मुलुकलाई अन्तर्राष्ट्रिय तहमा चिनाउन लुम्बिनी क्षेत्रको अग्रणी भूमिका : मन्त्री भट्टराई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकलाई अन्तर्राष्ट्रिय तहमा चिनाउन लुम्बिनी क्षेत्रले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । लुम्बिनी विकास कोषले त्यस क्षेत्रको बृहत्तर विकासका लागि बनाउन लागेको गुरुयोजनाका विषयमा आयोजित छलफलमा उनले मायादेवी मन्दिर, रामग्राम र तिलौराकोटलगायत बौद्धस्थललाई एकापसमा जोडेर ‘बुद्धपथ’ बनाउनुपर्नेमा जोड दिए ।

विगतमा त्यस क्षेत्रको विकास जुन गतिमा हुनपर्ने थियो, त्यो हुन नसकेकाले नयाँ योजना बनाएर पूर्वाधार विकासका लागि लगानीलाई आकर्षित गर्न सकिने बताउँदै उनले प्रादेशिक र स्थानीय तहका सरकारले पनि त्यस क्षेत्रका ऐतिहासिक पक्ष, सांस्कृतिक सम्पदालाई संरक्षण गर्नुपर्ने उल्लेख गरे ।

कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले त्यस क्षेत्रको विकासका लागि अहिलेसम्म भइरहेका प्रयासको जानकारी गराउँदै पर्यटकलाई आकर्षित गराउन थप सुविधा उपलब्ध गराउन नयाँ योजनाको खाँचो औँल्याए । प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विँडारीले त्यहाँको महत्वलाई दीर्घकालसम्म जोगाइराख्न स्मार्ट सिटी बनाउन नहुने विचार व्यक्त गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले त्यस क्षेत्रमा बसोवास गर्ने विभिन्न धार्मिक समुदायका सांस्कृतिक गतिविधि तथा स्थानीय पहिचानलाई पनि कायम गर्नुपर्ने बताए । पर्यटनविद् कर्ण शाक्य, अम्बिका श्रेष्ठलगायतले नजिक रहेका विभिन्न उद्योगलाई सार्नुपर्ने बताउँदै वन वातावरण तथा वन्यजन्तुको समेत ख्याल गरी योजना ल्याउनुपर्नेमा जोड दिए ।





  • प्रकाशित मिति : माघ ५, २०७६ आइतबार १७:४५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया