काठमाडाैं– उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधिसभाको सोमबार बसेको बैठक सम्बोधन गरेकी छन् । दिउँसो साढे १ बजेदेखि सुरु भएको बैठकमा उनले लिखित मन्तब्य दिएकी हुन् ।
संसदमा सम्बोधनपछि अब उनले राजीनामा पत्र संसद सचिवालयमा बुझाउने छिन्। मन्तब्य दिँदै उनले आफू कसैको आग्रहमा प्रभावित नभएको बताउँदै कसैले पनि आफ्नो धरातल भुल्न नहुने जिकिर गरिन् । एक महिना भन्दा धेरै समयदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आइतवार सत्तारुढ नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार चयन भएसँगै पुन: चल्ने ढोका खोलेको थियो ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहारको मुद्दा खेपेपछि संसद सभामुखबिहीन थियो। आफैं सभामुख पदको लागि योग्य रहेको बताइरहेकी तुम्बाहाङ्फे अन्तत: उपसभामुख पद त्याग्न तयार भएकी हुन् ।
संविधानमा संसदमा सभामुख र उपसभामुख फरक–फरक पार्टीको र लिंग पनि फरक–फरक हुनुपर्ने व्यववस्था अनुसार तुम्बाहाङ्फेले पद छाड्न लागेकी हुन्।
नेकपाले सभामुखका लागि अग्नि सापकोटालाई अघि सारेपछि तुम्बाहाङफेले राजीनामा दिनुपर्ने बाध्यकारी स्थिति आएको थियो ।
पहिलो बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि अर्को बैठक आजै ४ बजे बस्नेछ ।
त्यस बैठकमा ज्येष्ठ सदस्य महन्थ ठाकुरले अध्यक्षता गर्नेछन् । दिउँसो ४ बजे बस्ने दोस्रो बैठकबाट सभामुख चयनको कार्यतालिका सार्वजनिक हुने संसद सचिवालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।