काठमाडौं— २ माघमा भक्तपुर प्रहरीले झापास्थित बिएन्डसी अस्पतालका सन्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न माग गर्दै दिएको निवेदनलाई भक्तपुर जिल्ला प्रशासन कार्यालयले स्वीकृति दियो, उनीविरुद्ध वारेन्ट जारी भयो । तर, १८ दिन बितिसक्दा पनि प्रहरीले उनी कहाँ छन् भन्ने फेला पार्न सकेको छैन ।
प्रसाईं तिनै व्यक्ति हुन् जसले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘लन्च मिट’ गराएका थिए र मार्सी चामलको भात खुवाएका थिए । पछि यही विषयमा व्यापक चर्चासमेत भयो । कतिसम्म भने उनलाई सामाजिक सन्जाल प्रयोगकर्ताहरुले मार्सी म्यानको उपमासमेत दिन थाले ।
नेपाल कम्युनिस्ट पार्टीका नेताहरुसँग नजिक रहेका प्रसाईंलाई पक्राउ वारेन्ट जारी भएको यतिका दिनसम्म पनि प्रहरीले फेला पारेको छैन । उनीविरुद्ध अभद्र व्यवहारअन्तर्गत पक्राउ पुर्जी जारी भएको हो ।
उनीविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले २ माघमा आफूमाथि अभद्र व्यवहार गरेको, कार्यालयमा आएर हुलहुज्जत गरेको भन्दै निवेदन दर्ता गरेका थिए । यही निवेदनका आधारमा प्रहरीले उनलाई पक्राउ गर्न खोजेको हो ।
भक्तपुर महानगरीय प्रहरीका प्रवक्ताले उनको खोजी जारी भएको बताएका छन् । फरकधारसँग कुरा गर्दै उनले भने, ‘उहाँको फोन लाग्दैन, हामीले ७७ जिल्लाकै प्रहरीलाई यसबारे सूचना पठाइसकेका छौँ । तर, उहाँको अत्तोपत्तो अहिलेसम्म छैन ।’
प्रसाईं नेपाल छाडेर भागेको हुनसक्ने अनुमान पनि गरिएको छ । उनको मोबाइल नलाग्ने र प्रहरीले खोज्दा पनि नभेटाएकाले प्रहरीले नै उनी नेपाल छोडेर भागिसके कि भन्ने अनुमान गरेको हो ।
‘हुनसक्छ,’ प्रहरी प्रवक्ताले भने, ‘उहाँ नेपाल छाडेर भागिसक्नु भएको पनि हुनसक्छ । तर, सधैं भागेर सम्भव हुँदैन । उहाँलाई हामी फेला पार्ने वित्तिकै पक्राउ गर्छौँ ।’
अर्कोतिर नेताहरुसँग राम्रो ‘उठबस’ रहेकाले प्रसाईंलाई प्रहरीले पक्राउ नगरेको हुनसक्ने पनि अनुमान गरिएका छन् । ‘उहाँविरुद्ध जसले उजुरी दिनु भएको छ,’ नेपाल कम्युनिस्ट पार्टीका एक नेताले भने, ‘उहाँलाई सम्झाएर उजुरी फिर्ता लिन लगाउने तयारी भएको छ भन्ने गाइँगुइँ सुनिएको हो, यसबारे अरु थप बहस त हुने भएन ।’
नेताहरुसँग अत्यन्त नजिक रहेकाले पनि प्रसाईंलाई प्रहरीले पक्राउ नगर्ने भन्ने चाहिँ हुँदैन । तर, प्रसाईंविरुद्ध उजुरी दिएका गिरीले निवेदन फिर्ता लिएमा उनलाई प्रहरीले पक्राउ नगर्न पनि सक्छ ।
यो पक्राउ पुर्जी जारी हुनुअघि प्रसाईंले एक पत्रकार सम्मेलन गरेका थिए । उनले डा. गिरीले आफ्नो मेडिकल कलेज सन्चालनका लागि सम्बन्धन दिँदा २० करोड घुस मागेको आरोप लगाएका थिए । डा. गिरीले यसलाई खण्डन गरेका छन् । उनले प्रसाईंसँग भेट नै नभएको बताउँदै आएका छन् ।
तर, प्रसाईंले डा. गिरीले द्वारिकाज होटलमा भएको भेटमा २० करोड माग गरेको दाबी गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।