के ओलीकै कारण उपसभामुख शिवमायाले अडान कायम राखेकी हुन् ?

एजेन्सी– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा कसलाई बनाउने भन्ने निक्र्योल नगर्दा प्रतिनिधि सभाको बैठक लामो समयदेखि सूचना टाँसेर स्थगित गर्दै आइएको छ । 

पछिल्लो समय सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सम्झौता हुन सकेको छैन । केही दिन यता त यी दुई नेताबीच संवाद नै नभएको पनि समाचारहरु बाहिरिन थालेका छन् । 

प्रचण्डले यसअघि सभामुखमा कृष्णबहादुर महरा पूर्वमाओवादीबाट भएकाले पूर्वमाओवादी खेमाले नै सभामुख पाउनु पर्ने अडान राखेका छन् भने ओलीले अबको सभामुखमा आफूनिकट सुवास नेम्वाङलाई ल्याउन चाहिरहेका छन् । त्यसो त सुवास नेम्वाङले केही समयअघि नै आफूलाई दुवै अध्यक्षले सभामुखमा सिफारिस गरेको पनि बताएका थिए । 

अर्कोतिर, उपसभामुख शिवमाया तुम्बाहाम्फेले पार्टीले भन्दैमा राजीनामा नदिने बताएकी छिन् । उनलाई नेकपाको सचिवालय बैठकले नै राजीनामा दिन लगाउने बताएको थियो । तर, उनले आफ्नो अडान कायम राखेकी छिन्– सभामुखमा उम्मेदवार टुङ्गो नलगाएसम्म म राजीनामा दिन्नँ ।

शिवमायाको यो अडान र ओलीले यसबारे प्रष्ट रुपमा कुनै चासो नदेखाएकाले संसदको गतिरोध अन्त्य नभएको आरोप पूर्वमाओवादी नेताहरुले अब प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नै लगाउनल थालेका छन् ।

नेकपामा पूर्वएमाले र पूर्वमाओवादीले आआफ्ना अडानबाट बाहिर नआउने निष्कर्ष निकालेका छन् र उनीहरुले सभामुखलाई प्रतिष्ठाको विषय बनाएका छन् । नेकपाका एक केन्द्रीय सदस्यका अनुसार अब यसमा प्रचण्ड पनि सम्झौता गर्ने पक्षमा छैनन् । प्रचण्डले पूर्वमाओवादी नेता अग्नि सापकोटालाई सभामुख बनाउनु पर्ने बारम्बार अडान लिँदै आएका छन् । 



‘हामीले मात्र सबै कुरामा सम्झौता गर्नु पर्छ भन्ने पनि होइन,’ पूर्वमाओवादी नेता तथा नेकपाका केन्द्रीय ती सदस्यले भने, ‘अरु सबै विषयमा भागवण्डा हुने तर सभामुखमा पार्टी एक भयो भन्ने तर्कले काम गर्दैन ।’

ती नेताले त अहिले केपी शर्मा ओलीकै कारण उपसभामुख शिवमाया तुम्बाहाम्फेले पार्टीको निर्णय पनि नमानेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली प्रष्ट नबोलिँदिँदा यस्तो अवस्था आएको हो, उहाँले यसबारे खासमा निर्णय पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरेर बाहिर ल्याउनु पर्ने हुन्थ्यो तर ल्याउनु भएन ।’



‘खासमा सभामुख को बन्ने भन्ने विषयमा यति ठूलो विवादको आवश्यकता नै थिएन,’ माओवादी खेमाका ती नेताले भने, ‘तर, पार्टीमा प्रधानमन्त्री केपी शर्मा ओली सब आफ्नो नियन्त्रणमा होस् भन्ने चाहनुहुन्छ, त्यसले गर्दा यो ठूलो विवादका रुपमा निम्तिएको छ ।’

के प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण शिवमायाले यस्तो अडान लिएकी हुन् त ? 

राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराईसँग हामीले यो प्रश्न राख्यौँ । ‘प्रधानमन्त्रीज्यूलाई त्यस्तो गर्नु पर्ने आवश्यकता नै छैन,’ उनले भने, ‘उहाँले त आफूलाई लागेको कुरा प्रष्ट भनिरहनु भएको छ, पार्टीभित्र पनि उहाँले अध्यक्ष प्रचण्डसँग यसबारे कुरा गर्नु भएको छ । त्यसैले पनि सभामुख चयनको विषयमा उहाँले उपसभामुखलाई प्रयोग गर्नु पर्ने कुरै छैन ।’ उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेको प्रष्ट धारणा आइसक्दा अब यो आरोप मिथ्या सावित भइसकेको पनि बताए । 

उनी पनि सभामुख चयन प्रक्रिया निकै ढिलो हुँदा संसदमा अवरोध भएको र यसबारे पार्टीले छिटो निर्णय गर्नु पर्ने धारणामा छन् । 

  • प्रकाशित मिति : माघ १, २०७६ बुधबार ११:५६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया