कोरोना भाइरसः के ६ दिनमा अस्पताल बनाउन सम्भव छ ?

एजेन्सी— निकै घातक र पछिल्लो समय विश्वमा त्रास फैलाइरहेको कोरोना भाइरससँग जुधिरहेको चीनको वुहान सहरमा ६ दिनमा नै एक अस्पताल बनाउने काम सुरु भएको छ । ६ दिनमा यो अस्पताल किन बनाउन लागिएको भने त्यहाँ कोरोना भाइरस संक्रमित बिरामीको उपचार गर्न सकियोस् ।

चीनमा अहिलेसम्म कम्तिमा पनि कोरोना भाइरसका ८ सय ३० बिरामी फेला परिसकेका छन् । ४१ जनाको त यो भाइरसका कारण मृत्यु पनि भइसकेको छ ।

१ करोड १० लाखभन्दा धेरै मानिस बस्ने वुहान सहरमा यो भाइरस फैलन थालिसकेको छ । 

अहिले त्यहाँका अस्पतालहरुमा निकै ठूलो भीड लाग्न थालेको छ, त्यहाँ औषधिको माग निकै बढेको छ । 

र, यही बीचमा त्यहाँ नयाँ अस्पताल बन्न लागेको हो । चिनियाँ सरकारी मिडियाका अनुसार यो नयाँ अस्पतालमा १ हजार बेड बन्दै छन् । अस्पतालका लागि २५ हजार वर्गमिटर क्षेत्रमा काम सुरु भइसकेको छ । 

तर, चीनमा यस्तो गर्न लागिएको यो पहिलो पटक होइन । यसअघि सन् २००३ मा बेइजिङमा सार्स भाइरससँग जुध्नका लागि आनन फाननमा एउटा ठूलो अस्पताल बनाइएको थियो ।



तर, यसबारे अब शंका के निस्किएका छन् भने के ६ दिनमा नै यति ठूलो अस्पताल बनाउन सकिएला त ? 

त्यसो त चीनमा यसअघि पनि विभिन्न रेकर्ड बनाइएका छन्, भवन निर्माणमा । सन् २००३ मा पनि सात दिनभित्र बेइजिङमा अस्पताल बनाइएको थियो । अब सायद त्यो रेकर्डलाई तोड्नका लागि यो काम गर्न लागिएको हो ।



यो सम्भव पनि किन भएको हो भने यसलाई प्रिफ्याब्रिकेटेड सामानबाट बनाइन्छ । 

यसका लागि चीनले देशका विभिन्न ठाउँबाट इन्जिनियरहरु बोलाइसकेको छ ।

शुक्रबार ग्लोबल टाइम्सले यो पुष्टि गरेको थियो कि त्यहाँ पिपुल्स लिबरेसन आर्मीका १५० भन्दा धेरै स्वास्थ्यकर्मी पुगिसकेका छन् ।

सन् २००३ मा सार्स भाइरस फैलिँदा त्यहाँ बेइजिङमा एउटा अस्पताल सात दिनमा बनाइएको थियो । यो नै एउटा अस्पताल सबैभन्दा छिटो बनेको रेकर्ड थियो । 

चाइनाडटकमका अनुसार त्यो अस्पताल बनाउन ४ हजार मानिसले दिनरात काम गरेका थिए ।

यो अस्पतालका प्रत्येक वार्डमा एउटा बाथरुम राखिएको थियो, अस्पतालमा एक्सरे, इमर्जेन्सी रुम सबै बनेका थिए । तर, यो अस्पताल त्यहाँ महामारी रोकिएपछि बन्द गरिएको थियो । 

  • प्रकाशित मिति : माघ ११, २०७६ शनिबार १९:३०:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया