काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रस्साकस्सीबीच सभामुख निर्वाचित भएको भन्दै नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटालाई बधाई दिएका छन् ।
मंगलबार संसदमा सम्बोधन गर्दै देउवाले सभामुखको भूमिका निष्पक्ष र तटस्थ हुनु पर्ने कुरा बारम्बार दोहोर्याएका थिए ।
‘केही विधेयकहरु प्रतिकुल विधेयक छन्,’ देउवाले भने, ‘मानवअधिकारविना लोकतन्त्र, प्रजातन्त्र सफल हुँदैन । प्रेसमाथि नियन्त्रण हुनु हुँदैन । प्रेस स्वतन्त्रता अत्यन्त आवश्यक हो । नागरिक अधिकारका सुरक्षा जस्ता विषयमा आएका विधेयक आउन थालेका छन् । यस्ता विधेयक पास गर्न हुँदैन ।’
‘प्रधानमन्त्रीको कुरा सुन्दा मलाई खुसी लाग्यो,’ देउवाले भने, ‘विपक्षीलाई पनि विश्वासमा लिएर अगाडि बढ्नु पर्छ । केही कुराहरुमा गम्भीर भएर अगाडि बढ्नु पर्छ । यसका लागि सभामुखको भूमिका हुन्छ, यसका लागि सत्तापक्षलाई पनि सभामुखले आदेश दिनु पर्ने हुन्छ ।’
उनले आफ्नो पार्टीले सही कुराहरुका लागि सधैं सहयोग गर्ने पनि बताए ।
सम्बोधनमा देउवाले कोरोना भाइरसको जोखिमका लागि छिटो काम गर्नु पर्ने पनि बताए । उनले चीनमा नेपालको सिधा उडान भएकाले सरकारले यसबारे पनि ध्यान दिनु पर्ने बताए ।
देउवाले एमसिसीबारे पनि तत्काल काम गर्नु पर्ने बताए । उनले एमसिसी नेपालको हितमा रहेको बताए ।
उनले उखु किसानले नपाएकाे पैसाबारे पनि ध्यान दिनु पर्ने सरकारकाे काम भएकाे बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।