भीमफेदी–काठमाडौं सुरुङमार्ग निर्माण पहिलो प्राथमिकता : मन्त्री फुयाँल

काठमाडौं– वाग्मती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौंलाई जोड्ने भीमफेदी–काठमाडौं सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

मन्त्री फुयाँलले मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाएको सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले तयार पारेको योजना पूरा गर्न आफू लागिपर्ने बताए । उनले प्रदेशका १३ वटा जिल्लाका ११९ वटै स्थानीय तहको विकासका लागि आफूले दिन–रात नभनी काम गर्ने बताए । मन्त्री फुयाँलले भने, ‘अबको तीन महिनामा आफूले गरेको कामको विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्नेछु ।’ 

उनले कर्मचारीतन्त्रलाई जनतामुखी बनाउन मुस्कानसहितको सेवाको अवधारणा पूर्णरुपमा कार्यान्वयन गरिने बताए । कर्मचारी क्षेत्रलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । उनले पारदर्शिता र जवाफदेहीप्रति पूर्ण प्रतिबद्ध भएर अगाडि बढ्ने उल्लेख गरे ।

काठमाडौं जिल्ला क्षेत्र नम्बर ३ तथा प्रदेशसभा ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित फुयाँल यसअघि संविधानसभा सदस्य रहेका छन् । नेकपा बाग्मती प्रदेशका प्रमुख सचेतक समेत रहेका फुयाँल लामो राजनीतिक यात्रापछि मन्त्री बनेका हुन् । विसं २०३६ सालदेखि विद्यार्थी राजनीतिमा लागेका फुयाँल २०४१ सालमा तत्कालीन मालेको सदस्य भएका थिए । 

विसं २०६५ सालमा सम्पन्न पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनपछि केन्द्रीय सदस्यका रुपमा निर्वाचित भएका फुयाँल २०४९ र २०५४ सालमा काठमाडौंको आलापोट गाविसको अध्यक्ष, २०७० सालको संविधानसभाको चुनावमा निर्वाचित भएका थिए ।





  • प्रकाशित मिति : फागुन ६, २०७६ मंगलबार १५:४०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया