राष्ट्रिय सभा निर्वाचन : १८ सदस्यका लागि ४५ जनाकाे उम्मेदवारी

काठमाडौं– राष्ट्रिय सभा सदस्यको १८ पदका लागि आगामी माघ ९ गते हुने निर्वाचनमा ४५ जनाको उम्मेदवारी परेको छ । उक्त निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आइतबार भएको उम्मेदवारी मनोनयपत्र दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद गौतमले जानकारी दिए ।

बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो । आगामी फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नौ, नेपाली कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो । 

निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसंख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुनेछन् । निर्वाचन आयोगका अनुसार, प्रदेश नं १ मा महिला, दलित र अन्य समूहका एक÷एक पदका लागि तीन÷तीनको उम्मेदवारी परेको छ ।

प्रदेश नं २ मा महिला, दलित, अल्पसंख्यक र अन्य समूहका एक–एक पदका लागि दुई–दुई जनाले उम्मेवारी दर्ता गराएका छन् ।प्रदेश नं ३ मा महिला र अन्य समूहका एक–एक पदका लागि तीन–तीनको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ ।

गण्डकी प्रदेशमा महिला र अन्य समूहका एक–एक पदका लागि महिलातर्फ दुई र अन्य समूहतर्फ तीनजनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नं ५ मा महिला एक, अल्पसंख्यक एक र अन्य समूहका एक–एक पदका लागि क्रमशः दुई, तीन र चारजनाको उम्मेदवारी परेको छ ।

कर्णाली प्रदेशमा रिक्त हुने महिला एक र अन्य समूहको एक पदका लागि दुई–दुईजनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं ७ मा महिला र अन्य समूहका एक–एक पदका लागि दुई–दुईजनाको उम्मेदवारी परेको छ । ५९ सदस्यीय राष्ट्रिय सभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदै छ । 



पदावधि सकिनेमध्ये एक सदस्य मनोनीत गरिनेछन् । राष्ट्रिय सभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।



  • प्रकाशित मिति : पुस २०, २०७६ आइतबार १८:४३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया