एमसिसी सम्झौता जस्ताको त्यस्तै संसदबाट पास गरिनुहुँदैन : साझा पार्टी

काठमाडौं– पछिल्लो समय निकै चर्चामा रहेको एमसिसी परियोजनाउपर साझा पार्टीले दोस्रोपटक आफ्नो धारणा प्रस्तुत गरेको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै साझाले एमसिसी परियोजना अहिलेकै अवस्थामा अनुमोदन गर्न नहुने ठहर गरेको छ । 

साझाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ– नेपालको कानुनसँग बाझिने वा नेपालको कानुन अप्रभावी हुन सक्ने, द्विपक्षीय सहयोगको विषयमा तेस्रो मुलुकको सहमति लिनुपर्ने, आयोजनाको कार्यान्वयनमा नेपाल सरकारभन्दा अधिकांश अवस्थामा एमसिसीकै निर्णय हावी हुनेलगायत प्रस्तावित सम्झौतामा परेका कतिपय बुँदाहरू नेपालको हित र आत्मसम्मानको विपरीत देखिन्छ,’ साझा पार्टीले एमसिसी निकै नै संवेदनशील विषय भएकोले यसमा देखिएका समस्याहरुको निरुपण बिना यो सम्झौतालाई अनुमोदन गर्ने प्रक्रिया अघि बढाउनु उपयुक्त नभएको ठहर गरेको छ । 

‘वर्तमान सम्झौता जस्ताको त्यस्तै संसदबाट पास गरिनुहुँदैन भन्ने साझा पार्टीको अडान छ,’ विज्ञप्तिमा लेखिएको छ ।

नेपालमा एमसिसीलाई लिएर भइरहेको विवादले संयुक्त राज्य अमेरिकासँग लामो समयदेखि रहिआएको नेपालको सुमधुर सम्बन्धमा नै तिक्तता उत्पन्न हुन सक्नेतर्फ साझा पार्टीले सजग गराएको छ । यस्तो अवस्था सिर्जना हुनुमा नेपाल सरकार दोषी रहेको भन्दै सो पार्टीले त्यसको मूल कारण वैदेशिक सहयोगका विषयमा राजनीतिक तहमा रहेको अस्पष्टता र सरकारको कमजोर तयारी रहेको सो पार्टीले औँल्याएको छ ।

पार्टीका प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा एमसिसी परियोजनामा अहिले देखिइरहेको जटिलतालाई कूटनीतिक संवादका माध्यमबाट सुल्झाउन नेपाल सरकारलाई अनुरोध गर्दै प्रस्तावित सम्झौताको समीक्षा र आवश्यक संशोधनको सुझाबका लागि विषय विज्ञ र सरोकारवाला संलग्न एक कार्यदल गठन गर्न सुझाइएको छ । 





  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १७:१०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया