सभामुखमा नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने
फाइल तस्वीर ।

काठमाडौं— सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली सभामुखमा सिन्धुपाल्चोकका सांसद अग्नि सापकोटालाई बनाउन सहमत भएका छन् । आज विहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको बैठकमा दाहाल र ओली सापाकोटालाई सभामुख बनाउन सहमत भएका हुन् । 

ओलीनिकट एक नेताका अनुसार प्रचण्डले पहिले देखि नै सभामुखमा सापकोटालाई समर्थन गरेका थिए र यही अडान उनले आज पनि राखेका थिए । सभामुख उम्मेदवारको टुङ्गो र औपचारिक जानकारी चाहिँ सचिवालय बैठकले गर्ने बताइएको छ । 

‘पहिले सभामुखमा महरा पनि पूर्वमाओवादीबाट भएकाले आफूहरुले नै सभामुखमा उम्मेदवारी पाउनु पर्ने अडान प्रचण्ड कमरेडको थियो,’ ती नेताले भने, ‘त्यही अनुरुप यसमा ओली कमरेडले लचकता अपनाउनु भएको हो ।’ उनले पार्टी एक भइसकेको र सभामुख चयनमा ढिलाइ हुँदा संसद अवरुद्ध भइरहेकाले पनि यसमा ओली र प्रचण्ड निष्कर्षमा पुगेका हुन् । 

नेकपाले सभामुख उम्मेदवार टुङ्गो लगाएसँगै उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन लगाउने जिम्मेवारी पनि प्रचण्डले नै लिएको ती नेताले फरकधारसँग बताए । ‘उहाँले यसअघि पनि उम्मेदवार टुङ्गो लगाएपछि राजीनामा दिन्छु भन्नु भएको थियो,’ उनले भने, ‘त्यसैले अब पार्टीले उम्मेदवार टुङ्गो लगाउँदा उहाँले यसलाई सहज बनाउन राजीनामा दिएर मार्गप्रशस्त गर्नुहुन्छ भन्ने विश्वास छ ।’

त्यसो त, अहिले पार्टीले अनुरोध गर्दा पनि राजीनामा नदिए शिवमायाको राजनीतिक करिअर समस्यामा पर्ने अनुमान पनि गर्न थालिएको छ । ‘यसअघि सभामुख हुँदा तारानाथ रानाभाटले जे गरेका थिए,’ ती नेताले कांग्रेस नेता रानाभाटको प्रसंग सम्झिए, ‘उनले एउटा बैठक बोलाउँदा उनको राजनीति समाप्त भएको थियो, शिवमायाबाट त्यस्तो गल्ती हुँदैन भन्नेमा धेरैको विश्वास छ ।’





  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार १३:३२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया