Tue, 07 Jul, 2020


संसदमा स्वस्थानी च्यात्ने प्रस्ताव गरेकी माननीय भन्छिन्– म क्रिश्चियन होइन तर स्वस्थानीका केही पाना च्यात्नैपर्छ
फरकधार / फागुन २, २०७६

काठमाडौं– पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने श्रीस्वस्थानी व्रत सकिएको केही दिन भइसकेको छ । तर, स्वस्थानीको प्रसङ्ग नेपाली सामाजिक सन्जालमा अझै सेलाएको छैन । 



र, यसको कारण हो– नेकपाकी समानुपातिक सांसद यशोदा गुरुङ सुवेदीको माग । उनले संसद्मा केही दिनअघि शून्य समयमा बोल्दै सरकारले सुरु गरेको छाउगोठ भत्काउने अभियानलाई समर्थन गर्दै स्वस्थानीको प्रसंग थपिन्– स्वस्थानीका केही पाना च्यात्नुपर्छ ।

यसले सामाजिक सन्जालमा एउटा ठूलो बहस सिर्जना गरेको छ । सामाजिक सन्जालमा हेर्ने हो भने अधिकांशले सुवेदीको खरो आलोचना गरेका छन् । उनको बचाउमा केहीले स्वस्थानीका केही पानालाई कटिङ गरेर पनि सामाजिक सन्जालमा राखेका छन् । 

संसदमा शून्य समयमा बोल्दा यसबारे सुवेदीले खासै धेरै बोलेकी थिइनन् । त्यसैले यस विषमा उनीसँग थप कुराकानी गर्ने हामीले निक्र्योल ग¥यौँ । 

‘हेलो,’ उनले फोन उठाइन् । 

हामीले हाम्रो प्रस्ताव राख्यौँ । त्यसपछि उनले गुनासो सुरु गरिन्, ‘कति धेरै युट्युबहरु हुन्, जे कुरालाई पनि भाइरल बनाउन खोज्ने ? बोलेको नबोलेको लेखेर छाप्छन्, के भनौँ ख्वै ?’

शुक्रबार दिउँसो संसद् बैठक बस्दै थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सरकारको दुई वर्षे कार्यकालबारे सम्बोधन गर्दै थिए । तर, राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि प्रधानमन्त्रीले गर्ने भनेको सम्बोधन रोकियो । योसँगै हामीले भेट्ने ठाउँ पनि परिवर्तन भयो । 

शुक्रबार संसद् बैठक सकिएपछि सुवेदीसँग सिंहदरबारस्थित संसद सचिवालयमा भेट्यौँ । त्यसपछि उनीसँग लामो कुराकानी गर्यौँ ।

संसद्मा आफ्नो भनाइले सामाजिक सन्जालमा एक किसिमको तरंग उत्पन्न गराएपछि संसद सुवेदीले एकपटक फेरि स्वस्थानीका केही अध्यायहरु पढिन्, त्यहाँ लेखिएको कथामा कसरी महिलामाथि जथाभावी भनिएको छ भन्ने कुरा स्मरणमा राखिन् । ‘पढ्नै पर्ने भयो,’ उनले भनिन्, ‘बहस अझ गम्भीर भएर जाला जस्तो लाग्यो, त्यसका लागि आफू तयार त हुनै पर्यो नि ।’

तर, सुवेदीले यसपटक सहजै स्वस्थानी किताब पढ्न भने पाइनन् ।

उनले आफन्तकहाँ जहाँ स्वस्थानीको किताब थियो, त्यहाँ स्वस्थानी पढ्न पर्यो भन्दा जवाफ पाइन्– यो वर्षका लागि साङ्गे भइसक्यो, अब यो अहिले पढ्न मिल्दैन, एकपटक बन्द गरेपछि स्वस्थानीको किताब खोल्न मिल्दैन । 

सुवेदीको मन मानेन । उनले यसलाई जसरी पनि पढेरै छाडिन् । अनि आफूले बोलेको कुरामा सही छु र राम्रो भनेकी छु भन्ने निक्र्योल निकालिन् ।

सुवेदीले स्वस्थानी पढेको यो पहिलो पटक होइन । 

सुवेदी दाङमा जन्मिइन्, हुर्किइन् । त्यति बेला उनको गाउँमा पनि स्वस्थानीको व्रत लिने व्यक्तिहरु नभएका होइनन् । तर, उनको आफ्नै घरमा चाहिँ स्वस्थानी पढिँदैनथ्यो । उनका बाबुले दोस्री श्रीमती ल्याएका थिए, उनी आमासँग एक बहिनी र दुई दाजुभाइसँग बस्थिन् । एकल जीवन बिताउन बाध्य भएकी आमाले सुवेदी सानै हुँदा क्रान्तिकारी चेत भरिदिएकी थिइन् । अनि उनको घरमा स्वस्थानी वाचन पनि हुँदैनथ्यो । 

घरमा वाचन नहुने भन्दैमा स्वस्थानी पढ्दै नपढ्ने भन्ने चाहिँ भएन । ‘गाउँमा जसले व्रत लिएका थिए,’ सुवेदी बाल्यकालमा पुगिन्, ‘उहाँहरुकोमा गएर कहिले सुनियो, कहिले पढियो ।’ कठिन व्रत भएकाले सबैले यो व्रत लिने आँट नगरेको सुवेदीले बताइन् ।

तर, सुवेदीले धार्मिक आस्था राखेर आजसम्म स्वस्थानी सुनेकी छैनन्, स्वस्थानी पढेकी छैनन् । राजनीतिक कामको सिलसिलामा उनी बारम्बार शाली नदी पुगेकी त छिन्, तर त्यहाँ पुग्दा नदीलाई ढोग्नुपर्छ भनेर ढोगेकी छैनन् ।

यो प्रसंगको सुरुवातमा सुवेदी केही नोस्टाल्जिक बनिन् । उनी आफ्नो बाल्यकालमा पुगिन् । अनि भनिन्– त्यति बेला हामी सानै छँदा नेत्रलाल अभागीजस्ता नेताहरु हाम्रो घरमा आउनुहुन्थ्यो । 

तिनै नेत्रलाल अभागीले सुवेदीलाई सानै हुँदा भूतप्रेतका कथा समाजमा विभेद सिर्जना गर्ने अभिप्रायले लेखिएको बताउने गरेका थिए । नेत्रलाल अभागीको पन्चायतकालीन अवस्थामा टाउकोको मूल्य तोकिएको थियो, उनी भूमिगत थिए । 

‘दिनभर कहाँ हुनुहुन्छ भन्ने त थाहा थिएन,’ सुवेदीले सम्झिइन्, ‘तर, राति खाना खाँदा उहाँले हामीलाई यस्तो शिक्षा दिनुहुन्थ्यो । उहाँले पुरुषले बहुविवाह गर्न हुने तर महिलाले एउटै पुरुषका लागि भनेर जीवनभर जीवन त्याग गर्न पर्ने दृष्टान्तहरु दिनुहुन्थ्यो ।’

यो कुरा स्वयं सुवेदीको जीवनमा पनि मेल खाएको थियो, उनका बाबुले दोस्री श्रीमती विवाह गरेका थिए, उनी आमाले पाँच सन्तानलाई दुःखसुख हुर्काइरहेकी थिइन् । 

फेरि फर्कौँ स्वस्थानीको प्रसंगमा । 

तिनै नेत्रलाल अभागीले जे भनेका थिए, महिलामाथिको अत्याचारबारे जे बोलेका थिए, त्यही कुरा स्वस्थानीमा आफूले सुन्दा सानैमा आफू ‘सक्ड’ हुने गरेको अनुभव सुवेदीले गरिन् । 

त्यसैले त्यति बेला देखि नै सुवेदीलाई स्वस्थानीलाई मन परेन । उनले जे सुनेकी थिइन्, त्यही कुरा आएपछि त्यति बेला नै महिलाविरोधी कथा रहेछ, स्वस्थानी भन्ने लाग्यो । 

‘सुन्न त म सुन्थेँ,’ उनले भनिन्, ‘त्यति बेला मलाई सबै कुरा कल्पना हुन् भन्ने लाग्थ्यो । पछि यहाँ आएपछि शाली नदी छ भनेपछि ओहो, कतै साँच्चै त होइन भन्ने लाग्यो । साँखुलाई लावण्य देश होला भन्ने कल्पना गरेँ । त्यति बेला चाहिँ मलाई हजुरआमाहरुले आमाहरुलाई सुनाउँदै आएको, आमाहरुले हामीलाई सुनाएको कथामात्र हो भन्ने पनि लागिरहेको थियो ।’

पार्टी कामको सिलसिलामा २०५५ सालमा पहिलो पटक शाली नदीको क्षेत्रमा पुगेकी थिइन्, सुवेदी । उनले आफ्नो टिममा कुरा गरेकी थिइन्, जिज्ञासा राखेकी थिइन् । उनका सहकर्मी साथीहरुले त्यहाँ स्वस्थानीको अवसरमा ठूलो मेला लाग्ने बताएका थिए । 

त्यति बेला स्वस्थानीको व्रतको समयमा पनि एक पटक सुवेदी त्यहाँ पुगेकी थिइन् । अनि अहिले पोहोर साल पनि सुवेदी पुगेकी थिइन् । 

‘पहिले गएको ठाउँ, एकपटक हेरौँ भनेर गएकी थिएँ,’ सुवेदीले भनिन्, ‘अहिले त त्यहाँ त ठूलो मेला लाग्दो रहेछ, धार्मिक अनुष्ठान हो कि व्यापारिक मेला हो भन्ने कुरामा नै म कन्फ्युज भएँ ।’

२०४५ सालमा सुवेदी पन्चायतविरुद्धको आन्दोलनलाई अझ तीव्र बनाउन जिल्ला सदस्य भएर लमजुङ पुगिन् । 

लमजुङमा स्वस्थानीको व्रत लिने चलन अलिक बढी छ । तर, सुवेदी आफू कम्युनिस्ट पार्टीको सदस्य भएर त्यहाँ पुगेकाले खासैै यसबारे वास्ता नगरेको बताइन् । 

‘अहिले त कम्युनिस्टमा दोहोरो चरित्र देखिन थालेको छ,’ सुवेदीले भनिन्, ‘त्यति बेला त्यस्तो हुँदैनथ्यो, कम्युनिस्टकै संगत भएकाले लमजुङमा मानिसहरुले स्वस्थानी पढेको मैले थाहा पाइनँ । त्यो विषयमा खासै वास्ता पनि गरिनँ ।’

फेरि सुवेदीकी आमा ‘चर्कै’ क्रान्तिकारी थिइन् । कतिसम्म भने दशैंमा टीका लगाएर आर्शिवाद दिँदा फलाक्थिन्:

माओ, मार्क्स तथा एंगेल्सहरु औ लेनिन, स्टालिन सरी

क्रान्तिकारी परिश्रमि जनप्रिय लडाकु योद्धा भइ

ताता गोली पिउ बरु र जान देउ तरबार खुकुरी तिर

तिम्रो जीवन सुमपिदेउ गरिबको चोखो सेवा खातिर

क्रान्तिकारी विवेकी वीर गुणी औ निडर कर्मठ हुनु

कम्युनिष्ट समाजसेवी प्रतिभाशाली शाहसी हुनु

दिर्घायु अनि कार्यमा सफलता विद्या र वुद्धि लिनु

प्रभावशाली र स्वस्थ भएर गरे काम दुःखी हसाई दिनु ।

(सुवेदीले यो कुरा आफ्नो फेसबुकमा भिडियो समेत भएको बताइन् ।)
 

सुवेदीले यो कुरा सम्झिइन् । त्यसैले पनि उनलाई सानैदेखि कम्युनिज्मको भोक सवार भयो, त्यही लाइनअनुसार उनी अगाडि बढिन् । अनि त्यति बेला देखि नै उनले प्रगतिशील आस्थालाई अगाडि बढाइन्, त्यहीअनुसार अगाडि बढिन् ।

अब सुवेदीले जोडिन्, छाउगोठबारेका प्रसंग । 

अहिले सरकारले जसरी एउटा अभियानका रुपमा छाउगोठ भत्काउन थालेको छ, त्यसलाई निकै सकारात्मक रुपमा लिएकी छिन्, सुवेदीले । तर, यो मात्र पनि पूर्ण छ भन्ने उनलाई लाग्दैन । ‘यो त रुपमात्र भत्काएको भयो,’ उनले भनिन्, ‘तर, त्यहाँ मानिसका मनमनमा जुन कुरा गढेर बसेका छन्, रुढीवादी भएका छन्, ती कुरालाई भत्काउन नसक्ने हो भने छाउगोठ मात्र भत्काएर केही पनि लाभ हुनसक्दैन ।’

रुपमाथिको आक्रमणले एउटा तरंग ल्याएको र सरकारको सचेतन प्रयत्नले यसलाई फाइदा नै पुगेको उनले निक्र्योल निकालेकी छिन् ।

 

राजतन्त्र फालियो, यसका अवयव फाल्न सकिएन

त्यसपछि सुवेदी केही समय अहिलेको अवस्थाबारे कुरा गर्न थालिन् । 

सुरुमा उनले पूर्वसचिव अर्जुन कार्कीको घरमा केही दिनअघि भएको घटनाबारे बोलिन् । उनले सुनेकी छिन्, जुन समयमा अर्जुन कार्कीको घरमा घटना भयो, त्यो समयमा अर्जुन कार्की पशुपतिनाथमा दर्शन गर्न गएका थिए । 

श्रीमतीलाई घरमा छोडेर कार्की पशुपतिनाथ पुगेको सन्दर्भ आएपछि सुवेदीलाई पनि कसैले प्रश्न गरेको थियो– श्रीमती किन पशुपतिनाथ नगएको त ? 

यसको उत्तर पनि उनले रेको भरमा सुनेकी छिन्– उनी महिनावारी भएकी थिइन् रे !

यही कुरा र यहाँ नेर नै समस्या छ भन्ने लाग्छ, सुवेदीलाई । ‘महिनावारी हुनु एउटा प्राकृतिक कुरा हो, त्यस्तो बेलामा पनि पशुपति जाँदा हुन्छ भन्ने कुरा हाम्रो समाजमा भएको भए,’ उनले भनिन्, ‘महिनावारी बारेकै कारण उनी श्रीमान्सँग गइनन्, उनी एक्लै थिइन् र उनीमाथि आक्रमण भयो भन्ने कुरा पनि आएको छ ।’

यो कुरा सुनेपछि उनले निक्र्योल निकालेकी छिन्– हाम्रो समाजमा धर्मको आधारमा वा छेउमा रहेर बसेका कूप्रथालाई परिवर्तन नगर्ने हो भने पक्की घरमा पनि ठूला दुर्घटना हुँदा रहेछन् नि !

यो सब सबैभन्दा बढी आतंकित पार्ने ग्रन्थका रुपमा लिएकी छिन्, स्वस्थानीलाई । उनले भनिन्– ‘कुनै धर्मग्रन्थ होइन, स्वस्थानी एउटा कथा हो । त्यो कथामा भएका कुराहरुले हाम्रो समाजमा यस्तो ठूलो जरा गाडेको छ कि यसले गर्दा समस्या निम्तिएको छ । यसबारे अझ पनि हामीले नसोचे के गर्ने ?’

स्वस्थानीमात्र होइन, अरु हाम्रा धेरै चलनहरु राजतन्त्रसँग जोडिएका र त्यसका अवयवका रुपमा बुझेकी छिन्, सुवेदीले । 

‘हिन्दू धर्ममा त राजालाई विष्णुका अवतार मानिन्थ्यो, राजा विष्णुका अवतार हुन् भनेर पुजिन्थ्यो,’ उनले भनिन्, ‘हाम्रो समाजले भगवान मानेका राजतन्त्रलाई हामीले फाल्यौँ तर अझै पनि त्यसका अवयव बाँकी नै रहेका छन् ।’

तिनै राजा तथा सत्तामा सन्चालन गर्न लागिरहेका व्यक्तिहरुले आफूहरु अनुकुल रहेका कथा बनाउँदै गएको र त्यसलाई कथाका रुपमा विकास गर्दै लगेको र त्यसलाई मर्ज गरेर स्वस्थानी बनाएको विश्वास उनले गरेकी छिन् । 

त्यति बेला धर्मलाई हतियार बनाइएको थियो, सत्ता टिकाउने एउटा विशेष अस्त्र भएको थियो भन्ने बुझाइ हो, सुवेदीको ।

आफूहरु अहिले पनि राजनीतिक परिवर्तनमा लागिरहेको तर त्यसका अवयवहरुलाई अहिले पनि तोड्न नसकेको उनको बुझाइ छ । ‘राजतन्त्रसँग जोडिएका संस्कार, संस्कृति तोडिनु पर्ने होइन र ?’ उनलाई अहिले महसुस भएको छ, ‘तर, योसँग आएको स्थिति र ती परम्परा अहिलेसम्म फेरिएको छैन ।’

हामीले हेर्दाहेर्दै बनेका मन्दिरहरु कसरी व्यापारिक लाभका लागि गएका छन् भन्नेबारे सुवेदीले दुई प्रसंग सुनाइन् । पहिलो साँगाको । 

साँगामा महादेवको मन्दिर बन्दा आफू भक्तपुरको इन्चार्ज भएको र त्यहाँका स्थानीयले यसबारे विरोध गरेको बताइन् । पार्टीमा त्यति बेला उजुरी आएको तर त्यति बेलाको सरकारले बेवास्ता गरेको उनले उतिबेलै थाहा पाएकी थिइन् । 

‘अब अहिले त त्यहाँ प्रवेश गर्नकै लागि पैसा लाग्दो रहेछ,’ उनले भनिन्, ‘लगानी गर्नेले त्यहाँ होेटल खोलेको छ, त्यहाँ क्युरियो पसल खुलेका छन् । तर, स्थानीयको जीवन अझ कष्टकर भएको छ तर धर्मको नाममा त्यो मूर्ती बनाउनेले फाइदा लुटेको लुटै छ ।’

अनि अर्को प्रसंग निकालिन् सुवेदीले, सिजी शाश्वत धामको । चौधरी ग्रुपले बनाएको यो मन्दिरसँग पनि सन्तुष्टि छैन सुवेदीलाई । त्यसमा कुनै प्युरिटी नभएको र त्यसले नेपाली समाजको धारणालाई अझ बर्बाद बनाउँदै लगेको उनले बताएकी छिन् । 

‘मलाई क्रिश्चियन भइ भन्ने आरोप लगाएका छन्,’ उनले भनिन्, ‘तर, हामीले पशुपतिलाई अझ राम्रो बनाउने हो कि धर्मको व्यापार गर्ने सिजी टेम्पललाई बढावा दिने ?’

यति कुरा भनिसकेपछि सुवेदी फेरि स्वस्थानीमा नै फर्किइन् । 

‘त्यति बेला पनि सत्तामा नजिक भएकाहरुले स्वास्थानीमा कथा हालिदिए,’ उनले भनिन्, ‘जनताको चेतनालाई त्यता डाइभर्ट गर्न उनीहरुले यस्तो षडयन्त्र गरेका थिए । स्वास्थानीमा भएका प्रसंग पनि उनीहरुले आफू अनुकूल धार्मिक व्यापार गर्न र जनतालाई धर्मको नाममा लठ्याएर अगाडि बढाउन राखेका हुन् । अहिले साँगाको त्यो मूर्ति, सिजीको टेम्पल भन्ने हेर्दा त्यस्तो लाग्दैन र ?’

 

स्वस्थानीलाई राखौँ न त पुस्तकालयहरुमा व्यापक रुपमा

सुवेदीले खासमा एउटा आक्रोशमा आएर आफूले संसदमा स्वस्थानीलाई च्यातौँ न त भनेको पनि बताइन् । ‘मेरो भावार्थ वा लाक्षणिक अर्थ त्यसलाई पाना पाना च्यात्ने भन्ने पनि होइन,’ सुवेदीले भनिन्, ‘त्यसलाई त्यागौँ, मनबाट र मस्तिष्कबाट हटाऔँ भनेको थिएँ । त्यसको अर्थ अलिक बङ्ग्याइयो ।’

उनले आफूले महिलामाथि उत्पीडन भएका प्रसंगलाई च्यातौँ भनेको र महिलामाथि भएका कुरितीलाई हटाउनु आजको आवश्यकता भएको उनले बताइन् । ‘त्यसमा भएको राम्रो कुरा त राखिदिऔँ वा हामीले अनुसरण गरौँ न, अनि पढ्न चाहनेलाई पुस्तकालयमा राखिदिऔँ न त,’ सुवेदीले थपिन् ।

स्वस्थानीमा कथा, मनोरन्जन र इतिहास भएको पनि राम्रोसँग ज्ञान छ, सुवेदीलाई । यतिमात्र होइन, पछिल्लो समय आएका तर्कहरुबारे र सामाजिक सन्जालमा देखिएको आफ्नो आलोचनाबारे पनि सुवेदीले बुझेकी छिन् । 

सतीदेवीको विभिन्न अंग पतन हुँदा बनेका मठमन्दिरका कारण धार्मिक पर्यटन बढेको भन्ने तर्क पनि पढेकी छिन्, सुवेदी । अनि यसमा उनी सहमत पनि छिन् । यी सब कुराहरुलाई उनले सकारात्मक रुपमा लिएकी छिन् । 

‘यस्तो सबै हो भने स्वस्थानीलाई पुस्तकालयमा राखौँ, व्यापक रुपमा,’ सुवेदीले भनिन्, ‘अहिले प्रकाशन भएको कुरालाई संरक्षण गरेर पनि राखौँ, पढ्न चाहनेले त्यसलाई पढून्, मनोरन्जन लिने व्यवस्था गरौँ ।’

तर, यही स्वास्थानीलाई वर्षैपिच्छे पढ्न पर्ने, व्रत बस्नु पर्ने र त्यसका लागि समय छुट्ट्याउने कुरालाई छोड्ने बानी गर्नु पर्ने सुवेदीले बताइन् । बरु व्रत बस्ने भन्ने समयमा काम गर्दा नै मानिसको प्रगति हुने, कसैले कल्पनामा आधारित बनाएर लेखेको कथाका लागि एक महिनाको भए पनि समय खेर फाल्न नहुने सुवेदीको तर्क छ । 

यतिमात्र होइन, स्वस्थानीमा बालविवाहलाई जायज मानिएको प्रसंगको पनि सुवेदीलाई निकै ठूलो असहमति छ । 

उनीसँग स्वस्थानीबारे प्रश्न छन्– के स्वास्थानी पढ्नेले गोमाको जस्तै बालविवाह भए पनि होस्, पछि छोराछोरीले सुख दिन्छन् नि भन्ने कुरा बुझ्ने हो ? वृन्दा र जालन्धरको कथाबाट के सिक्ने ?

यो कुरा सत्य वा असत्य जे भए पनि त्यसले समाजलाई राम्रो सन्देश चाहिँ नदिएको उनको विश्वास छ ।

यस्ता प्रसंगका कारण मानिसहरुलाई परिवर्तन गर्ने होइन, जे छ त्यही कुरामा समर्थन गर्ने र श्रीमानको विरोध गर्न हुँदैन भन्ने मान्यता बढ्दै गएको सुवेदीले बताइन् । 

यी सब कुरा परिवर्तन नभएसम्म जस्तोसुकै अभियान चलाए पनि डर र त्रासका वातावरण सिर्जन गर्ने मूल्यमान्यताहरु धर्मका नाममा भएका अवस्थाहरुलाई अझ बाधक बनाउँदै लैजान्छन् ।

 

किताब जलाऔँला, दिमागबाट हटाऔँ अहिले

कुराकानीको बीचमा सुवेदीसँग नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको भैंसी पूजाको प्रसंग पनि निस्कियो ।

‘यो विषयमा त म बोल्दिनँ,’ उनले भनिन्, ‘तर, म कम्युनिस्ट पार्टीमा लागेको चाहिँ पूजा गरेर वा स्वस्थानी व्रत बसेर होइन, अनि यहाँसम्म आएको पनि त्यसका कारण होइन ।’

तर, राजनीतिमा आएपछि जनताले गर्ने अनुष्ठानमा सहभागी हुनु पर्ने र त्यस्ता अनुष्ठानमा पुग्दा आफूले पनि जनतालाई साथ दिनु पर्ने बाध्यता रहने गरेको उनले बताइन् । 

अर्थात्, कसैले सत्यनारायणको पूजा लगाएको रहेछ र सुवेदीलाई बोलायो भने उनी जान्छिन् । ‘जान्नँ भन्न नै पाइँदैन, मिलेसम्म जानै पर्छ,’ उनले भनिन्, ‘तर, त्यहाँ जानुको अर्थ र आफूलाई त्यस्तो कुरा मन पर्दैन भन्नुको अर्थ त्यहाँ वितण्डा मच्चाउँछु भन्ने होइन ।’

एकैछिन यी विषयमा कुरा भए । 

अब फेरि फर्किऔँ स्वास्थानीको प्रसंगमा । 

जनताको चाहनाअनुसार आफूलाई ढाल्न पर्ने विषयमा थाहा हुँदाहुँदै पनि के सुवेदीले अझै स्वस्थानी च्यात्नु पर्छ भन्ने ठान्छिन् ? ‘एउटा एउटा पुस्तक च्यातौँ वा जलाऔँ भनेको होइन,’ उनले भनिन्, ‘यसलाई त दिमागबाट नै हटाउन सकिएको खण्डमा मात्र राम्रो गर्न सकिन्छ ।’

 

म क्रिश्चियन होइन

संसदमा स्वस्थानीका पाना च्यात्नुपर्छ भनेपछि निकै ठूलो आलोचना खेपिरहेकी छिन्, सुवेदीले । र, उनले केही आलोचना तथा टिप्पणीहरु पढिरहेकी पनि छिन् । 

त्यसमा उनलाई सबैभन्दा नराम्रो लागेको टिप्पणी हो– उनलाई क्रिश्चियन हो भन्दै लगाइएको आरोप ।

के साँच्चिकै क्रिश्चियन हुन् त सुवेदी ? 

‘म कुनै पनि धर्मको होइन, मैले कुनै पनि धर्म अँगालेकी छैन,’ उनले भनिन्, ‘म नास्तिक हुँ, म क्रिश्चियन पनि होइन, हिन्दू पनि होइन ।’

तर, यसको अर्थ उनले हिन्दूहरुले मनाउने चाड मनाउनै छोडेको चाहिँ होइन । उनले फेरि दसैंको प्रसंग निकालिन् । आमाले दिने गरेको आर्शिवाद पनि सम्झिइन् । र, आफूले किन दशैं मनाउनु पर्छ भन्ने कुरा आफूहरु भूमिगत हुँदा अरु ‘कमरेड’हरुलाई पनि भन्ने गरेको प्रसंग निकालिन् ।

यसको कारण रहेछ, दशैंले महिलालाई सम्मान गर्छ, देवीको पूजा हुन्छ र दशैं भनेको प्रकृतिमाथिको पूजा हो । उनले तिहार पनि आफूले मनाउने गरेको बताइन् । 

त्यति मात्र होइन, सुवेदीलाई तीज पनि मनाउनै पर्छ भन्ने लाग्छ । ‘हामीले तिज नमनाउने वा यसमा विकृत कुराहरु थप्ने,’ उनले प्रश्न सोधिन्, ‘अनि भ्यालेन्टाइन्स डे मनाउने ? के हामी हाम्रो संस्कार र संस्कृतिको प्युरिटीलाई बचाइरहेका छौँ कि विकृतिहरुलाई मात्र थप बल दिइरहेका छौँ ?’

‘अहिले तिज मनाउने नेपाली दिदीबहिनीलाई सोध्यो भने श्रीमानका लागि तिज मनाएको भन्छन्,’ उनले भनिन्, ‘म मेरो श्रीमानलाई माया गर्छु, त्यसैले यो मनाइरहेको छु भन्दैनन् ।’

अनि फेरि पुरुषले फेरि तिज नमनाउनुको कारण हाम्रो पितृसतात्मक समाजलाई उनले दोष दिन्छिन् । 

त्यसपछि उनले क्रिश्चियनको आलोचना गर्न पनि छुटाइनन् । आफूले १० कक्षासम्म संस्कृत पढेको र नेपालमा संस्कृत विश्वविद्यालय खुल्दा आफू निकै खुसी भएको भन्दै उनले भनिन्, ‘उनीहरुको त एउटा मात्र चाड हुन्छ, क्रिसमस । हामी कति धनी छौँ संस्कृतिमा । तर, हामीले पश्चिमा संस्कृतिका नराम्रा कुरा फलो गरिरहेका छौँ, हाम्रा कुराको पुष्टि कसैले पनि गरेको छैन ।’

बरु हिन्दूहरुले ममाथि आक्रमण गर्नुभन्दा नेपालीहरु किन क्रिश्चियन भइरहेका छन् भन्नेबारे सोधखोज गरेर त्यसलाई रोक्न सक्नु पर्ने उनको धारणा छ ।

 

र, अन्तिममा यो प्रसंग पनि

बेलाबेलामा सामाजिक सन्जालमा यशोदा गुरुङ सुवेदीको अर्का नेकपा नेता देव गुरुङसँग भएको विवाहको प्रसंगमा पनि विभिन्न कुराहरु चलिरहेका हुन्छन् । 

यसबारे पनि भेटमा खुलेर कुरा गरिन्, सुवेदीले ।

‘ती छिचिन्द्रा हुन्, जसले मेरोे विवाहबारे अनावश्यक हल्ला र भ्रम फैलाउने काम गरिरहेका छन्,’ उनले भनिन्, ‘उनीहरु विकृत चेतनाका कारण बाँचेको जस्तो अभिनय गरिरहेका छन् ।’

‘गुरुङजीसँग रेडह्यान्ड पक्राउ परेको रे म,’ उनले भनिन्, ‘उनीहरुलाई के थाहा २०४४ सालमा प्रचण्डदेखि पार्टीका अरु नेताहरुको उपस्थितिमा हाम्रो विवाह भएको हो । अहिलेका वरिष्ठ नेताहरु अधिकांश हाम्रो विवाहमा सहभागी पनि हुनुहुन्थ्यो ।’

त्यसपछि उनले विवाहको प्रसंग निकालिन् ।

‘त्यति बेला म पार्टीको सक्रिय कार्यकर्ता थिएँ,’ उनले सम्झिइन्, ‘गुरुङजी होलटाइमर हुनुहुन्थ्यो । पार्टीले उहाँको विवाह गर्ने भयो । उहाँलाई सक्रिय कार्यकर्तासँग विवाह गरिदिन पाए पार्टीमा सहज हुन्थ्यो भन्ने पार्टीले डिसिजन गरेको रहेछ ।’

उनले विवाह हुँदा ‘काजीबुबा’ (काजीबुबा भनिने व्यक्ति थम्बसिंह कुँवर हुन्, जसले तत्कालीन कम्युनिस्ट पार्टीमा ठूलो योगदान दिएका छन् । उनको अहिले स्वास्थ्य अवस्था निकै नाजुक भइसकेका छ ।)ले आफूहरुलाई आर्शिवाद दिएको बताइन् ।

‘तर, छिचिन्द्राहरु ममाथि यसै आक्रमण गरिरहेका छन्,’ उनले दुखेसो पोखिन् ।

 

र, फेरि स्वस्थानीको प्रसंग

आफ्नो आलोचना गर्नेले एकपटक स्वस्थानी पढ्नु पर्ने धारणा राख्छिन् । किनकि त्यहाँ स्वस्थानी माताको कथा भनिएको तर भित्र पूरै पुरुषको कथामात्र लेखिएको उनले पाएकी छिन् । 

स्वस्थानीको समर्थन गरेर चर्को आवाज बोल्नेहरुलाई उनको प्रश्न छ, ‘त्यो स्वास्थानी माताको कथा हो, त्यहाँ पार्वतीले पनि स्वास्थानी पढेको कुरा छ भन्नेहरुले मलाई पार्वतीले पढेको स्वस्थानी कुन हो भनेर देखाइदिए हुने नि ।’

अनि फेरि उनलै जोडिन्, ‘कसैले अन्तिम पेजमा स्वस्थानीको कथा छ भनेका छन्, त्यो मैले एकपटक पढ्न बाँकी छ, अर्को हप्तासम्म त्यो पढ्छु अनि त्यसमा कुरा गरौँला ।’

अरु सब जे भए पनि आफूले एउटा बहस क्रिएट गरेकोमा खुसी छिन्, सुवेदी । 

‘धर्ममाथि बहस गर्न हुँदैन भन्ने हुँदैन,’ उनले भनिन्, ‘हाम्रा संस्कृति र सम्पदामाथि बहस गर्न हुँदैन भन्ने छैन, एउटा ठोस निर्णयमा पुग्दा बहसबाट नै राम्रो हुन्छ । बहसले स्वस्थानीका पाना च्यात्ने निष्कर्ष पनि निकाल्न सक्छ, म गलत भएर मैले सच्चिने मौका पनि पाउन सक्छु ।’


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्