काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगमा साबिक विजेता मनाङ मस्र्याङ्दी र मछिन्द्र क्लबले बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार भएको निकै रोमाञ्चक खेलमा मनाङ र मछिन्द्र २–२को बराबरी खेलेका हुन् ।
खेलको दोस्रो मिनेटमा नै फेमी जोसुवाले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । उनले अञ्जन विष्टले उपलब्ध गराएको क्रस बललाई गोलमा परिणत गरेका थिए ।
खेलको ४६औँ मिनेटमा सोमिडी एडलाजाको पासलाई सदुपयोग गर्दै सुजल श्रेष्ठले मछिन्द्रका लागि बराबरी गोल फर्काएका थिए । त्यस्तै, खेलको ८१औँ मिनेटमा सोमिडी एडलाजाले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए ।
खेलको ८८औँ मिनेटमा जगदीश श्रेष्ठको कर्नर पासलाई सदुपयोग गर्दै विमल रानाले मनाङलाई खेलमा फर्काएका थिए ।
खेलमा सोमिडी एडलाजा उत्कृष्ट खेलाडी घोषित भए । धेरै राष्ट्रिय खेलाडीलाई लिएर मैदानमा उत्रिएको मछिन्द्रविरुद्ध युवा खेलाडीलाई मैदानमा उतारेको मनाङले उत्कृष्ट प्रदर्शन गरेको थियो ।
यो बराबरीसँगै मनाङ ५ खेलबाट ११ अंकको साथमा शीर्ष स्थानमा कायम छ भने मछिन्द्र पनि समान खेलबाट १० अंकको साथमा दोस्रो स्थानमा कायम छ । प्रतियोगितामा दुवै टोली अपराजित छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।