गाैरीशंकरमा भेटियाे दुर्लभ हिउँचितुवा

गौरीशंकर संरक्षण क्षेत्रभित्र पर्ने रोल्वालिङ उपत्यकामा हिउँचितुवासहित आधा दर्जन दुर्लभ वन्यजन्तु पाइएको छ ।

संरक्षण क्षेत्रको स्वचालित क्यामेरा ट्रयापिङमा दुर्लभ हिउँचितुवासहित आधा दर्जन वन्यजन्तु कैद भएको हो । संरक्षण क्षेत्रका अनुसार च्छो–रोल्पा, दुधकुण्ड र येलुङ क्षेत्रमा ब्वाँसोसमेत फेला परेको छ । बेदिङ उपत्यका नजिकैको ना गाउँ क्षेत्रमा कस्तुरी मृग र बेदिङ गो टाकुरा आसपासमा रेडपाण्डा कैद भएको आयोजना प्रमुख सत्यनारायण शाहले जानकारी दिए । उनका अनुसार डाँफेलगायतका पक्षी पनि क्यामेरामा ट्रयापिङ भएका छन् ।

संरक्षण क्षेत्रले हिमाली क्षेत्रको जैविक विविधता अध्ययनका लागि सञ्चालन गरेको क्यामेरा ट्रापिङबाट हिउँचितुवा, आसामी रातो बाँदरसहित सात प्रकारका संरक्षित वन्यजन्तु रोल्वालिङ क्षेत्रमा रहेको देखिएको हो । संरक्षण क्षेत्रले रोल्वालिङ उपत्यकाका विभिन्न १२ स्थानमा बुसनेल ट्रोफी क्याम नामक इन्फ्रारेड क्यामरा राखेको थियो ।

संरक्षण क्षेत्रमा रातो फ्याउरो, झारल, घोरल, थार, मलसाप्रो, पितोदर मलसाप्रोलगायत १५ प्रजातिका स्तनधारी जनावर पनि भेटिएका छन् । त्यस्तै डाँफे, मुनाल, चिलिमे, हिउँ कुखुरा, हाडफोर गरी १२ प्रजातिका चरासमेत क्यामेरामा कैद भएका छन् । आयोजनाले तीन हजार सात सय ४२ मिटरदेखि पाँच हजार ९१ मिटरसम्मको उचाईमा गत जेठदेखि  कात्तिकसम्म स्वचालित क्यामेरा राखेको थियो ।

आयोजनाका संरक्षण अधिकृत बिष्णु पाण्डेले चार हजार पाँच सय ३६ मिटरमाथि हिउँचितुवाको तस्बिर तीनपटक कैद भएको बताए । सबैभन्दा धेरै २३ पटक रातो फ्याउरो ट्रापिङ भएको उनले बताए । क्यामेरामा मलसाप्रो, लेकाली मलसाप्रो, पितोदर मलसाप्रो र सानो बिरालोजस्तो देखिने जनावर पनि पटक–पटक ट्रापिङ भएको पाण्डेले बताए ।





  • प्रकाशित मिति : पुस २०, २०७६ आइतबार २२:४१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया