मेक्सिको– मेक्सिकोले ग्वाटेमालाबाट सीमा पार गरेर मेक्सिकोतर्फ प्रवेश गरेका २,००० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । उनीहरु मेक्सिको हुँदै संयुक्त राज्य अमेरिका प्रवेश गर्ने योजनामा रहेको बताइएको छ ।
पक्राउ परेकामध्ये अधिकांस एक हप्ता अगाडि होन्डुरस छाडेका ‘२०२० काराभान’मा आबद्ध व्यक्तिहरु हुन् । उनीहरुसहित अन्य ठाउँबाट देशभित्र प्रवेश गरेका धेरै व्यक्ति रहेको नेसनल इन्स्टिच्युट अफ माइग्रेसन (आइएनएम)का अधिकारीले जानकारी गराएका छन् ।
ग्वाटेमालाको टेकुन उमान हुँदै क्याराभानमा संलग्न सयौँ व्यक्तिले सोमबार बिहान सीमावर्ती सुसिएट नदी पार गर्ने प्रयास गरेका थिए । उनीहरुले मेक्सिकोका अधिकारीहरु समक्ष संयुक्त राज्य अमेरिका प्रवेशका लागि यात्रा अनुमतिको माग गरेका थिए ।
मध्य अमेरिकी राष्ट्रहरु एल साल्भाडोर, ग्वाटेमाला र होन्डुरसमा व्याप्त गरिबी र हिंसाका कारण भागेका हजारौँ व्यक्ति सुरक्षित भविष्यको खोजीमा मेक्सिको पार गर्दै संयुक्त राज्य अमेरिकातिर जाने प्रयासमा थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा कडाइ गर्न निरन्तर दबाब दिँदै सीमामा पर्खाल लगाउने चेतावनी दिएपछि मेक्सिकोले आप्रवासीका सम्बन्धमा कडा कदम चाल्न थालेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।