नेकपामा कसले चलाइरहेको छ गुट, को भइरहेछ अराजक ?
नेकपामा बुधबारबाट सुरु भएकाे केन्द्रीय बैठक ।

काठमाडौं– बुधबारबाट सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेलले पार्टीभित्र पूर्वसमूहको मानसिकता र गुटउपगुट चुनौति रहेको बताए । उनले पार्टीको आन्तरिक जीवन विधिसम्मत, संस्थागत नबनाएसम्म पार्टीलाई चुनौति रहिरहने बताए ।

प्रतिवेदन प्रस्तुत गर्दै पार्टीभित्र घोषित रुपमा नै गुटबन्दी बढ्दै गएको र अराजकता बढ्दै गएको उनले निष्कर्ष निकालेका छन् ।  

महासचिव पौडेलले भनेजस्तो नेकपामा गुटउपगुटको प्रसंग बारम्बार उठिरहेको छ । प्रत्येक पटक नेताहरु बैठकमा होस् या सामान्य कार्यकर्तासँग भेटघाट हुँदा पनि आफ्ना गुट र उपगुटका कुरा निकालिरहेका हुन्छन् । 

खासमा नेकपामा कसले चलाइरहेको छ त गुट ? 

यो प्रश्न सोध्दा नेकपाका केन्द्रीय सदस्यहरु शीर्ष नेता सबैले गुट चलाइरहेको स्वीकार गर्छन् । नेकपाका सांसद विरोध खतिवडाले फरकधारसँगको टेलिफोन सम्पर्कमा भने, ‘पार्टीमा कसको छैन र गुट ? सबैको छ, पार्टीका सबैले आफ्नो गुट विकास गर्न खोजिरहेका छन् ।’

नेकपाका अर्का एक सांसदले नाम नलेखिदिनुस् भन्दै भर्खर सकिएको सभामुख चयनको विषय निकाले । ‘हाम्रो पार्टी एक भयो भनिसके पछि पनि सभामुख चयन गर्दा जसरी धेरै समय लगाइयो, अध्यक्षद्वय प्रचण्ड र ओलीले जसरी आफ्ना मान्छेलाई मात्र सभामुख बनाउन रस्साकस्सी गर्नु भयो,’ उनले भने, ‘यसले नेकपामा शीर्ष नेताले नै गुट चलाएको प्रमाणित हुँदैन र ?’



त्यसो त, नेकपाका नेता माधवकुमार नेपालले पनि बारम्बार सचिवालय बैठकहरुमा समेत पार्टीमा गुट झाँगिदै गएको बताउँदै आएका छन् । अर्कोतिर, कुनै राजनीतिक नियुक्ती तथा निर्वाचनको समयमा उम्मेदवार चयन गर्दा पनि शीर्ष नेताहरुले आआफ्ना गुटका नेताहरुलाई टिकट दिँदै आएका छन् । 

‘यो पुरानै रोग हो,’ नेकपामा केन्द्रीय सदस्य समेत रहेका ती सांसदले भने, ‘यहाँ आफूलाई सहज होस् भन्नका लागि सबैले आआफ्नो गुट चलाएका छन् । यसबाट कोही पनि अछुतो छैन । संसदमा कोही नेता बोल्यो भने त त्यसको गुट के हो भनेर लेखाजोखा गर्न खोजिन्छ, अरुको कुरा किन गर्ने ?’



त्यसो त विरोध खतिवडा पनि यो कुरामा सहमत छन् । ‘पार्टीमा गुटलाई प्रश्रय सबैले दिइरहेका छन्, तर जो गुटबन्दीमा लागेको छ, उसैले अर्कोले चाहिँ गुटबन्दी गर्न हुँदैन भन्दै हिँडिरहेको छ,’ खतिवडाले भने, ‘आफूले गुटबन्दी गर्नेले नै गुटबन्दी गर्नु हुँदैन भनिरहेका छन् । यहाँ सबैको गुट छ ।’

यही गुटबन्दीका कारण अराजकता पनि बढिरहेको मान्छिन्, नेकपाकी राष्ट्रियसभा सदस्य कोमल वली । ‘मलाई संरक्षण गर्ने नेता छ, मैले जे गरे पनि हुन्छ भन्ने भावना कार्यकर्तामा बढेको देखिन्छ,’ वलीले फरकधारसँग कुरा गर्दै भनिन्, ‘यसले समाजमा अराजकता बढाएको हो, अब नेताले पनि राम्रो कामलाई मात्र समर्थन गर्ने कुरालाई अगाडि बढाउनु पर्छ ।’

खतिवडा चाहिँ गुटबन्दी होस् कि अराजकता नियन्त्रण गर्न अरुलाई औंला देखाएर मात्र नहुने आफूबाट नै सुधार गर्नु पर्ने मान्यता राख्छन् । ‘गुटबन्दी रोक्न नेताहरुले मबाट सुरु गर्नुपर्छ,’ उनले भने, ‘आफैंबाट सुरु गरेर परिवर्तन गरिनु पर्छ ।’

केन्द्रीय कमिटी बैठकमा महासचिवको प्रतिवेदनमा गुटबारे उल्लेख हुनुलाई चाहिँ आशंकाका रुपमा मात्र आएको भन्ने मान्छन्, नेकपाका केन्द्रीय सदस्य टोपबहादुर रायमाझी । ‘उहाँले आशंका व्यक्त गर्नु भएको हो,’ रायमाझीले भने, ‘तर, आशंका हो भन्दैमा गुट नभएको पनि होइन ।’

उनले यसलाई शंकामात्र मान्न पनि नसकिने र गुट भएको प्रमाण पनि यथेष्ठ प्रमाण पनि भेटिने बताए । 

आधा दर्जन नेकपाका नेताहरुसँगको कुराकानीबाट प्रष्ट हुन्छ, नेकपामा गुटबन्दी मौलाइरहेको छ । दुई वर्षअघि माओवादी र एमाले एकीकरणपछि गुटबन्दी झन् मौलाउँदै गएको विचार राख्ने नेताहरु नेकपामा निकै छन् । 

‘खासमा आफूले गुटबन्दी गरिरहेकाले पनि अर्कोले बढी गुटबन्दी गरिरहेको छ भन्ने देखिरहेको हुन्छ,’ एक नेताले भनेका छन्, ‘सबैभन्दा धेरै गुटलाई साहरा र प्रश्रय त नेकपाका शीर्ष नेताले नै दिइरहेका छन् । त्यही शीर्ष नेताको स्वभावका कुरा विस्तारै जिल्लाजिल्लासम्म पुगेको छ ।’

  • प्रकाशित मिति : माघ १६, २०७६ बिहीबार ११:४९:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया