काठमाडौं– नेपाली कांग्रेसनिकट थारु अगुवाहरुले पूर्वउपप्रधनमन्त्री विजयकुमार गच्छादारको बचाउ गरेका छन् । उनीहरुले दुरुपयोग अनुसन्धान आयोगले नेता गच्छदारविरुद्धको भ्रष्टाचार मुद्दाले थारु समुदायको भावना र आत्मसम्मानमा गहिरो चोट पुगेको बताएका छन् ।
राष्ट्रिय छवि बनाएका नेता गच्छदारमाथि सुनियोजित आक्रमण भएको उनीहरुको निष्कर्ष छ । माघ २८ गते नेपालगञ्जमा सम्पन्न थारु युवाहरुको भेलाले यस्तो निष्कर्ष निकालेको हो ।
गच्छादारको योग्यता, क्षमता, त्याग, बलिदान, जनसमर्थन र दूरदर्शी सुझबुझ थारु समुदायमा अरु कसैको नभएको भन्दै उनीहरुले थारु समुदायबाट प्रधानमन्त्री बनेर मुलुक र जनताको जीवन रुपान्तरण गर्न सक्ने एक मात्र व्यक्तित्व भएका कारण उनीमाथि सुनियोजित आक्रमण भएको ठहर गरेका छन् ।
थारु नेताहरु रामजनम चौधरी, डिल्लीबहादुर चौधरी, योगेन्द्र चौधरी, राधेश्याम चौधरी, धनीराम चौधरी, पुरन चौधरी, गोपाल दहितलगायतको सहभागितामा सम्पन्न भेलाले उक्त घटनामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलाई मुद्दा नचल्नु र गच्छदारलाई मुद्दा चल्नु षड्यन्त्र भएको बताएको ठहर गरेको छ ।
गच्छदारमाथिको मुद्दा व्यक्तिगत नभएको भन्दै भेलाले अब पालैपालो कांग्रेस नेतामाथि मुद्दा लगाउन काल पल्केको टिप्पणी पनि गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।