मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन, रारा आउने पर्यटक मर्कामा

मुगु– नेपाल टेलिकमका सबै सञ्जालले काम गर्न छाडेपछि मुगु जिल्ला चारदिनदेखि सञ्चारविहीन भएको छ । जुम्लाको डाँफे लेकमा अवस्थित टेलिकमको टावरको रेडियो लिंकमा हिमपातले समस्या ल्याएपछि सो टावरबाट मुगु जिल्लामा सञ्चालित जिएसएम, एसटिडी सञ्जालले काम गर्न छाडेका छन् । 

यसैगरी एडिएसएल इन्टरनेट सेवा पनि जिल्लाभर अवरुद्ध भएको छ । गत बिहीबारदेखि शुक्रबारसम्म सो लेकमा निरन्तर हिमपात परेको जनाइएको छ । इन्टरनेट सेवा अवरुद्ध भएपछि जिल्लाका सरकारी तथा गैरसरकारी संघसस्था, वित्तीय कारोवार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ । 

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मुगुकाे आन्तरिक इन्टरनेट सेवा भिस्याटबाट सञ्चालन गरिएपनि यसको गति सुस्त रहेको छ । इन्टरनेट सेवा नचलेपछि विभिन्न सेवा आयोगमा खुलेका विज्ञापनका लागि आवेदन फाराम भर्न र राजश्व दस्तुर जम्मा गर्न पनि समस्या भएको विद्यार्थी बताउँछन् । 

टाढा– टाढाबाट जिल्ला सदरमुकाममा आउने सेवाग्राही इन्टरनेट नहुँदा निरास भएर फर्कने गरेका छन् ।  प्रमुख पर्यटकीय क्षेत्र रारामा आउने पर्यटकसमेत मर्कामा परेका छन् । नागरिकले आफ्ना आफन्तजन र अन्य कारोवारका लागि सम्पर्क गर्न पाएका छैनन् । इन्टरनेट नहुँदा स्वयं नेपाल टेलिकमको मुगु कार्यालयलाई समेत बिल भुक्तानी, सिम बिक्रीलगायतका काम गर्न गाह्रो भएको टेलिकम मुगुले बताएको छ ।

योजना तथा कार्यक्रमको भुक्तानी दिन जिल्लामा रहेका चार स्थानीय तहलाई समस्या भएको छ । वित्तीय कारोबार गर्न सफ्टवेयर नचल्दा आफूहरुलाई काम गर्न समस्या भएको छायाँनाथ रारा नगरपालिकाले जानकारी दिएकाे छ ।

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक संस्था वर्ल्डलिंक, एनसेल र सुविसुले समेत जिल्लामा आफ्नो सेवा विस्तार गरेका छन् । यी संस्थाका सेवा नाम मात्रका रहेका छन् । यिनीहरुले वितरण गरेका इन्टरनेटको गति सुस्त छ । टेलिकमको थ्रिजी सेवा गाउँ–गाउँसम्म विस्तार भएकाले सर्वसाधारण पनि मोबाइलमा डाटा लिएर इन्टरनेटजन्य कारोवार र सेवा लिने गर्दै आएका छन् ।



डाँफेलेकमा बाक्लो हिउँ  जमेको र मौसममा सुधार नआएकाले टावरमा के–कस्तो समस्या हो बुझ्न जानसमेत प्राविधिकलाई समस्या परेको जनाइएको छ ।  नेटवर्क कहिले आउँछ यसै भन्न सकिने अवस्था नरहेको टेलिकम मुगु कार्यालयले जनाएको छ । 



  • प्रकाशित मिति : पुस २२, २०७६ मंगलबार १५:४७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया