चिनियाँ राजदूतको ‘आक्रामक मार्केटिङ’

काठमाडौं– पछिल्लो समय नेपाली सन्चारमाध्यममा राजदूतहरुमध्ये सबैभन्दा बढी छाउन थालेकी छिन्, चिनियाँ राजदूत होउ यान्की । कहिले ट्विटरमा आफ्नो ह्यान्डलको मार्केटिङ गरेर त कहिले फोटोसुट गराएर चिनियाँ राजदूतले नेपाली मिडियाको ध्यान आफूमा पार्न सफल भइरहेकी छिन् । 

तर, यतिमा मात्र उनका गतिविधि सिमित भएका छैनन्् । पछिल्ला महिना उनले नेपाली राजनीतिक दलका नेताहरु तथा सरकारका मन्त्रीहरुलाई पनि अत्यन्त बढी भेटिरहेकी छिन् । र, ती भेटबारे उनले माइक्रोब्लगिङ साइट ट्विटरमा तत्काल अपलोड गर्ने गरेकी छिन् । 

यसको उदाहरणका रुपमा १९ जनवरीमा मनाइएको स्प्रिङ फेस्टिभलको कार्यक्रमलाई लिन सकिन्छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराई पनि सहभागी भएका थिए । कार्यक्रम त्यो साँझ राति पौने दश बजे सकिएको थियो । राजदूत यान्कीले कार्यक्रमबारे राति सवा ११ बजे ट्विट गरेर मन्त्री भट्टराईलाई धन्यवाद दिएकी छिन् । 

यो सामान्य कुरा हुनसक्छ, कार्यक्रममा सहभागी भएका व्यक्तिलाई धन्यवाद दिनु । तर, राति सकिएको कार्यक्रमबारे यान्कीले राति नै ट्विट गरेकी छिन् । र, उनको यो कामलाई पछिल्लो समय विश्वमा चर्चामा रहेको ट्विट डिप्लोमेसीसँग जोडिएको छ । 

त्यस्तै, ३१ डिसेम्बरमा राजदूत यान्कीले ट्विटरमा नै फोटोसुटका केही तस्वीर पोस्ट गर्दै लेखेकी थिइन्, ‘२०२० नेपाल भ्रमण वर्षको शुभकामना ।’ यो पोस्टमा पनि उनले पर्यटनमन्त्री योगेश भट्टराई मेन्सन गरेकी छिन् ।

उनको यो ट्विटलाई त नेपालमा मात्र होइन, चीनमा पनि विशेष प्राथमिकताका साथ हेरिएको थियो । केही चिनियाँ मिडियाले राजदूत यान्कीको यो कदमबारे लेखेका थिए– राजदूत यान्कीले पुरातनवादी सोचलाई तोड्दै छिन् ।



तर, यो पुरातनवादी सोच तोडिएको मात्र होइन, पछिल्लो समय नेपालमा भइरहेको चीनको प्रभावलाई अझ सुक्ष्म रुपमा नेपाली जनतासम्म लैजाने विचार सायद यान्कीले लिएकी छिन् । 

त्यसो यान्की सोमबार प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न सभामुखको कार्यकक्षमा पनि पुगिन् । सभामुख पदको गोपनियताको सपथ लिएर सापकोटा शितल निवासबाट फर्किएका मात्र के थिए, यान्कीले उनलाई उनको कार्यकक्षमा भेट गरिन् । सभामुखलाई भेट्न उनको हतारोलाई पनि नेपाली मिडियाले राम्रो स्पेस दिने नै भए ।



तर, के एउटा राजदूतले देखाएका यी क्रियाकलाप स्वभाविक नै हुन् त ? 

यसलाई अस्वाभाविक मान्न सकिने विभिन्न तर्क छन् । पहिलो त कुनै पनि देशका राजदूतले अर्को देशमा गर्ने क्रियाकलाप निकै संवेदनशील हुन्छन् । यान्कीले गरेको फोटोसुट वा यान्कीले ट्विटरमा फलोअर्स बढाउन गरेको टेक्निकलाई सहज रुपमा चाहिँ किन लिनु हुँदैन भने यसले नेपाली समाजलाई गलत प्रभाव पारिरहेको हुनसक्छ । 

फेरि पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले चिनियाँ कम्युनिस्ट पार्टीसँग आधिकारिक रुपमा सम्बन्ध गाँसेको छ । अनि नेपालमा बढेको भारतविरोधी भावनालाई ‘क्यास’ गर्न चिनियाँ राजदूतको अग्रसरता बढेको छ । यसरी एउटा देशको राजदूतले अर्को देशमा बढाइरहेका गतिविधि कति सह्या होलान् ? 

के चिनियाँ राजदूतजस्तै भारतीय राजदूत वा अमेरिकी राजदूत वा अरु कुनै राजदूतले यस्तै गरेको भए यसलाई सह्य मानिने थियो ? 

  • प्रकाशित मिति : माघ १३, २०७६ साेमबार १७:४८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया