Sat, 08 Aug, 2020


#farakक्षमता
ह्विलचेयरमा उडान भरिरहेकी यामी
फरकधार / माघ १३, २०७६

जीवनमा यामी झाँक्री मगरले जे भोगेकी छिन्, त्यो झट्ट सुन्दा पत्यार लाग्नै सक्दैन । 



आफ्नै जीवनमाथि यही अपत्यारिलो भनौँ वा अविश्वासिलो क्षण तय गरेर अहिले यामीले नयाँ जीवनको सुरुवात गरेकी छिन्, यसमा रमाउन थालेकी छिन् । 

कुरा ०६३ सालको हो । भदौको महिना । एसएलसी दिएर घरमै बसेकी थिइन्, यामी । प्युठानकै कलेजमा प्लस टु पढ्ने योजना बनिरहेको थियो । एक साँझ अचानक उनको ढाड दुख्यो । 

त्यसपछि फेरिन थाल्यो उनको दैनिकी, फेरियो उनको अवस्था र उनका सपना । 

केही दिनसम्म पनि ढाड दुख्न कम नभएपछि यामीले घरमा भनिन् । यामीको घरबाट अस्पताल अलिक पर थियो, त्यसैले सुरुमा उनीहरुले धामी झाँक्रीको सहयोग लिने भए, झारफुक गर्नमा उनीहरु लागे । 

तर, केही दिन झाँक्रीले झारफुक गर्दा पनि यामीको दुखाई बीसको उन्नाइस भएन । अनि बल्ल यामी र उनको परिवारलाई लाग्यो– ‘देउता लागेकाले’ यामीको ढाड दुखेको होइन, यसका लागि उपचार नै आवश्यक छ । 

त्यसपछि उनीहरु प्युठानकै अस्पतालमा पुगे । सामान्य चेकअपमा रोग पत्ता लागेन । यामीलाई झन् झन् गाह्रो हुँदै गयो । अस्पतालले केही ‘पेनकिलर’ त दिएको थियो तर त्यसले यामीलाई ठिक हुँदै भएन । एक्स रे गरियो, तै यामीको रोग पत्ता लागेन । 

अनि चिकित्सकहरुले नै यामी परिवारलाई सल्लाह दिए– हड्डीमा पानीको मात्रा कमी भएको हो जस्तो छ, सक्नुहुन्छ भने भारत लैजानुहोस् । 

भारत होइन, यामीका बाबुले काठमाडौं रोजे । प्युठानको अस्पतालले यामीलाई काठमाडौं शिक्षण अस्पतालमा रिफर गरिदियो । बाबु र दाइले यामीलाई लिएर काठमाडौं आए ।

काठमाडौं आएपछि उपचारका श्रृङ्खला सुरु भए, एमआरआई गरियो, सिटिस्क्यान गरियो । 

तर, यामीलाई भएको के हो भन्ने पत्ता लागेन । 

यामी र उनका दाजु तथा बाबु पहिलो पटक काठमाडौं आएका थिए । त्यसैले यहाँको बसाई पनि उनीहरुलाई कष्ठकर हुँदै गएको थियो । त्यसमाथि यामीको रोग पत्ता लाग्ने छाँटकाँट नै देखिएन । 

एमआरआईको क्रम रोकिएन । झन्डै दुई महिनापछि एमआरआई गर्दा यामीको स्पाइनल कर्डमा ट्युमर देखियो । उनको अपरेसन गर्नु पर्ने सुझाव अस्पतालका चिकित्सकहरुले दिए ।

त्यति बेला यामीका बाबुलाई चिकित्सकले भनेका थिए– अप्रेसन गर्नु पर्ने भयो, अप्रेसनपछि यामी पहिलेजस्तै हुन्छिन् । 

थोरै आश पलायो यामीमा । त्यसपछि अपरेसन भयो उनको । अपरेसन गर्दा यामीलाई एनेसथेसिया दिइएको थियो, त्यसबाट ब्यूझँदा पनि आश मारेकी थिइनन् यामीले । 

तर, उनको अस्पताल फेर्नु पर्ने भयो, जुन अस्पतालमा भर्ना भएकी थिइन् यामी, त्यहाँ उनको पूर्ण उपचार नहुने भयो । उनलाई रिफर गरियो– स्पाइनल कर्ड इन्जुरी पुनस्र्थापना केन्द्र जोरपाटीमा ।

त्यहाँ पुगेपछि यामीका बाबुले उनलाई भनेका थिए– चिन्ता नगर, तिमी ६ महिनामा हिँडडूल गर्न सक्छौ र घर जान सक्छौँ । खासमा यही कुरा त्यहाँका चिकित्सकले पनि बताएका थिए, यामीका बाबुलाई ।

तर, न यामीलाई बाबुले भनेको कुरा महसुस हुन थाल्यो, न यामीका बाबुलाई डाक्टरले भनेको कुरामा विश्वास बढ्दै गयो । अर्थात् यामीको समस्या जस्तो थियो, त्यस्तै रह्यो ।

यामीलाई राखेकै अस्पतालमा अर्का एक व्यक्तिले यामीका बाबुलाई भने– यस्तो रोग त झापाको बाहुनडाँगी भन्ने ठाउँमा उपचार हुन्छ, त्यहाँ लैजानुहोस् । 

एकातिर अस्पतालमा चिकित्सकले दिएका आश्वासन पूरा नहुँदा विक्षिप्त हुँदै थिए, यामीका बाबु । त्यति नै बेला यस्तो कुरा सुन्दा उनले जीवनमा बुटी भेटेको जस्तो महसुस गरे, सन्जिवनी बुटी । उनी चुपचाप यामीलाई लिएर झापा पुगे । 

झापामा यामीले दुई वर्ष बिताइन् । तर, यामीको स्वास्थ्यमा सुधार भएन । कम्मर तल उनको शरीर चल्न छाडिसकेको थियो । त्यहाँ दुई वर्ष बस्दा यामीले अनेक कुरा सोचिन्, मनमा निकै धेरै कुरा कल्पिइन् । 

त्यही मनमा गाँठो परेको पोयो फुकाउँदै यामीले केही दिनअघि बागबजारस्थित हार्दिक होटलमा भनिन्, ‘मलाई अब यसरी हुँदैन, जे भएको छ त्यो स्वीकार गर्नुपर्छ भन्ने लाग्यो ।’

यही कुरा उनले बाबुलाई भनिन्, प्युठानबाट आएकी आमालाई भनिन् । 

सुरुमा सुन्दा उनका बाबुआमाले पत्याउनै मानेनन्, आफ्नी कलकलाउँदी छोरी अब ह्विलचेयरमा सिमित छे भन्ने उनीहरुले विश्वास गर्न मानेनन् । तर, यो त आकांक्षा न थियो, आफ्ना सन्तान ठिक हुन्छन् भन्ने विश्वास मात्र थियो । यामीको शारीरिक अवस्था वा स्वास्थ्य सोचेजस्तो थिएन । 

‘मैले बारम्बार मलाई घर लैजानुहोस्, अब म यस्तो अवस्थामा पनि पढ्छु भनिरहेँ,’ यामीले भनिन्, ‘मैले निकै कर गरेपछि म प्युठान फर्किएँ ।’

तर, पहाडी जिल्ला प्युठान यामीको शारीरिक अवस्थाका लागि सहज भएन । उनले ह्विलचेयरमा पढ्न जाने कुरा त के घर नजिकैको पसलमा जान समेत सक्ने थिइनन् । त्यसैले उनले निर्णय गरिन्, फेरि काठमाडौं फर्किने ।

‘काठमाडौंमा बस्दा मैले मेरोजस्तै अवस्था भएकाहरु देखेकी थिएँ, उनीहरु खुसी नै पनि थिए र पढिरहेका पनि थिए,’ यामीले भनिन्, ‘अरुले सक्छन् भने मैले किन नसक्ने भन्ने प्रश्न मेरो मनमा जन्मन थाल्यो । त्यसपछि मैले घरमा काठमाडौं जान्छु भनेर जिद्दी गर्न थालेँ ।’ 

काठमाडौंमा सुरुका दिन यामीले सोचेका जस्ता सहज पक्कै थिएनन् । कलेजमा भर्ना गर्नु पर्ने समय घर्किसकेको थियो, यामीले जोरपाटीमा साथीसँग बस्न थालेकी थिइन् । तर, कलेज भर्ना हुन नपाएपछि उनले कीर्तिपुरमा जाने र सीपमुलक तालिम लिने सोच बनाइन् । ‘टिएसडिसिबिडीमा ६ महिना मैले कार्यालय व्यवस्थापन र कम्प्युटर कोर्ष गरेँ,’ यामीले सम्झिइन्, ‘त्यसपछि बल्ल कलेज भर्ना भएँ ।’

यामी एकैछिन रोकिइन् । अनि फेरि कलेज भर्ना हुन जाँदाका सुरुका दिन सम्झिइन् । उनले भनिन्, ‘कतिपय कलेजले त मलाई भर्ना लिन पनि मानेनन् । यस्तो हालतमा कसरी पढ्छौँ नानी भने ।’

जसोतसो कोठाबाट केही पर चामुण्डा उच्च माध्यमिक विद्यालयमा भर्ना भइन् यामी । त्यसपछि लागिन् आफ्नो सपना साकार पार्न । 

तर, उनको पहिलो सपनामा नै ठेस लाग्यो । कीर्तिपुरमा कम्प्युटर सिक्दा कम्प्युटरमा चासो बढेको थियो, यामीको । कलेजमा पनि कम्प्युटर पढ्न चाहन्थिन् उनी । तर, त्यहाँको कम्प्युटर कक्षा दोस्रो तलामा थियो । ‘दोस्रो तलामा जान नसक्ने भएकाले मैले कम्प्युटर पढ्न पाइनँ,’ यामीले नमीठो अनुभव सुनाइन्, ‘पछि साथीसँग छुट्टिएर एक्लै बस्न खोज्दा पनि कोठा पाएकी थिइनँ, घरबेटीहरु यस्तो अवस्थामा कोठा सफा पनि गर्न सक्दैनन् भनेर कोठा दिँदैनथे ।’

कोठाको बन्दोबस्त र कलेज भर्ना भएपछि यामीले अलिक सहज जीवन बिताउन थालिन्, शिक्षक र साथीहरुको सहयोग पाइन् । 

यहीबीचमा दिनभर कोठामा बस्नु पर्दा तनाव बढ्दै गएपछि यामीले केही गर्नुपर्छ भन्ने सोच्न थालिन्; जागिर खानुपर्छ भन्ने सोचिन्; थप सीपमूलक तालिम लिनेबारे सोचिन्; जीवन थप सार्थक बनाउनु पर्छ भन्ने सोच्न थालिन् । अहँ, उनले जे सोचे पनि कुनै विकल्प निस्किएन । 

बरु उनले पहिले नसोचेको कुरामा आफूलाई समावेश गर्न पाइन् । त्यो हो– ह्विलचेयर बास्केटबल ।

‘पहिले उपचार गर्न आउँदा पनि मलाई त्यहाँ बास्केटबल खेलिएको देख्दा अचम्म लाग्थ्यो,’ यामीले भनिन्, ‘दाइदिदीहरु ह्विलचेयरमा बसेर बास्केटबल खेल्नुहुन्थ्यो । मेरो मनमा विस्तारै यो कुरा गड्न थाल्यो ।’

त्यहीबीच उनलाई उनका ‘सिनियर’ले हौसला पनि दिए– तिमी पनि आउ, खेल्न सकिहाल्छौ नि ! त्यसपछि उनी चेसारमा आवद्ध भइन् । चेसा अर्थात् अपाङ्गता भएका केही व्यक्तिहरु मिलेर खोलेको क्लब । यामी यो क्लबको सदस्य मात्र भइनन्, खेलकुदमा पनि निकै रुचि दिन थालिन् । अनि विभिन्न प्रतियोगितामा भाग लिन थालिन् । 

‘म १२ कक्षामा हुँदा पहिलो पटक पोखरामा एउटा टुर्नामेन्टमा भाग लिन गएँ,’ यामी हाँसिन्, ‘हाम्रो टिम पहिलो भयो । यसले मलाई थप प्रोत्साहन दियो, थप प्रेरणा दियो ।’

यही टुर्नामेन्टपछि उनी नेपालको ह्विलचेयर महिला बास्केटबल टिममा पनि परिन् ।

त्यसपछि उनले नेपाली टिमबाट खेल्दै आएकी छिन् । सन् २०१६ मा भएको दक्षिण एशियाली महिला बास्केटबल प्रतियोगितामा नेपाल प्रथम भयो । त्यो टिममा यामी पनि थिइन् । यही जितले उनलाई तालिमका लागि विदेश जाने ढोका पनि खोल्यो । 

एकातिर खेलकुदमा यामी राम्रो गर्दै गइरहेकी थिइन् भने अर्कोतिर उनको अध्ययन पनि राम्रो हुँदै नै गइरहेको थियो । १२ कक्षा उर्तीण भइसकेपछि उनले पद्मकन्या कलेजमा भर्ना गरिन् । त्यहाँको होस्टलमा बस्न थालिन् । अध्ययन सँगसँगै खेलकुदलाई अगाडि बढाउन थालिन् । 

बास्केटबलमा मात्र होइन, यामीले ह्विलचेयर म्याराथुनमा पनि भाग लिन थालिन् । उनले बिआइए फाउन्डेसनले गरेका म्याराथुनका पछिल्ला तीन संस्करण (२०१७, २०१८, २०१९) मा लगातार उपाधि जितिन् पनि । अरु म्याराथुनमा पनि यामीले पदक जित्दै आएकी छिन् । 

२०७२ सालमा यामीले स्नातक सकिन् । त्यसपछि फेरि उनलाई चिन्ता हुन थाल्यो– अब के गर्ने ? 

‘अपाङ्गता महासंघका साथीहरुसँग सहयोग मागेँ,’ यामीले भनिन्, ‘अनि यहाँ काम पाएँ ।’ यहाँ अर्थात्, हार्दिक होटलमा । हार्दिक होटलमा यामीले एकाउन्टेन्ट कम रिसेप्सनिस्ट भएर काम गर्न थालेको अब त चार वर्ष भइसकेको छ । 

यो होटल अपाङ्गमैत्री छ । त्यसैले पनि यामीलाई सहज भएको छ । ‘त्यसमाथि यहाँ स्टाफ देखि यहाँ आउने ग्राहकहरु सबैले प्रोत्साहन नै गर्नुहुन्छ,’ यामीले भनिन्, ‘कहिलेकांही नमीठा घटनाको पनि साक्षात्कार गर्नुपर्छ तर यहाँका सकारात्मक कुराले सबैलाई ओझेलमा पारिदिन्छन् ।’

१३ वर्षअघि जीवनमा सोच्दै नसोचेको घटनाको साक्षी भएर जीवनको यो यात्रा तय गरेकी छिन् यामीले । त्यसो त केही वर्षअघि जब प्युठानकै एक युवाले यामीलाई प्रेम प्रस्ताव राखे, त्यो पनि उनले पत्याएकी थिइनन् ।

‘मजस्तो अपाङ्गता भएको मान्छेलाई एउटा सवलाङ्ग केटाले प्रस्ताव राख्दा सुरुमा त दोधारमा परेँ नि,’ यामी हाँसिन्, ‘त्यही भएर मैले उहाँलाई घरमा गएर माग्नु, मिल्यो भने विवाह गरौँला भनिदिएकी थिएँ ।’

यामीका श्रीमान् त्यति बेला वैदेशिक रोजगारीमा जाने तर्खरमा थिए, उनीहरुको अकास्मात् भेट भएको थियो जोरपाटीमा । यामीका श्रीमान् त्यसपछि विदेश गए, फर्किएर आए, यामीको घर पुगे, यामीका बाबुआमासँग उनको हात मागे । 

यी दुईको विवाह भयो ।  

र, अब जीवनमा सुखद सम्झनाहरु बढ्दै गएको अनुभव पनि गरेकी छिन् । ‘अब त मेरो जीवनले एक किसिमको लय समातिसकेको छ,’ यामीले भनिन्, ‘किनकि अब त मसँग मेरा भावना र कामलाई साथ दिन मेरा श्रीमान पनि त हुनुहुन्छ ।’

त्यसैले अब यामीले बनाएका सपनाहरु पनि विस्तारै परिपक्व हुँदै गएका छन् । यामी र उनका श्रीमानले काठमाडौंमा गरेको दुःखबाट बचेको पैसाले दाङमा जग्गा किनेका छन्, घर बनाएका छन् । अब विस्तारै घरतिरै जान पाए हुन्थ्यो भन्ने बेलाबेलामा यामीलाई लाग्छ । 

तर, यहीबीच उनलाई उनका श्रीमानले सुझाव दिएका छन्– सरकारी जागिर खाने । 

‘तिमी पढेकी छौ,’ यामीले श्रीमान्को भनाईलाई उद्धृत गरिन्, ‘सरकारी जागिर खान पाए पछि भविष्यमा अलिक सहज हुन्थ्यो कि ?’

यामीलाई पनि लाग्न त सरकारी जागिर खान मन लाग्छ । तर, उनले यसका लागि तयारी गर्न समय पाएकी छैनन् । 

‘अब नेपालमा खेलेर खान पुग्दैन,’ यामीले भनिन्, ‘त्यसैले भविष्यबारे सोच्नु पर्यो नि ।’


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्