आस्था राउतले देखाइरहेको आफ्नो ‘औकात’

काठमाडाैं— बुधबार दिउँसोबाट गायिका आस्था राउत सामाजिक सन्जालका लागि हट केक बनेकी छिन् । अब यो नौलो रहेन कि उनी यो विषयमा चर्चामा आउनुको कारण उनले नै सामाजिक सन्जाल फेसबुकमा सार्वजनिक गरेको एउटा भिडियो हो, जुन केही समयमा नै भाइरल भएको छ । 

उनको त्यो भिडियोअनुसार उनीमाथि विमानस्थलमा खटिएकी एक महिला प्रहरीले उनीमाथि दुव्र्यवहार गरेकी थिइन् । 

शुक्रबार दिउँसो विभिन्न सन्चारमाध्यमबाट विमानस्थलको सिसिटिभी फुटेज पनि बाहिरिएको छ । त्यसपछि फेरि आस्थाले आफ्नो फेसबुक पेजमा लाइभ गरेकी छिन् र आफ्ना कुराहरु राखेकी छिन् । 

योबीचमा अरु दुई काम भएका छन् । पहिलो, आस्थाले सबैभन्दा पहिले आफूले बनाएको भिडियो डिलिट गरेकी छिन् । तर, छोटो समयमा अत्यन्त धेरैले हेरेको यो भिडियो अरु प्रयोगकर्ताले आआफ्नो तरिकाले सेयर गरिसकेका छन् । दोस्रो, प्रहरीले आस्थाविरुद्ध अनुसन्धान सुरु गरिसकेको छ । 

प्रहरीले अनुसन्धान गर्ने मात्र होइन, आस्था स्वयंले सार्वजनिक गरेका दुई भिडियोलाई आधार बनाएर उनीमाथि कारवाही गर्नुपर्छ भन्नेहरु अब अलिक बढ्न थालेका छन् । यस्तो किन भने यसअघि पनि प्रहरीले विभिन्न मुद्दामा अनुसन्धान गर्ने र यत्तिकै त्यो विषय छोडिदिने गरिरहेको छ । फरक चाहिँ आस्थामाथि हुने कारवाही वा सजाय कुन ‘लेभल’को हुने भन्ने निर्धारण कानुनसंगत रुपमा हुनुपर्छ ।

सबैभन्दा ठूलो आश्चर्य त आस्थाले आफ्नो भिडियोमा जे बोलेकी छिन्, ती शब्दहरु पाच्य नै छैनन् ।



विमानस्थलको सिसिटिभी फुटेज र आस्थाले गरेका फेसबुक लाइभहरुबाट यो प्रकरणमा आस्थाले आफ्नो औकात देखाएको कुरा केही बुँदामा समेट्न सकिन्छ । औकात हामीले प्रयोग गरेको शब्द होइन, आस्था राउतले बारम्बार प्रयोग गरेको शब्द हो, आफनो फेसबुकमा ।  

 



सेलेब्रिटी हुँ भन्ने भ्रम

आस्था राउतको पहिलो फेसबुक भिडियोमा उनी एक गायिका भएकोमा गरिरहेको दम्भ प्रष्ट देख्न सकिन्छ । त्यो भिडियोमा उनले जे कुरा जसरी बोलेकी छिन्, सिंगो प्रहरी प्रशासन र प्रहरी जवानहरुलाई जसरी ‘डन्ठे’, ‘फुलिस’जस्ता शब्द प्रयोग गरेकी छिन्, यसबाट उनको औकात आफैंले देखाएकी छिन् । बारम्बार संस्कारको वकालत गरिरहेकी आस्थाको यो भिडियोमा बोलेका शब्द सुन्दा थाहा हुन्छ, उनले आफ्नो संस्कारको धज्जी उडाएकी छिन् । 

विमानस्थलजस्तो संवेदनशील ठाउँमा प्रहरीले चेकजाँच गर्नु सामान्य कुरा होइन, अत्यन्त महत्वपूर्ण कुरा हो । प्रहरी सुरक्षाप्रति संवेदनशील नहुने हो भने यसले नेपाली विमानस्थलको धज्जी विश्वभर उडाउँछ । आस्थाले दाबी गरेजस्तो सुनका सुन भित्रिने विमानस्थल भएकाले नै आस्थाको चेकजाँच नहुनु पर्ने पक्कै होइन । यो सामान्य कुरा थियो, आस्थाले लगाएको ज्याकेट खोलेर एक्सरे मेसिनमा हाल्न त्यहाँको सुरक्षामा खटिएकी प्रहरी अधिकारीले भनेकी रहिछिन् । आस्थाले शुक्रबार गरेको भिडियो लाइभमा सुन्न सकिन्छ, ती प्रहरीले पहिलो पटक आस्थालाई तपाईं नै भनेर सम्बोधन गरेकी रहिछिन् ।

‘दोस्रो पटक चाहिँ मलाई उसले तँ भनी,’ आस्थाले भिडियोमा भनेकी छिन् । 

अचम्मको कुरा त विमानस्थलमा चेकजाँच गर्न एकपटक अनुरोध गरिसकेपछि आस्थाले त्यसलाई किन आलटाल गर्न खोजिन् ? चेकजाँच गर्नुस् भन्दा आस्थाले किन मानिनन् ? किन ती प्रहरी कर्मचारीलाई दोस्रो पटक एउटै कुरा दोहोर्याउन लगाइन् ? 

भाइरल हुने चाह ? 

छिमेकी भारतको उदाहरण लिऔँ । भारतमा सेलेब्रेटी होस् या अरु कोही गम्भीर अपराध गर्नेहरुलाई कानुनले उही रुपमा लिन्छ । उदाहरणका लागि सन्जय दत्तलाई नै लिऔँ । अभिनेता सन्जय दत्तले आफू सेलेब्रिटी हो भन्ने भ्रममा रहेर उनीमाथि अनुसन्धान हुँदा, अदालतले सजाय सुनाउँदा कुनै रुष्ट जवाफहरु दिएनन्, त्यसलाई चुपचाप सकारे । 

अमेरिका जानका लागि विमानस्थलमा पुगेका साहरुख खानलाई त्यहाँका सुरक्षाकर्मीले, अमेरिकी इमिग्रेसनले फर्काइदियो । उनी खान भएकै कारण यस्तो गरिएको हो भन्ने चर्चा पछिसम्म चल्यो । तर, साहरुखले फेसबुक लाइभमा आएर न अमेरिकाविरुद्ध जथाभावी बोले, न आफू ठिक हुँ भन्ने तर्क गर्न अनेक शब्दहरुको प्रयोगलाई विशेष प्राथमिकता दिए । 

तर, विमानस्थलमा कालकार भएकै कारण वा गायिका भएकै कारण आफूमाथि चेकजाँच गर्नु हुँदैन भन्ने आस्थाको चाहनाले देखाएको छ । फेरि यो विमानस्थलमा चेकजाँचका क्रममा भएको कुरा थियो, आस्थाले यसलाई सम्बन्धित ठाउँमा राख्न सक्थिन् । तर, उनले सामान्य घटनामा फेसबुकमा लाइभ गर्ने निर्णय गरिन्, जथाभावी शब्दहरु बोलिन् र आफूलाई समर्थन गर्न समेत आफूलाई फलो गर्नेहरुलाई अनुरोध गरिन् । 

आखिर किन ? यसको एउटा कारण हुनुपर्छ, उनीभित्र आफूलाई भाइरल गराउन चाहेको चाह !

 

विमानस्थलमा देखिने आस्थाका गल्ती नै गल्ती

सार्वजनिक भएको सिसिटिभी फुटेज हेर्दा थाहा हुन्छ, आस्था जुन गेटबाट छिरेकी थिइन्, त्यही गेटबाट एकजना बालिका पनि छिरेकी छिन् । ल, एकछिनलाई कल्पना गरौँ, आस्था एउटा सामान्य नागरिक हुन्, उनी गायिका होइनन् । अब उनले त्यहाँ गरेको त्यो हर्कतबाट ती बालिकाले के सिकिन् होला ? अरु व्यक्तिहरुले के सिके होलान् ? विमानस्थलजस्तो संवेदनशील ठाउँमा आस्थाले देखाएको रवैयाजस्तै सबैले त्यस्तै गर्न थाले भने देशको मुख्य विमानस्थलको अवस्था के होला ? सुरक्षा संवेदनशीलता के होला ? 

यसबारे आस्था जिम्मेवार र गम्भीर गायिका थिइन् भने सोच्नु पथ्र्यो कि पर्थेन ? तर, उनी त उल्टै कफी कपलाई अनावश्यक ठाउँमा छोडेर अगाडि बढेकी छिन् । के आस्थाले सिकेको संस्कार वा सिकाउन खोजेको संस्कार यही हो कि उनले प्रयोग गरेको कफी कप अरु कसैले सफा गरिदिनु पर्ने हो ? 

सार्वजनिक भएका भिडियोहरुमा आस्थाले जसरी औकात शब्द प्रयोग गरेकी छिन्, त्यसले प्रष्ट्याएको छ, उनले आफ्नो औकात देखाइरहेकी छिन् ।

  • प्रकाशित मिति : माघ ३, २०७६ शुक्रबार १९:४७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया