एजेन्सी– पछिल्लो समय आइसिसीले गरेको एउटा प्रस्तावले विश्व क्रिकेटमा व्यापक रूपमा तरंग पैदा गरिदिएको छ । त्यो प्रस्ताव हो, टेस्ट क्रिकेटलाई ४ दिनको बनाउने ।
गत डिसेम्बर ३०का दिन क्रिकेटको सर्वच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले टेस्ट क्रिकेटलाई ५ दिनबाट ४ दिनको बनाउने प्रस्ताव गरेको थियो । आइसिसी यो प्रस्तावलाई सन् २०२३–२०३१को फ्युचर टुर प्लानमा लागू गर्न चाहेको बताएको थियो ।
यो प्रस्तावप्रति विश्वका चर्चित खेलाडीले असन्तुष्टि प्रकट गरिरहेका छन् । भारतीय कप्तान विराट कोहली, अष्ट्रेलियन पूर्वखेलाडी रिंकी पोन्टिङ, भारतीय पूर्वखेलाडी सचिन तेन्दुल्कर, गौतम गाम्भिर, पाकिस्तानी पूर्वखेलाडी सोयब अख्तरजस्ता खेलाडीले यो प्रस्तावको विरोध गरेका छन् ।
पकिस्तानी पूर्वखेलाडी सोयब अख्तर
अख्तरले हिजो (आइतबार) आफ्नो युट्युब च्यानलमा भिडियो राख्दै भनेका छन्– यो प्रस्ताव निकै हास्यास्पद तथा वाहियात छ । मलाई लाग्छ, आइसिसीको यो प्रस्ताव एसियाली राष्ट्रलाई कमजोर बनाउने उद्देश्यले आएको हो ।
भारतीय कप्तान विराट कोहली
म आइसिसीको यो प्रस्तावको पूर्ण रूपमा विरोध गर्छु । क्रिकेटमा डे–नाइटको अवधारण आइसकेको छ । यसले टेस्ट क्रिकेटको लोकप्रियतालाई बढाउन मद्दत पनि गरेको छ । मलाई लाग्छ, यो बदलाव नै टेस्ट क्रिकेटका लागि पर्याप्त छ र अब टेस्ट क्रिकेटमा कुनै बदलावको आवश्यकता छैन ।
भारतीय पूर्वखेलाडी सचिन तेन्दुलकर
टेस्ट क्रिकेट एक दिन घटाउँदैमा यसको लोकप्रियता बढ्ने होइन, बरु यसले स्पिनरलाई घाटा पर्न सक्छ । अहिले क्रिकेटमा टी–२० एकदिवसीय, टी–१० जस्ता प्रारुप आइसकेका छन् । त्यसैले क्रिकेटको पुरानो प्रारुप टेस्टमा कुनै फेरबदल गर्न अवश्यक छैन ।
भारतीय पूर्वखेलाडी गौतम गाम्भिर
आइसिसीको यो निर्णय निकै हास्यास्पद छ, टेस्टमा १ दिन कम गर्नाले नतिजामा धेरै फेरबदल हुन सक्छ । यसले धेरै खेलहरु बराबरीमा सकिनेछन् । यदि टेस्ट क्रिकेटलाई दिनको बनाउने हो भने यसले सबैभन्दा घाटा स्पिनरलाई हुन्छ, किनकि स्पिनरले धेरै विकेट पाँचौँ दिनमा नै लिने गरेका छन् ।
अष्ट्रेलियन पूर्वखेलाडी रिकी पोन्टिङ
यदि टेस्ट क्रिकेटलाई ४ दिनको बनाउने हो भने धेरै खेल बराबरीमा सकिने सम्भावना हुन्छ । अहिले टेस्ट क्रिकेटमा कुनै परिवर्तनको आवश्यकता नै छैन । आइसिसीले पैसा बचाउनका लागि यो प्रस्ताव गरेको हुन सक्छ । म आइसिसीसँग यो परिवर्तन गर्न खोज्नुको कुनै अर्को उचित कारण जान्न चाहन्छु ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।