प्रधानमन्त्री ओली किन झस्किए ? सरकार ढाल्ने आशंका किन गरे ?

काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबारमात्र प्रतिनिधिसभामा सरकारका दुई वर्षे उपलब्धि सुनाए । त्यति बेला संसदमा उनको आलोचना गरेका सांसदहरुलाई उनले चर्को प्रतिक्रिया पनि दिए ।

तर, त्यसको भोलिपल्टै झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा यस्तो अभिव्यक्ति दिएका छन् जसले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीभित्र ठूलो तरंग ल्याएको छ । र, विस्तारै यही विषयमाथि आम चर्चा पनि हुन थालेको छ । 

किनकि झापा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने षडयन्त्र भएको अभिव्यक्ति दिएका छन् ।

र, यो ठ्याक्कै त्यो दिनको भोलिपल्ट जब उनले संसदमा आफ्नो सरकार बलियो जगमा बनेको दाबी गर्दै तीन वर्षमा आफ्नो सरकारले गर्ने विभिन्न कामको फेहरिस्त सुनाएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्ने प्रयत्न सुरु भएको बताए पनि कसले यो षडयन्त्र गरिरहेको हो भन्नेबारे खुलाएनन् । पाँच महिनापछि झापामा सडक र पुलको उद्घाटन तथा शिलान्यास गर्न पुगेका ओलीले भनेका थिए, ‘तपाईंहरूलाई लाग्ला, सरकारसँगबलियो बहुमत छ । बहुमत भए पनि फर्की–फर्कीकन उनीहरू यो सरकारलाई असफल पार्ने, ढाल्ने, बदनाम गर्ने षड्यन्त्रमा लागिरहेका छन् । म भन्न चाहन्छु– अरू कसैले हाइन, कुनै शक्तिले होइन, हामीलाई सरकारमा पुर्यातइदिएको, हाम्रो सरकार बनाइदिएको तपाईंहरूले हो । जनताले हो । जबसम्म तपाईंहरूको आशिर्वाद रहन्छ, साथ शूभेच्छा र शुभकामना रहन्छ, तबसम्म सरकारलाई कसैले हल्लाउन सक्दैन । डगमगाउन पनि सक्दैन । हामी अगाडि बढ्यौं, बढ्यौं ।’

के साँच्चिकै प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेजस्तै सरकार ढाल्ने षडयन्त्र भइरहेको छ त ? र, यो षडयन्त्र कसले गरेको छ त ? 



सरकार र सत्तारुढ दल नेकपाका पछिल्ला घटनाक्रम हेर्ने हो भने प्रधानमन्त्री ओलीको यो भनाइलाई पुष्टि गर्न सक्ने कुनै आधार छैनन् । किनकि ४ मंसिरमा नै नेकपाको सचिवालय बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले नै पाँच वर्षका लागि सरकारको नेतृत्व गर्ने निर्णय भइसकेको छ । यसअघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच बराबर समय सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । तर, ४ मंसिरमा वर्तमान परिस्थितिलाई हेर्दै र स्थायित्वको पक्षमा आफ्नो सरकार रहेको भन्दै सरकार अहिले तत्काल परिवर्तन नगर्ने सहमति नेकपा नेताहरुबीच भइसकेको छ । 

अर्कोतिर, संसदको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले चाहँदा पनि अहिले तत्काल सरकार ढल्ने अवस्था रहँदैन । त्यसमाथि नेपाली कांग्रेसले अहिलेसम्म ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने र उनलाई प्रधानमन्त्रीबाट हटाउने योजना बनाएको पाइँदैन । 



संसदमा सत्तारुढ दलको स्पष्ट बहुमत छ । त्यसमाथि उसलाई अर्को पार्टी राजपाले पनि समर्थन गर्ने सम्भावना छ । त्यसैले प्रधानमन्त्री केपी शर्मा ओलीले यो अभिव्यक्ति दिनुलाई अहिलेको सन्दर्भमा स्वभाविक मान्न सकिँदैन । 

‘उहाँ भावुक भएको हुनुपर्छ वा झापामा आफ्ना समर्थकको भावना जित्नका लागि त्यसो भनेको हुनुपर्छ,’ नेकपामा अध्यक्ष प्रचण्डसँग निकट एक नेताले फरकधारसँग टेलिफोन सम्पर्कमा भने, ‘कि उहाँभित्र मनमा डर छ, आफूले केही गर्न नसकेको हुँदा जनताको साथ पाइँदैन कि भन्ने ।’

ती नेताले अहिले पार्टीभित्र ओली अल्पमतमा पर्दा यस्ता तर्कना आएको हुनसक्ने पनि आशंका गरे । 

त्यसो त नेपाल कम्युनिस्ट पार्टीभित्र अहिले प्रधानमन्त्री केपी शर्मा ओली एक्ल्याइएका छन् । नेकपाका नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा बादल एउटा कित्तामा देखिएका छन् । उनीहरु सबै मिलेर पार्टीमा विद्रोह गरे भने वा पार्टीले कुनै अर्को निर्णय लिएमा केपी ओलीले प्रधानमन्त्रीबाट छोड्नु पर्ने हुनसक्छ । तर, अहिले तत्काल यस्तो सम्भावना पनि देखिँदैन ।

तर, केपी ओलीनिकट एक नेताले चाहिँ अहिले सरकारले गरिरहेको कामलाई हेरेर प्रतिगामी शक्तिले सरकारलाई ढाल्न खोजेको हुनसक्ने आशंका व्यक्त गरे । उनले भने, ‘जसलाई परिवर्तन चाहिएको छैन, देश विकास भएको हेर्न मन छैन, उनीहरु अहिले सक्रिय बन्न थालेका छन् । उनीहरु यो सरकार ढाल्ने तानाबाना बुनिरहेका छन् ।’

ती शक्ति वा व्यक्ति को हुन् त ? 

‘यो जगजाहेर छ, मैले भन्नु नै पर्दैन,’ ओलीको किचन क्याबिनेटका नेताका रुपमा चिनिएका ती नेताले भने, ‘अहिले ओली कमरेडले जसरी देश विकासलाई प्रमुख अजेन्डा बनाउनु भएको छ, यही कारण पनि उहाँको सरकार ढल्ने कल्पनासमेत गर्न चाहिँ सकिँदैन, फेरि होसियारी त अपनाउन पर्छ नै ।’

  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार ६:४२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया