Wed, 26 Feb, 2020


के नेपाली युवा सचेत हुँदैछन् ?
फरकधार / माघ ९, २०७६

काठमाडौं– विश्वप्रसिद्ध गायक कर्ट कविनले भनेका छन्– युवाहरुको मुख्य जिम्मेवारी भ्रष्टाचारविरुद्ध लड्नु हो ।



अर्थात् राज्यमा भइरहेका गतिविधिमा युवाहरुले सुक्ष्म नजर राख्नुपर्छ र त्यसबारे सचेत हुँदै बहस सिर्जना गर्न सुरु गर्नुपर्छ । अनि आफ्ना धारणा राख्नेमात्र होइन, नेतृत्वलाई सचेत बनाउने जिम्मेवारी पनि युवाहरुको हो । 

तर, हाम्रोमा अवस्था त्यस्तो छैन । त्यसैले प्राध्यापक डा. केदारभक्त माथेमा पछिल्लो समय विभिन्न कार्यक्रममा युवाहरुमाथि प्रश्न उठाइरहेका छन्, विश्वविद्यालयमाथि प्रश्न उठाइरहेका छन् । केही दिनअघि फरकधारसँग कुरा गर्दै माथेमाले प्रश्न गरेका थिए– कहाँ हरायो नेपाली युवाको जोश ? 

हो, केही समययता नेपाली युवामा पनि सचेतनाको भाव देख्न सकिन्छ । सरकारले संसदमा ल्याएका विभिन्न विधेयकबारे बहस हुँदा युवाहरु आफ्ना धारणा राखिरहेको सुनिन्छन् । सामाजिक सन्जालमा होस् या काठमाडौंमा विभिन्न चोकमा उभिएर होस्, नेपाली युवाहरुले विरोधका स्वर बाहिर ल्याउन थालेका छन् । 

उदाहरणका रुपमा सरकारले ल्याएका चिकित्सा शिक्षा विधेयक, सूचना प्रविधि विधेयक, मिडिया काउन्सिललगायतलाई लिन सकिन्छ । पछिल्लो समय एमसिसीबारे पनि युवाहरुले आवाज उठाएको सुन्न सकिन्छ । 

मलाई राजनीतिमा चासो छैन, राजनीति फोहोरी खेल होजस्ता अभिव्यक्ति त्यसैले हुनुपर्छ, पछिल्लो समय कम सुनिन थालेको छ । बरु युवाहरु यस विषयमा कुराकानी गर्न अगाडि आउन थालेका छन् । 

युवा नेतृ मानुषी यमी भट्टराई पनि युवाहरु जागरुक भएको स्वीकार्छिन् । तर, उनी युवाहरुमा सामाजिक बुझाई र व्यवहारिकताको कमी भएको मान्छिन् ।

‘कुनै पनि विषयलाई लिएर युथहरुमा जुन रुपमा छलफल, टिकाटिप्पणी हुन्छ, त्यसलाई हेर्दा युवाहरुमा जागरुकता आएको हो कि भन्ने जस्तो देखिन्छ,’ उनी भन्छिन्, ‘तर व्यवहारिकता र एक्सनमा त्यो जुन रुपमा आउनु पर्ने हो, त्यसरी आएको देखिएको छैन । युवाहरुको यो जोश सामाजिक सन्जालमा मात्रै केन्द्रित वा सिमित भएको देखिन्छ ।’

विवेकशिल नेपाली दलका अध्यक्ष मिलन पाण्डे पनि मानुषीको कुरामा सहमत छन् । ‘युवाहरुले पहिलेभन्दा धेरै जानकारी राखेका छन्, यसमा कुनै सन्देह छैन,’ उनी भन्छन्, ‘तर, धेरै युवाहरु हचुवाको भरमा बोलिरहेका हुन्छन् । अहिले चर्चाको उत्कर्षमा रहेको एमसिसीको विषयलाई लिँदा पनि यो प्रष्ट हुन्छ कि यसबारे धेरै युवाले बुझेका छैनन् ।’

व्यवहारिकता र एक्सनको कुरा गर्ने हो भने युवाहरु अहिलेभन्दा पहिले नै सक्रिय रहेको निष्कर्ष निकालेकी छिन् मानुषीले । ‘नेपालमा द्वन्द भइरहेको सयममा होस् वा संविधान जारी भइरहेको सेरोफेरोमा वा त्यो भन्दा अगाडि भएका अभियानमा नै किन नहोस्,’ उनले भनिन्, ‘त्यति बेला युवाहरु सचेत मात्र थिएनन्, व्यवहारमा पनि लागु भएको हो, अहिले चाहिँ जागरुक छन्, चेतना बोकेका छन् तर व्यवहारमा त्यसलाई उतार्नेहरु छैनन् ।’

तर, सामाजिक सञ्जाललाई सही रुपमा प्रयोग र व्यवहारमा पनि लागु गर्न सके अहिलेका युथहरुका लागि यो सुलभ र प्रभावशाली माध्यम बन्ने सक्ने उनको बुझाई छ । ‘कुनै पनि विषयमा आफ्नो धारणा राख्न र आफूहरुले गर्न लागेको अभियानमा उपस्थितिका आह्वान गर्न सामाजिक सन्जाल सही माध्यम बनेको छ,’ उनले भनिन् । 

विश्लेषक दिनेश प्रसाईंको पनि मानुषी र मिलनको भन्दा फरक मत छैन । उनी पनि पछिल्लो समय युवाहरु जागरुक भएको मान्छन् । तर, नेपाली युवा अझै विषयको गहिराईमा नपुगेको उनको ठहर छ । 

‘हाम्रो शिक्षा प्रणाली र नीति पनि यसका कारक हुन्,’ उनले भने, ‘अहिले पनि नेपाली युवामा विषयको गहिराईमा बुझेर विश्लेषण गर्ने क्षमता छैन, त्यसलाई उनीहरु त्यसरी लिँदैनन् ।’

बरु भारतमा युवाहरुमा बढी जागरुकता देखिएको उनी बताउँछन् । ‘भारतका विश्वविद्यालयहरुमा युवाहरुले आवाज उठाउन थालेका छन्, परिपक्व निर्णय गर्न थालेका छन्,’ उनले भने, ‘अहिले त त्यहाँ मोदी सरकारालाई नै च्यालेन्ज गरिरहेका छन् ।’ तर, हामीकहाँ छलफल हुँदा पनि सतही छलफल बढी भएको उनको निष्कर्ष छ । 

‘हाम्रा अभियानकर्ता र युवाहरुमा यथेष्ट अनुसन्धान गरेर त्यसको गहिराइमा पुगेर विश्लेषण गर्ने बानी पनि छैन,’ उनले भने, ‘त्यसले गर्दा हाम्रो आवाज र अभियानको प्रभाव दीर्घकालीन हुन सकेको छैन ।’

उनी हामी आफूलाई पपुलिस्ट बनाउने अभियानमा मात्र भएको र त्यसका लागि मात्र छलफल गर्ने गरेको बताउँछन् । 

यसरी सतही र ज्ञानको अभावमा हुने विश्लेषणहरु प्रभावहिन मात्रै नभएर हानिकारक पनि हुन सक्ने मिलन पाण्डेको भनाई छ । उनले भने, ‘सतही रुपमा र हुचुवाको रुपमा विश्लेषण गर्ने त टे«ेन्ड नै बनिरहेको छ । जुन आफैमा अर्थहिन त हुँदै हो, सँगसँगै एउटा समाज र आउने पुस्ताका लागि हानीकारक पनि हो ।’ 

तर, वरिष्ठ अधिवक्ता तथा सामाजिक अभियन्ता ओमप्रकाश अर्यालको बुझाई भने अलिक फरक छ । उनी अहिलेको पुस्तामा आएको चतेना र जागरुकतालाई ‘प्याराडाइम सिफ्ट’ को संज्ञा दिन्छन् ।

‘अहिलेको पुस्तामा आफ्नो अधिकार खोज्ने कुरामा मात्रै सिमित भएका छैनन्, अधिकार हनन भएमा, सार्वजनिक हित विपरितका काम भएमा आफ्नो अधिकार सँगसँग कर्तव्य के रहेछ भनेर बुझ्न खोज्छन्,’ अर्याल भन्छन्, ‘कुनै एक पार्टी र नेताको अन्धोभक्त भएर उनीहरुका नराम्रा कामलाई राम्रो भन्दै चर्चा गर्दै हिँड्नु भनेको आफैँलाई अवसरबाट वञ्चित गराउनु हो भनेर बुझिसकेका छन् । पहिले जस्तो अन्धोभक्त भएर अहिलेको पुस्ताले कसैलाई पनि समर्थन गरिरहेको छैन ।’

त्यति मात्रै होइन अहिलेका युवामा आफ्ना कुरा अभिव्यक्त गर्ने शैलीमा पनि परिवर्तन आएको उनको बुझाई छ । ‘केही वर्षअघि सम्म राजनीतिक आन्दोलनमा पनि युवाहरु सडकमा आएर भौतिक क्षति गर्नमा रुचि राख्थे,’ उनले भने, ‘तर, अहिले यो फेरिएको छ, आन्दोलनको स्वरुप फेरिएको छ ।’


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्