स्ववियु निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई त्रिविकाे निर्देशन

काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ । विद्यार्थी कल्याण महाशाखा प्रमुख गंगाबहादुर थापाले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आंगिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको जानकारी दिए ।
     
त्रिवि कार्यकारी परिषद्को गत बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । ‘हामीले आंगिक क्याम्पसलाई स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन दिएका छौँ’, उनले भने, ‘सम्बन्धन प्राप्त क्याम्पसले पनि सूचना जारी गरेर तयारी गर्न निर्देशन दिन्छौँ ।’ क्याम्पसले नै निर्वाचनका लागि निर्वाचन कमिटी बनाउने गर्छ । 

उनका अनुसार त्रिविले माघको पहिलो हप्ताभित्र सवै विद्यार्थीसँग छलफल गरेर निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ । त्रिविका ६२ आंगिक र सम्बन्धन प्राप्त करिब एक हजार ५१ क्याम्पसमा स्ववियु निर्वाचन हुनेछ । विगत १० वर्षदेखि स्ववियु निर्वाचन हुन नसक्दा अधिकांश क्याम्पस स्ववियुविहीन छन् । प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ यता त्रिविका सबै क्याम्पसमा हुन सकेको छैन ।

विद्यार्थी संगठनबीच उमेर हदबन्दी र निर्वाचन प्रणालीबीच सहमति हुन नसक्दा धेरै क्याम्पसमा निर्वाचन हुन नसकेको हो । विसं २०७३ मा भएको स्ववियु निर्वाचन २ सय ५० मात्र क्याम्पसमा भएको थियो । निर्वाचनमा २८ वर्षे उमेर हदबन्दी, अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन र उपाध्यक्ष, सहसचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन गरी मिश्रित निर्वाचन प्रणालीमा हुनेछ ।
 





  • प्रकाशित मिति : पुस २९, २०७६ मंगलबार १५:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया