‘घरमा मुसा धेरै रैछन्’ भन्ने मन्त्री बाँस्कोटालाई के गर्लान् भ्रष्टाचारीको अनुहार हेर्न नचाहने प्रधानमन्त्री ओलीले ?
फाइल तस्वीर ।

काठमाडौं– दुई वर्षअघि जब मन्त्रिपरिषद् गठन गर्दै थिए, नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उनले सूचना तथा सन्चार मन्त्रालय बाहिर खासै नाम नसुनिएका तर पार्टीभित्र राम्रो सम्बन्ध स्थापना गरिसकेका गोकुल बाँस्कोटालाई सरकारको प्रवक्ता पनि बनाउने भए । 

प्रधानमन्त्री ओलीकै अपेक्षाअनुसार बाँस्कोटाले त्यसपछि आफ्नो भूमिका निर्वाह गरे, प्रेससँग रुखो बोल्न थाले । त्यसैले उनले बोलेका कतिपय अभिव्यक्तिहरु व्यापक चर्चामा आएका छन्, भाइरल भएका छन्, ट्रोल गरिएका छन् । 

यही कुरा केही दिनअघि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटाको गृहजिल्ला पुगेर पनि बताएका थिए । काभ्रेको धुलिखेलमा सोमबार धुलिखेल नगरपालिकामा ३४ औं स्थापना दिवस मनाउने कार्यक्रम राखिएको थियो । त्यो कार्यक्रममा पुगेका थिए, प्रधानमन्त्री ओली । 

त्यहाँ उनले गोकुल बाँस्कोटालाई देखाउँदै भनेका थिए– काभ्रे प्रतिभा जन्माउने जिल्ला भएको छ ।

त्यही कार्यक्रममा गोकुल बाँस्कोटालाई इंगित गर्दै प्रधानमन्त्री ओलीले अर्को एउटा वाक्य पनि बोलेका थिए । उनले सम्पूर्ण देशको राजनीति एकातिर अर्कोतिर गोकुल बाँस्कोटालाई राख्न सकिने बताएका थिए । ‘आज देशमा राजनीतिक तुलो राख्ने हो भने तुलाको एकातिर गोकुल बाँस्कोटा अर्कोतिर अरू सबैजस्तो भएको छ,’ प्रधानमन्त्री ओलीले भनेका थिए ।

यसबाट प्रष्ट बुझ्न सकिन्छ, ओली र बाँस्कोटाको राम्रो र सुमधुर सम्बन्ध छ, यी दुईले एकअर्कालाई बुझेका छन् । ओली र बाँस्कोटाबीचको समुधुर सम्बन्ध आजको होइन । जतिबेला तत्कालीन माओवादीको वाइसिएलले उग्र रुप धारण गरिरहेको थियो, त्यति बेला ओलीले नेकपाका नेता महेश बस्नेतलाई युथ फोर्सको इन्चार्ज बनाएका थिए । त्यति बेला देखि नै बाँस्कोटासँग ओलीको सम्बन्ध राम्रो भएको हो । यसमा सेतुको काम गरेका थिए, बस्नेतले । 



पछि बस्नेत र बाँस्कोटा झन् नजिकिँदै गए । दुवै जना ओलीका प्रिय पात्र हुन थाले । 

तर, गत निर्वाचनपछि बाँस्कोटा र बस्नेतबीच सम्बन्धमा चिसोपना देखिन थाल्यो । अनि विस्तारै बाँस्कोटा प्रधानमन्त्री ओलीसँग झन्झन् नजिक हुन थाले । 



यही कारण हुनुपर्छ, दुई वर्षअघि सन्चारमन्त्रीको सपथ लिएपछि गोकुल बाँस्कोटा पुल्चोकस्थित मन्त्री निवास गएनन्, बालकोटमा रहेको ओली निवासमा बस्न थाले । 

‘प्रधानमन्त्रीज्यू बालुवाटार बस्ने भएपछि उहाँको घर कुर्ने कोही चाहिएको नै थियो, उता, पुल्चोकमा पनि मन्त्रीनिवास भरिएको थियो,’ नेकपाका एक नेताले त्यति बेलाको प्रसंग सम्झिए, ‘अनि गोकुल कमरेड प्रधानमन्त्री ओलीको घरमा बस्ने कुरा भयो ।’

‘बाको म छोरै हुँ,’ गोकुल बाँस्कोटाले त्यति बेला भनेको प्रसंग ती नेताले सम्झिए, ‘अब छोराले नै बाको घर कुर्छ ।’

गोकुल त्यहाँ बस्न थाले । त्यसको केही दिनपछि उनी बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेट्न गएका थिए । त्यति बेला उनले प्रधानमन्त्री ओलीलाई ठट्यौली पारामा भनेका थिए, ‘घरमा कति धेरै मुसा हुन्, हिजो रातभर हल्ला गरेर सुत्न सकिएन ।’ गोकुलले यसो भन्दा प्रधानमन्त्री ओली मुसुक्क हाँसेका थिए । त्यहाँ उपस्थित राष्ट्रिय सभा सदस्यसमेत रहेका एक नेकपा नेताले त्यसपछि आफूलाई गोकुल र प्रधानमन्त्रीको सम्बन्ध कति सुमधुर रहेछ भन्ने थाहा भएको बताए ।

 

के ओलीले बर्खास्त गर्लान् बाँस्कोटालाई ? 

बिहिबार प्रधानमन्त्री ओलीका तिनै प्रिय पात्र सन्चारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेसको सम्बन्धमा स्विस कम्पनीका नेपाली एजेन्टसँग घुसका लागि बार्गेनिङ गरिरहेको एउटा अडियो टेप सार्वजनिक भयो ।

सार्वजनिक भएको अडियो टेपमा गोकुल बाँस्कोटाले घुसका लागि बार्गेनिङ मात्र गरेका छैनन्, कर्मचारीमाथि अपशब्द पनि बोलेका छन् । अश्लील शब्दहरुको प्रयोग कर्मचारीमाथि गर्दा बाँस्कोटाले न आफ्नो पदलाई सम्झिएका छन्, न कर्मचारीको डिग्निटीलाई विचार गरेका छन् ।

केही समयअघि देखि बारम्बार प्रधानमन्त्री केपी शर्मा ओलीले दोहो¥याउँदै आएका छन्, ‘म भ्रष्टाचारीको अनुहार पनि हेर्दिनँ ।’ तर, उनकै नेतृत्वका मन्त्री बाँस्कोटा घुस प्रकरणमा जोडिएको अडियो सुन्दा स्पष्ट हुन्छ । 

त्यसैले अब प्रश्न उठेको छ– प्रधानमन्त्रीले के गर्लान् त आफ्ना प्रिय बाँस्कोटालाई ?

‘ओली कमरेडले अहिलेसम्म आफू निकट व्यक्तिलाई अप्ठ्यारो होस् भन्ने चाहेको बुझ्न सकिएको छैन,’ ओली निकट नै एक नेताले फरकधारसँगको टेलिफोन सम्पर्कमा भनेका छन्, ‘बालुवाटार प्रकरणमा विष्णु पौडेल हुन् वा अरु विभिन्न प्रकरणमा अरु नेताहरु नै किन नहुन्, जो ओलीनिकट छन्, उनीहरुलाई ओली कमरेडले राम्रै संरक्षण दिइरहेका छन् । त्यसैले, यो प्रकरणमा पनि बाँस्कोटामाथि प्रधानमन्त्रीले केही गर्नुहोला जस्तो लाग्दैन ।’

तर, यो प्रकरणमा बाँस्कोटामाथि कुनै कारवाही नभएमा नेपाली कांग्रेसले जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएको छ ।

  • प्रकाशित मिति : फागुन ८, २०७६ बिहीबार १३:५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया