गृहमन्त्री थापा चीन र पर्यटनमन्त्री भट्टराई अष्ट्रेलिया प्रस्थान

काठमाडाैं– गृहमन्त्री रामबहादुर थापा चीनको राजधानी बेइजिङ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणामा ६ दिने चीन भ्रमणका क्रममा उनी आइतबार बिहान बेइजिङ प्रस्थान गरेका छन् । 

भ्रमणका क्रममा चीनका जनसुरक्षामन्त्री तथा उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए । मन्त्री थापाको टोलीले चीनको सांघाई र ल्हासाको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ । 

उनको टोलीमा मन्त्री थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, गृह मन्त्रालयका प्रवक्ता, सहसचिव केदारनाथ शर्मा, नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सूर्यप्रसाद उपाध्यायलगायत सहभागी छन् । गृहमन्त्री थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई अष्ट्रेलिया प्रस्थान गरेका छन् । यही पुस २२ गते अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने भ्रमण वर्षको उद्घाटनका लागि पर्यटनमन्त्री गएराति त्यसतर्फ गएका हुन् ।  

पुस २२ तारिखका दिन विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने भ्रमण वर्ष सचिवालयले जनाएको छ । भ्रमण वर्षको अन्तर्राष्ट्रिय शुभारम्भका लागि पर्यटनमन्त्री अष्ट्रेलिया पुगेका हुन् । राष्ट्रमण्डल अष्ट्रेलियाका लागि नेपाली राजदूतावास क्यानबेराको आयोजना तथा महावाणिज्य दूतावास सिड्नी न्यु साउथ वेल्सको सहयोग सिड्नीमा भ्रमण वर्षको भव्य समारोहबीच शुभारम्भ गरिनेछ । 

कार्यक्रममा गैरआवासी नेपाली संघ (एनआरएनए)लगायत स्थानीय अगुवा संस्थाको सहभागिता रहनेछ । कार्यक्रममा पर्यटनमन्त्री भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, नेपालको ५८औँपटक भ्रमण गरेका अष्ट्रेलियन नागरिक क्रिस वाकरलगायतका विशिष्ट पाहुनाहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 



राजदूतावासको पहलमा अष्ट्रेलियाका ट्राभल एजेन्सीहरूले नेपाल भ्रमणको प्याकेजहरू पनि सार्वजनिक गरिसकेका छन् । त्यहाँको सबैभन्दा ठूलो ट्राभल एजेन्सी फ्लाइट क्यानबेराले प्याकेज सार्वजनिक गरेको हो । अष्ट्रेलियाबाट वार्षिक करिब ३३ हजार पर्यटक नेपाल भित्रिने गरेको तथ्यांक रहेको छ । यो संख्या दोब्बर बनाउने लक्ष्य रहेको छ । 

पर्यटनमन्त्री अष्ट्रेलिया रहँदा नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सञ्चालनका विषयमा पनि कुराकानी हुने प्रवक्ता तामाङले बताए । नेपाल र अष्ट्रेलियाबीच सन् २०१९ सेप्टेम्बरमा हवाई सेवा सम्झौता भए पनि अझै दुवैतर्फबाट उडान हुन सकेको छैन ।



  • प्रकाशित मिति : पुस २०, २०७६ आइतबार १६:५३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया