मेलम्ची खानेपानी आयोजना सुरुङको काम अन्तिम चरणमा

काठमाडौं– मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले काम अलपत्र छाडेर जाँदा यहाँ सुरुङमा भुइँ ढलानको काम २.५ किलोमिटर र भित्ता ढलान २.५ किलोमिटर बाँकी थियो । 

बाँकी काम अहिले कम्पनीले आवश्यक जनशक्ति परिचालन गरेर अघि बढाइएको मेलम्ची मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए । नियमितरूपमा काम गरिरहँदा आगामी दुई महिनामा सुरुङको काम सम्पन्न हुने उनको भनाइ छ । उनले भने, ‘यही गतिमा काम भइरहँदा दुई महिनाभन्दा बढी समय नलाग्ने देखिएको छ ।’

आयोजना निर्माणका क्रममा यसअघि धेरै अवरोध भए पनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिमा सम्पन्न हुने वरिष्ठ डिभिजनल इञ्जिनीयर पन्तले बताए । अहिले सो आयोजनाको समस्याका रूपमा सिएमसीले काम छाडेर गएपछि उसले सहायक ठेकेदारलाई दिनुपर्ने  बाँकी रकम भुक्तानी भएको छैन । अहिलेसम्म कामदारको भुक्तानी भइसकेको भए पनि सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न बाँकी छ । 

सरकारले बाँकी काम सकेसम्म चाँडो सम्पन्न गर्ने लक्ष्यले कम्पनीलाई चाँडो काम सम्पन्न गर्दा प्रतिदिन ०.१५ प्रतिशतले लाभांश दिने सम्झौतामा उल्लेख छ । वर्षा अघि नै नदीमा बाँध बाँध्ने काम सम्पन्न हुने बताइएको छ । मेलम्ची काठमाडौँमा झरेपछि पानी वितरणका लागि आवश्यक पूर्वाधारको निर्माण पनि अन्तिम चरणमा पुगेको छ । 





  • प्रकाशित मिति : पुस २८, २०७६ साेमबार १६:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया