Sun, 29 Mar, 2020


[विचार] आत्महत्या के हो ? आत्महत्या गर्ने सोचबाट कसरी बच्ने ?
वासु आचार्य
फरकधार / माघ ९, २०७६
साङ्केतिक तस्वीर

सामान्यतया आत्महत्या भन्नाले आफूले आफूलाई मार्नु भन्ने बुझिन्छ । मानिसहरु कहिल्यै मर्न चाहँदैनन् तर कुनै बेला यस्तो परिस्थिति पनि सिर्जना हुन्छ जब मानिसले मर्नुको कुनै विकल्प देख्दैन, मर्नुलाई नै समाधान ठान्छ । अनि यही अवस्था आत्महत्याको प्रेरणा मानिन्छ । यो आफैंमा रोग चाहिँ होइन, तर मनोरोगको परिणाम चाहिँ हो । 



आत्महत्याका लागि धेरै पक्षहरुले प्रेरित गरिरहेका हुन्छन् । त्योमध्ये सबैभन्दा महत्वपूर्ण कारण भनेको डिप्रेसन हो । त्यसबाहेक लागुऔषध र मद्यपानले मानिसलाई आत्महत्या गर्न पनि प्रेरित गर्छ । सिजोफेनिया र बाइकोलार जस्ता जटिल मानसिक समस्याका कारण पनि मानिसले आत्महत्या गर्छ । 

जुन व्यक्ति व्यक्तित्व विकार र दीर्घकालिन रोगहरुबाट ग्रसित हुन्छ, त्यस्ता मानिसमा आत्महत्याको सोच विकास हुन्छ । अनि उनीहरुले आत्महत्या गर्ने सम्भावना पनि बढी हुन्छ । आपराधिक घटनामा संलग्नताले भने मानिसमा अचानक आत्महत्याको सोच आउँछ । 

फेरि डिप्रेसन पनि ३ प्रकारका हुन्छन् । सामान्य, मध्यम र मेजर डिप्रेसन । मेजर डिप्रेसन सबैभन्दा भयानक अवस्था हो । यो अवस्थामा रहेका मानिसहरुले आत्महत्या गर्ने सम्भावना झन्डै सतप्रतिशत नै हुन्छ । यस्ता व्यक्तिहरु पूर्णरुपमा आत्महत्या गर्न तयारी भएर बसेका हुन्छन् । 

मेजर डिप्रेसनले मानिसलाई समाजमा टिक्नै नसक्ने महशुस गराउँछ । यसले मानिसलाई आफ्नो नियन्त्रण भन्दा बाहिर धकेल्छ । त्यसपछि मानिसले बाँच्नुपर्छ भन्ने सोच्नै छोडिदिन्छ । दिमागमा म केही गर्न सक्दिनँ, यो दुनियाँमा मजस्तो असफल र अभागी मान्छे कोही छैन भन्ने कुरा मात्र आउँछ । स्वस्थ मानिसमा यस्तो कुरा एक, दुई पटक मात्र आउँछ । तर जो डिप्रेसनको शिकार भएको छ उसले २४ घण्टा त्यही कुरा मात्र सोचिरहेको हुन्छ । कोही व्यक्तिलाई त यस्तो हुन्छ की निदाउँदा सपनामा पनि म असफल र बेकारको मान्छे हुँ भन्ने कुरा मात्र आउँछ । 

यस्तो अवस्था मस्तिष्कमा हुने न्युरो केमिकलको थपघटका कारण हुन्छ । न्युरो केमिकलको गडबढीले मानिसलाई डिप्रेसन हुन सपोर्ट गर्छ । मानिसलाई दुखी बनाउन शरीरका बिभिन्न ग्रन्थीहरुले समेत सपोर्ट गरिरहेका हुन्छन् । त्यस्तै, एउटा मानिसमा डिप्रेसन हुनुमा वंशाणुगत गुणको पनि भूमिका हुन्छ । यी कारणले मानिसहरुमा डिप्रेसन हुन्छ । 

सामान्य मान्छेहरु मर्न डराउँछन् तर डिप्रेसन भएको मान्छे बाँच्न डराउँछ । उनीहरु पृथ्वीमा आफ्नो उपस्थिती नै चाहँदैनन् र आत्महत्या गर्छन् । आत्महत्या गर्न डराउने समस्या पनि हुन्छ । त्यसलाई एन्जाइटी भनिन्छ । डिप्रेसन भएका व्यक्तीलाई केही उत्साह, उमङ्ग, रस, जाँगर नै हुँदैन । उनीहरु आफूलाई एउटा कोठामा बन्द गरेर राख्न चाहन्छन् । उनीहरु आशा, भरोसा र सहयोगविहिन हुँदै जान्छन् । आफूलाई निरर्थक देख्नु र आफैंलाई माया नगर्नुले मानिसलाई कमजोर बनाउँदै लैजान्छ र व्यक्तिले आत्महत्या रोज्छ ।

वासु आचार्य

आत्महत्याको अर्को मानसिक कारण पर्सनालिटी डिसअर्डर हो । यस्तो समस्या भएका मान्छेले अरुलाई सधैं नराम्रो देख्छ । उनीहरु यो संसार खराब छ, यी मानिसहरु खराब छन्, यिनीहरुको लागि म बाँच्नु हुन्न भन्ने वितृष्णा पैदा हुन्छ । यस्तो भएपछि मानिस एउटै विकल्प देख्छ त्यो हो ‘मृत्यु’ । मस्तिष्कले पनि ऊर्जा घटाएर मृत्यु मात्र देख्ने बनाउँछ । 

एउटा स्वस्थ मान्छे त्यतिबेला डिप्रेसनमा जान थाल्छ जब उसले सानो समस्यालाई ठूलो र ठूलो उपलब्धिलाई सानो देख्न थाल्छ । सामान्य मानिसहरुलाई सानो उपलब्धिमा रमाउने खुशी हुने बानी परेको हुन्छ, यस्ता मानिसले समस्यालाई सहज रुपमा लिने गर्छन् । यसो गर्नाले पनि डिप्रेसनबाट बच्न सकिन्छ । 

एउटा स्वस्थ मानिसलाई कुनै घटनाले ५ प्रतिशत तनाव दिन्छ भने डिप्रेसनको बिरामीलाई ८० प्रतिशत तनाव दिने गर्छ । त्यस्तो किन हुन्छ भने बिरामीको कुनै घटनालाई हेर्ने दृष्टिकोण कुनै बेला पनि सकारात्मक हुदैन । उसको दिमाग यति नकारात्मक हुन थाल्छ कि जे कुरामा पनि उसले नकारात्मक भावना नै विकास गरिरहेको हुन्छ । मानौं, एउटा सामान्य मान्छेले अरु कसैलाई फोन गरेको छ र केही पटक फोन उठेन भने उसले उसको समय छैन होला भन्ने सोच्छ तर यही घटनाले डिप्रेसनमा भएको व्यक्तिले चाहिँ फोन नउठाउने मान्छेले आफूलाई हेपेको वा बेवास्ता गरेको भन्ने सोच्छ । अनि यस्तो नकारात्मक सोचाइले हाम्रो मस्तिष्कमा पनि क्षति पुर्याउँछ । 

दिमागमा सेरोट्रोनको मात्रा कम छ भने मानिसले चाहेर पनि सकारात्मक सोच्न सक्दैन । दिमागमा डोपामिन भन्ने तत्व बढी भएमा मानिसमा भ्रम पैदा हुन्छ । यसले अरुले आफूमाथि षडयन्त्र गरिरहेको महशुस गराउँछ । 

मानिसको सोच्ने तरिका परीस्थितीजन्य भएमा मर्ने कुरा दिमागमा आउँदैन तर सोच्ने र बुझ्ने तरिका बिरोधाभास प्रकारको छ भने मानिसलाई आत्महत्या गर्न मन लाग्छ । कुनै कुरालाई नकारात्मक कोणबाट दिमाग हाबी गराउँदा मानिस दुखी हुनेगर्छ, दुखी हुनुको चरम रुप डिप्रेसन हो र यसले मानिसलाई आत्महत्या गर्न प्रेरित गर्छ ।

अपवाद बाहेक सबै आत्महत्या योजना बनाएर गरिएको हुन्छ । त्यो योजना छोटो पनि हुनसक्छ । हाम्रो दिमागमा त्यस्ता तत्वहरु पनि सक्रिय हुन्छन् जसले आत्महत्याको योजना बनाउन प्रोत्साहन गर्छन् । यही कुरालाई आफूले जित्न नसकेमा आत्महत्या रोज्ने गर्छन् मानिसहरु ।

यस्तो कुरालाई व्यवस्थापन गर्न मानिस कुन परिवार वा कुन समाजमा हुर्किएको छ, उसले कस्तो शिक्षा र विज्ञता हासिल गरेको छ भन्ने कुराले भूमिका खेलेको हुन्छ । सहनशील, महान, गुण जस्ता कुराले एउटा मान्छेले कति सकारात्मक सोच राख्छ भन्ने निर्धारण गर्न सकिन्छ । अधबैँसे उमेरका महिलामा आत्महत्या गर्ने संभावना बढी हुन्छ । 

आत्महत्याबाट बच्न वा भाग्न नै भनौँ, मानसिक समस्या व्यवस्थापन गर्नुपर्छ । मानसिक समस्या ब्यवस्थापन गर्ने मुख्य दुई तरिका हुन्छन् । एउटा औषधि सेवन हो भने अर्को साइकोथेरापी । औषधि सेवनले मस्तिष्कमा थपघट भएको तत्वहरु समायोजन गर्छ । साइकोथेरापीले मानिसको सोच्ने नजर नै परिवर्तन गर्छ । 

पूर्ण रुपमा डिप्रेसनबाट बाहिर आउन साइकोथेरापि र औषधि सेवन दुवै गर्नुपर्छ । यसो गर्नाले एउटा मानिस डिप्रेसनबाट मुक्त हुनसक्छ । त्यो बाहेक आफैंमा परिवर्तन, परिवारको माया र समाजको साथले एउटा मानिसलाई मृत्युको बाटोबाट हटाउन सक्छ । यसरी देशको आत्महत्या दर घटाउन सकिन्छ ।

(आचार्य मनाेविश्लेषक हुन् ।)


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्