोर र उनकी छोरी नीतुका लागि केही गर्न चाहन्थ्यो । ४२ वर्षकी गीता र उनकी २६ वर्षकी छोरी नीतुमाथि उनका श्रीमानले २३ वर्षअघि एसिड आक्रमण गरेका थिए । नीतुकी बहिनी पनि उनीमाथि आक्रमण हुँदा उनको छेवेमै थिइन् । उनलाई पनि एसिडका बाछिटा परेका छन् । यी दुई आमाछोरीले एसिड आक्रमणका कारण आँखाको ज्योती पनि गुमाएका छन् ।

उनीहरुको जीवन सहज बनाउनकै लागि दिल्लीको यो संस्थाले यो रेष्टुरेन्टको परिकल्पना गरेको हो ।  

अनि अहिले नीतु र उनकी आमा प्रत्येक दिन विहान क्याफेको ड्रेस लगाउँछन् र कफी पिउन आउने ग्राहकलाई सर्भ गर्छन् । नीतुले त अहिले गायन पनि सिकिरहेकी छिन् ।

नीतुसँगै सेरोज ह्याङआउटमा काम गर्ने सैनी चाहिँ १९ वर्षकी मात्र भइन् । उनी पहिले भारतका लागि भलिबल खेल्ने गर्थिन् । तर, परिवारमा सम्पत्तीका लागि भएको झगडामा उनलाई उनकै काकाका छोराले एसिड आक्रमण गरे । त्यसपछि उनले एउटा आँखा गुमाइन् । खेल खेल्न सम्भव नभएपछि सैनीले अहिले सेरोजमा एकाउन्ट हेर्छिन् । 

‘मलाई यति ठूलो समर्थन मिल्यो कि म अब अनुहार नछोपी हिँड्न सक्छु,’ उनले भनिन्, ‘अब मलाई कसले के भन्छ भन्ने कुनै सरोकार छैन ।’ उनीसँगै काम गर्ने रुपालाई चाहिँ उनी १२ वर्षकी हुँदा सौतेनी आमाले एसिड आक्रमण गरेकी थिइन् । 

टेकपार्टका लागि  प्रिति सालियनले लेखेकाे  फिचरकाे भावानुवाद । 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्