हट्लान् कि रहलान् अर्थमन्त्रीमा खतिवडा ?

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभामा सिफारिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित अर्थमन्त्री डा. युवराज खतिवडालाई यसपटक राष्ट्रिय सभाको उम्मेदवार बनाइएन । उनलाई राष्ट्रिय सभाको उम्मेदवार नबनाइएपछि उनी अर्थमन्त्रीमा रहिरहलान् वा हट्लान् भन्ने विषयले बजारमा विभिन्न डिस्कोर्स सुरु भएका छन् । 

अधिकांशले अर्थमन्त्री डा. खतिवडा अब हट्दैछन् भन्ने हल्ला चलाएका छन् । यसले सेयर बजारमा ठूलो प्रभाव पनि पारेको छ । 

तर, अर्कोतिर उनी राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार नभए पनि पहिलेको प्रक्रियाबाट फेरि राष्ट्रिय सभामा आउने सम्भावना बाँकी नै छ । 

अर्थमन्त्री खतिवडाको राष्ट्रियसभामा फागुनमा कार्यकाल सकिँदै छ । उनको राष्ट्रिय सभामा कार्यकाल सकिए पनि ६ महिनासम्म उनले अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्न पाउने व्यवस्था छ । यसको अर्थ हो– आगामि बजेट पनि खतिवडाले नै प्रस्तुत गर्नेछन् । उनले नै बजेट ल्याउने भएपछि कम्तिमा पनि एक कार्यकाल उनलाई नै अर्थ मन्त्रालयको जिम्मेवारी दिने सोचमा प्रधानमन्त्री केपी शर्मा ओली रहेको नेकपाका एक नेताले बताए । 

अर्कोतिर, राष्ट्रिय सभामा नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । उनलाई नै अर्थमन्त्री डा. खतिवडाको कार्यकाल सकिएपछि अर्थ मन्त्रालयको जिम्मेवारी दिन सकिने चर्चा पनि नेकपाभित्र सुरु भएको छ । 

‘अर्थमन्त्रीबाट डा. खतिवडालाई बिदा गर्ने र श्रेष्ठलाई अर्थमन्त्रालयको जिम्मेवारी दिने सोच पनि देखिन्छ,’ प्रधानमन्त्री ओलीनिकट ती नेताले फरकधारसँग भने, ‘तर, यो सब पनि खतिवडाको कार्यकाल सकिएपछि मात्र हुने सम्भावना हुन्छ ।’ तर, नेकपाका एक थरि नेताहरुले ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचन पछि डा. खतिवडाको कार्यकाल सकिएलगत्तै श्रेष्ठलाई अर्थमन्त्रालयको जिम्मेवारी दिँदा पनि अचम्म नमान्नु पर्ने बताएका छन् । 



तर, नेकपाका महासचिव विष्णु पौडेल भने अर्थमन्त्री फेरिने कुरालाई अहिले हल्लाका रुपमा मात्र लिनु पर्ने बताउँछन् । ‘उहाँ यसअघि पनि राष्ट्रपतिबाट मनोनित हुनुभएको हो, अहिले उम्मेदवार नबनाउँदैमा केही भएन,’ उनले भने, ‘उहाँ फेरि पहिलेजस्तै सांसद हुन सक्नुहुन्छ र अर्थमन्त्रीमा पनि निरन्तर उहाँ नै हुनुहुन्छ ।’

त्यसो त अर्थमन्त्री खतिवडासँग प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली पनि सन्तुष्ट छन् । डा. खतिवडाले प्रधानमन्त्रीका विभिन्न योजना र चाहनालाई सम्बोधन गरिरहेको र प्रधानमन्त्रीसँग निकट सम्बन्ध बनाएर अगाडि बढिरहेको आशय प्रस्तुत गर्नेहरु पनि धेरै छन् । ‘अर्थतन्त्रको राम्रो ज्ञान भएकाले उनले प्रधानमन्त्री ओलीलाई सहयोग गरिरहेका छन्,’ नेकपाका एक नेताले भने, ‘त्यसैले अहिले प्रधानमन्त्री केपी शर्मा ओली उनलाई हटाउने पक्षमा पक्कै छैनन् ।’



  • प्रकाशित मिति : पुस २५, २०७६ शुक्रबार ११:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया