विश्वकपको पहिलो खुड्किलोमा ओमानसँग किन पराजित भयो नेपाल ?

काठमाडौं– बुधबार त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाल र ओमानको खेल नेपाली प्रशंसक र क्रिकेट प्रेमीको अपेक्षित भएन । नेपालले टस जितेर ओमानलाई ब्याटिङका लागि निम्तो दियो । तर, टस जितेको नेपालले न खेल जित्यो, न नेपाली दर्शकको मन नै । यसअघि विभिन्न खेलमा नेपालमा पराजित हुँदा नेपाली क्रिकेटका फ्यानले चित्त बुझाउने बाटो बनाउँथे– नेपालले खेल नजिते पनि मन जित्यो । 

तर, यसपटक यस्तो रहेन । 

हुन त पहिलो पारीमा ओमानलाई सस्तोमा नै समेट्दा नेपाली क्रिकेट फ्यान हौसिएका थिए । २०० भन्दा कम लक्ष्य पाएको नेपालले यो एक दिवसीयमा सहजै जित हासिल गर्छ भन्ने धेरैको अनुमान थियो । 

त्यो अनुमानमा सबैभन्दा पहिले चोट पुग्यो, ओपनरको कमजोर प्रस्तुति । कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्का ओपनिङका लागि ओमानका बलरलाई फेस गर्न क्रिजमा पुग्दा टियु ग्राउन्डमा हुटिङको चर्को आवाज सुनिएको थियो । यही आवाज सामाजिक सन्जालमा पनि व्यापक थियो । तर, यसलाई लामो समयसम्म टिकाउन सकेनन्, नेपालका अनुभवी यी दुई ब्याट्सम्यानले । 

उनीहरु दुवैजना सस्तोमा समेटिए । १२ बल फेस गरेका ज्ञानेन्द्र मल्ल एक रन बनाएर पेभेलियन फर्किए । पूर्वकप्तान पारस खड्काले ज्ञानेन्द्रको भन्दा दुई बल बढी फेस गरे तर तीन रनमा समेटिए । यी दुवै ओपनर सस्तोमा समेटिएपछि नेपाली दर्शकको मुटुको चाल पक्कै बढ्न थाल्यो । तर, खेलमा नेपाली ब्याट्सम्यानले राम्रो गर्न सकेनन् । 

ओमानसँग एक दिवसीय मान्यता पाएपछि नेपालले पहिलो पटक खेल खेलेको थियो । यही खेलबाट नेपाल ओमान सामु कमजोर भएको पुष्टि पनि भएको छ । १ चैत २०७४ मा नेपालले एक दिवसीय मान्यता पाएको थियो । ओमानले चाहिँ त्यसको एक वर्षपछि ८ वैशाख २०७६ मा एक दिवसीय मान्यता पायो । तर, नेपाल र ओमान यसअघि ६ वटा एक दिवसीय खेलमा प्रतिस्पर्धी भइसकेका थिए । यी ६ मध्ये तीन खेलमा जित निकालेको थियो । 



इतिहासलाई हेर्ने हो भने पहिलो पटक नेपाल र ओमान सिंगापुरको क्रिकेट ग्राउन्डमा भिडेका थिए । त्यति बेला नेपालले सहज जित निकालेको थियो । र, त्यो पनि निकै ठूलो अन्तरको । सन् २००२ मा भएको त्यो खेलमा नेपालले ओमानलाई १०५ रनले पराजित गरेको थियो । 

सन् २०१० मा कुवेतमा भएको खेलमा पनि नेपालले ओमानलाई ६ विकेटले पराजित गरेको थियो । यसअघिका हारमा पनि नेपाल ओमानसँग अत्यन्त कमजोर सावित भएको थिएन । सन् २०१४ मा मलेसियामा भएको खेलमा ओमानसँग नेपाल २ विकेटले पराजित भएको थियो । 



इतिहासलाई छोडौँ, फेरि आजको खेलमा फर्किऔँ ।

 

खेलको सुरुवाती छनक हेर्दा नेपाल बलियो देखिएको थियो । नेपाली बलरहरुले ओमानका ब्याट्सम्यानहरुलाई खासै जम्न दिएका थिएनन् । पहिलो १० ओभरको खेललाई मूल्यांकन गर्ने हो भने पनि यो पुष्टि हुन्छ । पहिलो दश ओभरमा नेपाली बलरले ओमानलाई जम्मा ३२ रन दिए, २ विकेट लिए । 

तर, जसै ओभरहरु बढ्दै गए, ओमानले खेलमा पुनरागमन गर्न थाल्यो । ओमानका मोहम्मद नादिमले ब्याट समातेपछि उसले खेलमा वापसी गरेको थियो । नादिमले ओमानलाई ९७ बलको सामना गर्दै ५ चौका र दुई छक्काको सहयोगमा ६९ रन योगदान गरे । 

नादिमकै कारण ५७ रन बनाउँदा ५ विकेट गुमाइसकेको ओमान बलियो स्थितिमा आएको थियो । ओमानले पहिलो १० ओभरमा राम्रो खेल्न नसकेपनि मध्यम ओभरमा राम्रो रन बटुल्यो । अन्तिम दश ओभरमा त ओमानले एक दिवसीयको छनक नै ल्यायो । उसले दश ओभरमा ७६ रन जोड्यो । 

यो किन महत्वपूर्ण हो भने ओमानले खासमा आफ्ना ब्याट्सम्यान गुमाइसकेको थियो । तर, उसका बलरहरुले नै पनि उसको खेलको ‘इज्जत’ जोगाए । 

यो खेलमा नेपालका बलरहरुले राम्रो प्रदर्शन गरेको मान्नुपर्छ । किनकि पहिलो पटक अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा सहभागी भएका सुशन भारी एक्लैले तीन विकेट लिए । उनको यो डेब्यु सुन्दर रह्यो, तर नेपाललाई जिताउन पर्याप्त भएन । उनले १० ओभर बलिङ गरे तर जम्मा १४ रन दिए ।

करण केसीको योगदान पनि यो खेलको प्रसंग निकाल्दा छुुटाउनै नहुने उपलब्धिका रुपमा आउँछ । करणले ओमानका चार महत्वपूर्ण विकेट लिए । ९ ओभर बलिङ गरेका करणले जम्मा ४७ रन ओमानको स्कोरबोर्डमा थपे । एक ओभर मेडन गरेका उनको यो प्रयासले पनि सार्थकता चाहिँ पाउन सकेन ।

नेपालका स्टार बलर सन्दीप लामिछाने चाहिँ आजको खेलमा खास जम्न सकेनन् । उल्टै, ओमानको स्कोरबोर्डमा सबैभन्दा बढी रन दिने नेपाली बलरमा दोस्रो नम्बरमा उनी परे । उनले १० ओभर बलिङ गर्दा एक ओभर मेडन गरे भने ४५ रन खर्चिए ।

जे होस्, नेपाली ग्राउन्डमा पहिलो पटक खेल्न आइपुगेको ओमानले पक्कै पनि आफूले बनाएको लक्ष्यअनुसार रन बटुल्न सकेको थिएन । ऊ १९७ रनमा सिमित भयो । 

१९८ रनको लक्ष्यलाई पछ्याउन मैदानमा उत्रिएको नेपालले चाहिँ राम्रो गर्न सकेन । हामीले माथि नै चर्चा गरिसकेका छौँ, नेपाली ब्याट्सम्यानको यो खेलमा कमजोर प्रदर्शन रह्यो भन्ने कुरा ।

आखिर किन नेपाल आजको खेलमा कमजोर रह्यो त ? हामीले विश्लेषण गरेका यी केही कारणः 

 

युवा खेलाडीलाई बढी प्राथमिकता

हामीले केहीअघि नेपाली क्रिकेट टिमका सदस्य सुवाष खकुरेलसँग कुराकानी गरेका थियौँ । चोटका कारण लामो समय मैदानबाहिर रहेका सुवास फेरि मैदानमा फर्किइसकेका छन्, उनी नेपाली टिममा पनि अब वैकल्पिक खेलाडीमा पर्न थालेका छन् । केही महिनाअघि हामीले कुराकानी गर्दा सुवासले चिन्ता व्यक्त गरेका थिए– नेपाली टिममा युवा खेलाडीलाई बढी अवसर दिइयो, यसले नेपाली खेल कमजोर हुँदै जाने खतरा बढाउँछ । 

आजको खेलमा ओमानसँग नेपाल पराजित हुँदा पनि यही विषयलाई बलियो कारकका रुपमा लिन सकिन्छ । एक दिवसीय खेलमा नेपालले युवा खेलाडीलाई बढी प्राथमिकता दिँदा धैर्यका साथ खेल्ने खेलाडी कम देखिए र नेपालको आत्मविश्वास कमजोर भएको हुनसक्छ । 

यो खेलमा धेरै अनुभव बटुलेका शरद, दीपेन्द्र, पारस र ज्ञानेन्द्रबाहेक अन्य खेलाडीहरु त्यति अनुभवी छैनन् । तर, टेस्ट गर्ने वाहनामा ती खेलाडीहरुलाई प्राथमिकता दिँदा नेपालले विश्वकप यात्राको पहिलो खुड्किलोमा नै हार व्यहोर्नु परेको छ । 

 

ब्याटिङ क्रममा असन्तुलन

नेपालको ओपनिङमा आज निकै ठूलो समस्या देखियो । त्यसो त यो पुरानै समस्या हो तर आज ओपनर दुवै जनाले गरेको प्रदर्शन चाहिँ निकै फितलो देखियो । एक रन र तीन रन बनाएर ज्ञानेन्द्र र पारस बाहिरिए । 

हो, ओपनिङमा समस्या देखिने नेपालको पुरानै रोग हो । तर, कप्तान ज्ञानेन्द्र मल्ल वा प्रशिक्षकले आजको ब्याटिङ क्रमलाई खासै ख्याल गरेनन् । सुरुमै सबै अनुभवी ब्याट्सम्यान पठाउँदा र बीचमा अनुभवी ब्याट्सम्यान नहुँदा खेलमा नेपाली खेलाडीको कन्फिडेन्स लेभल विस्तारै कमजोर हुँदै गयो । यसले नेपाली विकेट पतन छिटो मात्र भएन, पछिल्ला ब्याट्सम्यानहरुलाई दबाब पनि पर्न गयो । 

आजको खेलमा शरद भेषवाकरले नेपालका लागि सबैभन्दा बढी ५५ रनको योगदान दिए । उनी एक विकेटको पतन भएपछि ब्याट समातेर क्रिजमा पुगेका थिए । उनले नेपालले झन्डै गुमाइसकेको आशालाई पुनर्जीवन प्रदान गरे । तर, उनीलाई साथ दिन तेस्रो विकेट गएपछि अरु कोही भएनन् । यसले गर्दा शरदमा बढी प्रेसर पक्कै पर्यो ।

त्यसैले नेपाली ब्याटिङ क्रम पनि आज फितलो देखिएको हो । चार विकेटपछि अनुभवी खेलाडी पारस खड्कालाई क्रिजमा पठाएको भए यो नतिजा अर्कै हुनसक्थ्यो । किनकि उनलाई आज राम्रै चलेका शरदको साथ हुने थियो । 

अन्य देशले एक दिवसीय खेलहरुमा ब्याट्सम्यान क्रमलाई यसरी मिलाएका हुन्छन् । तर, यसमा नेपालले आज ध्यान दिन नसकेको प्रष्ट भयो । 

  • प्रकाशित मिति : माघ २२, २०७६ बुधबार १८:१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया