पिबी सेली : महिलाका लागि प्रेरणादायी लेखक

जब पिबी  सेली १८ वर्षकी भइन्, उनले आफ्नो जीवन बदल्ने सपना देख्न थालिन् । त्यो सन् १८१५ को कुरा थियो । 

त्यतिवेला इन्डोनेसियाको ‘इन्डोनेसियन भोल्केनिक माउन्टेन टेम्बोरा’मा इतिहासकै सबैभन्दा ठूलो ज्वालामुखी विस्फोटन भएको थियो ।

छुट्टीको समयमा स्विट्जरल्यान्डस्थित जेनेभा तालमा सेली, लर्ड ब्रायन, फिजिसियन जोन पोलिडोरीलगायत भूतको कहानी पढ्दै मनोरञ्जन लिइरहेका थिए । त्यसबेला, ब्रायनले आफूले यस्तै भूतको कथा लेख्ने बताएका थिए । 

सेलीले पनि आफ्नो सपनामा आधारित रहेर एउटा उपन्यास ल्याउने निधो गरेकी थिइन् । त्यसको ठीक दुई वर्षपछि सन् १८१८ मा उनको उपन्यास ‘फ्रेन्केन्स्टिइन’ प्रकाशित भएको थियो ।

सेली महिलावादी अधिवक्ता तथा लेखक मेरी वुलस्टोनकेरेट र दार्शनिक विलियम गुडविनकी छोरी हुन् । एक महिनाको मात्र हुँदा आफ्नी आमा गुमाएकी सेली लन्डननजिकै  हुर्किएकी थिइन् । बाबुकी कान्छी श्रीमती सेलीलाई पढाउनुपर्छ भन्ने पक्षमा थिइनन् । जसकारण, सेलीले आफैँ पढिन् । आमाको चिहाननजिकै बसेर सेली पुस्तक पढ्ने गर्थिन् ।

१६ वर्ष हुँदा सेलीले त्यो वेलाका निकै चर्चित कवि पर्सी सेलीलाई भेटिन् र उनीसँग प्रेममा परिन् । उनीहरूले विवाह गरे पनि उनका बाबुले त्यसलाई स्विकारेनन् । जसकारण उनी भागेर युरोप पुगिन् । 



सानैदेखि जीवनमा निकै समस्या भोग्दै आएकी सेलीले आफ्ना दुई सन्तानको मृत्यु र आफ्नी बहिनीको आत्महत्याको दुःख पनि भोग्नुपर्यो । आफन्तलाई फेरि नजिक बनाउन उनी पतिको साथमा स्विट्जरल्यान्ड पुगिन्, जहाँ उनको उपन्यास ‘फ्रेन्केन्स्टिइन’का विभिन्न ‘प्लट’ तयार भएको थियो । उपन्यास सक्दा फेरि उनी गर्भवती भइन् ।

‘गोथिक’ उपन्यासमध्ये विश्व चर्चित उपन्यास ‘फ्रेन्केन्स्टिइन’की लेखक भर्खरकी युवती सेली हुन् भन्दा धेरैले पत्याएका थिएनन् । उनको पुस्तकलाई ‘साइन्स फिक्सन’को एउटा उत्कृष्ट नमुनाको रूपमा लिने गरिएको छ । 



पुरुषको पक्षबाट लेखिएको यो उपन्यासलाई त्यो वेला उनका पतिले लेखिदिएको भन्ने पनि आरोप लागेको थियो । तर, सेली र उनका पति दुवैजना लेखनमा एक–अर्कालाई सहयोग मात्र गर्थे । एक–अर्काको लेखनमा सम्पादन मात्र गर्थे । सेलीले आफैँले देखेका केही दस्ताबेज भेटिएपछि मात्र उपन्यास उनले नै लेखेको हो भन्ने पाठकले मानेका थिए । 

सो उपन्यासलाई सन् १९१० को दशकमा चलचित्रमा समावेश गरिएको थियो । थोमस एडिसनले उपन्यासमाथि चलचित्र बनाएका थिए । साथै, यसमाथि विभिन्न नाटक पनि भए ।

चर्चित दार्शनिककी छोरी र चर्चित कविकी छोरी भए पनि सेलीले आफ्नो परिचय आफैँ दिइन् । उनको कामलाई निकै सम्मानपूर्वक हेर्ने गरेको पाइन्छ । कुनै औपचारिक शिक्षा नहुँदा पनि एक महिलाले यस्तो उपन्यास लेख्न सक्नुले पछिल्ला पुस्ताका महिलालाई प्रेरित गरिरहेको छ ।
 
सेलीको मृत्यु सन् १८५१ मा ५३ वर्षको उमेरमा मस्तिष्क क्यान्सरबाट भयो । ‘फ्रेन्केन्स्टिइन’ उपन्यासका कारण उनलाई अहिलेसम्म सम्झिने गरिएको छ । साहित्यमा नौलो प्रयोग गर्ने र महिलालाई प्रेरणा दिने व्यक्तिका रूपमा अझै उनलाई धेरैले याद गर्ने गरेका छन् । 
 

  • प्रकाशित मिति : माघ १२, २०७६ आइतबार २०:१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया