सबै स्थानीय तहमा बैंक शाखा लक्ष्यनजिक

काठमाडौं–  सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारको योजना पूरा हुने क्रममा पुगेको छ । आमनागरिकमा सहज रूपमा वित्तीय सेवा पुर्याउने उद्देश्यले सरकारले सुरु गरेको अभियान लक्ष्यको नजिक पुगेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । स्थानीय तहमा नै बैंक तथा वित्तीय संस्थाको शाखा खुलेपछि लामो समय लगाएर सदरमुकाम धाउनुपर्ने अवस्थाको अन्त्यसमेत भएको छ । 

केन्द्रीय बैंकका अनुसार कुल ७ सय ५३ स्थानीय तहमध्ये अब १० स्थानीय तहमा मात्रै वाणिज्य बैंकका शाखा खुल्न बाँकी छ । बाँकी रहेका स्थानीय तहमा पनि वाणिज्य बैंक शाखा खोल्न तयार भए पनि सुरक्षा, सूचना प्रविधिको पहुँच तथा उपयुक्त घरको अभावमा जटिलता देखिएको छ । बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको विवरणअनुसार कूल ७ सय ५३ मध्ये ७ सय ४३ स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । 

बैंकका अनुसार प्रदेश नं १ का कुल १ सय ३७ स्थानीय तहमध्ये अब एक स्थानीय तहमा मात्रै वाणिज्य बैंकले शाखा खोल्न बाँकी रहेको छ । यस्तै प्रदेश नं २ का कुल १ सय ३६ स्थानीय तहमध्ये १ सय ३५ स्थानीय तहमा बैंक पुगेका छन् । यस्तै, संघीय राजधानीसमेत रहेको वाग्मती प्रदेशमा कुल १ सय १९ स्थानीय तहमध्ये १ सय १७ स्थानमा बैंकका शाखा पुगेका छन् । 

केन्द्रीय बैंकका अनुसार गण्डकी प्रदेशका कुल ८५ स्थानीय तहमध्ये ८४ मा बैंकका शाखा खुलेका छन् । प्रदेश नं ५ का सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा खुलेका छन् । वित्तीय रूपमा सो प्रदेशका सबै स्थानीय तहमा शाखा खुलेर पहुँच स्थापित भएको छ । कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये ७८ स्थानीय तहमा बैंकका शाखा खुलेका छन् । सुदूरपश्चिम प्रदेशका कुल ८८ स्थानीय तहमध्ये ८४ मा वाणिज्य बैंकका शाखा खुलेका छन् । 

स्थानीय तहमा बैंकको शाखा पुर्याउने सरकारको लक्ष्यलाई आत्मसात् गर्दै आफूहरुले पनि दुर्गम क्षेत्रमा शाखा खोलेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए । प्रभु बैंकले डोल्पाको से–फोक्सुण्डो गाउँपालिकाको साल्दाङमा समेत बैंकको शाखाको विस्तार गरेको छ ।

समुद्री सतहदेखि करिब चार हजार २ सय मिटरको उचाइमा रहेको साल्दाङस्थित से–फोक्सुण्डो शाखा कार्यालयबाट उच्च हिमाली क्षेत्रका सर्वसाधारणलाई बैंकले सेवा दिने लक्ष्य राखेको छ । 



यस्तै सनराइज बैंक, एनएमबी बैंकले पनि राष्ट्र बैंकले तोकेको स्थानमा आफ्ना शाखा खोली वित्तीय सेवा दिएका छन् । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले पनि राष्ट्र बैंकले दिएको निर्देशनअनुसार नै आफूहरुले स्थानीय तहमा शाखा विस्तार गरेको बताए ।

राष्ट्र बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या गत मंसिर मसान्तसम्म कुल १ सय ६५ रहेको छ । त्यसमा २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९१ लघुवित्त संस्था र एक पूर्वाधार विकास बैंक छन् । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या नौ हजार २ सय ९७ पुगेको छ । गत असार मसान्तमा त्यस्ता शाखा संख्या कुल आठ हजार ६ सय ८६ रहेको थियो । 



केन्द्रीय बैंकका अनुसार बैंक तथा वित्तीय संस्था गाभ्ने तथा गाभिने एवं प्राप्ति हुने प्रक्रिया सुरु भएपश्चात् गत मंसिर मसान्तसम्म कुल १ सय ८१ बैंक तथा वित्तीय संस्था आपसमा गाभिएका छन् । त्यसमध्ये १ सय ३८ संस्थाको इजाजतपत्रसमेत खारेज भएका छन् । 

अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने क्रम लक्ष्यको नजिक पुगेको बताएका थिए । उनले केही स्थानीय तहमा सूचना, प्रविधि पुग्न बाँकी रहेको र केहीमा सुरक्षाको प्रबन्धलगायतको काम पूरा हुनेबित्तिकै शाखा खुल्ने विश्वास व्यक्त गरेका थिए । वित्तीय समावेशिताका लागिसमेत अनिवार्य रूपमा बैंक तथा वित्तीय संस्थाका शाखा खुल्नुपर्ने र नागरिकमा वित्तीय पहुँच स्थापित हुुनुपर्नेछ । 

  • प्रकाशित मिति : माघ ९, २०७६ बिहीबार १६:११:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया