रोनाल्डो र मेसीः कति साथी, कति दुश्मनी ?

एक दशक यता विश्व फुटबलमा कसैले राज गरेको छ भने, दुई खेलाडीको नाम छुटाउनै मिल्दैन । ती दुई खेलाडी हुन्, पोर्चुगल तथा युभेन्टसका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेसी ।

सन् २०१० को दशकमा भएका १० वटा ब्यालोन डि ओर उपाधि एउटा वर्षमा मात्र एक खेलाडीले फुत्काए, क्रोएिशियाका लुका मड्रिडले । सन् २०१८ मा लुकाबाहेक अन्य ९ वर्षमा ब्यालोन डि ओर उपाधि सधैं कि रोनाल्डोले जिते कि मेसीले । योबीचमा रोनाल्डो र मेसीले क्रमशः ४ र ५ पटक ब्यालोन डि ओर जितेका छन् ।

विश्वमा मात्र होइन, नेपालमा पनि यी दुई खेलाडीका प्रशंसक दुई कित्तामा बाँडिएका छन्, दुई कित्तामा उभिएका छन् । कतिसम्मको अवस्था छ भने कहिलेकांही सामाजिक सन्जालहरुमा यी दुई खेलाडीका प्रशंसकले एक अर्कालाई निकै कडा आलोचना पनि गरिरहेका हुन्छन् । 

मेसी र रोनाल्डो सहभागी टिमका खेल अहिले भारत र पाकिस्तानबीच हुने क्रिकेट प्रतिस्पर्धाजस्तै निकै कडा देखिन्छ । मैदानमा यी दुईले आफूहरुलाई कडा ‘दुश्मन’का रुपमा पनि चित्रण गरिरहेका हुन्छन् ।

सन् २००९ मा रोनाल्डोले रियल मड्रिडबाट खेल्ने निर्णय गरे । मड्रिड यसै पनि बार्सिलोनाको दुश्मनका रुपमा मानिने गरिएको थियो । यही कारणले पनि अब यी दुई खेलाडीबीच झन् दुश्मनी बढेको आभास विश्वले गर्यो । 

रोनाल्डो मड्रिडमा रहँदासम्म मैदानमा यी दुई र मैदानबाहिर यी दुईका समर्थकबीच निकै ठूलो घम्साघम्सीसमेत देखिने गरेको छ । यस्तो किन पनि हुन्छ भने यी दुईबीच को राम्रो भन्ने कुरा अझै पनि चर्चाको विषय नै बनिरहेको हुन्छ । 



तर, वास्तावमा भन्ने हो भने मेसी र रोनाल्डोले एकअर्कालाई जति उनीहरुका प्रशंसकले दुश्मन ठान्छन्, त्यस्तो ठान्ने गरेका छैनन् । 

जस्तो कि यी दुई खेलाडीले यसअघि विभिन्न ठाउँमा अन्तर्वार्ताहरुमा पनि एकअर्कालाई सहज रुपमा नै लिन्छन् । को उत्कृष्ट खेलाडी भन्ने लाग्छ भन्ने प्रश्न दुवैलाई सोधिएका अन्तर्वार्ताहरुमा एकले अर्काको नाम पनि लिइरहेका हुन्छन्, कहिले दुवैले आफ्नो आफ्नो नाम मात्र लिएका हुन्छन् ।



तर, मैदानमा चाहिँ यी दुईको दुश्मनी देखिइहालिन्छ । केहीअघि उनीहरु दुवैले एकै खालको गोल सेलिब्रेसन गरेका थिए । धेरैले यसलाई यी दुई जनाको दुश्मनीको रुपमा अथ्र्याए । 

एक अर्कासँग खासै दुश्मनी नभएका मेसी र रोनाल्डो आत्मीय साथी पनि होइनन् । उनीहरुले मैदानमा एकअर्कालाई दुश्मनीका रुपमा खेल खेल्ने गरे पनि मैदान बाहिर व्यवसायिक सम्बन्धलाई यी दुईले राम्रोसँग निर्वाह गरेका छन् । 

मेसीले भनेका छन्, ‘रोनाल्डो मेरो आत्मीय साथी होइन किनभने हामीले एउटै क्लबबाट खेलेका छैनौँ, धेरै समय एक अर्कासँग विताएका छैनौँ, हामीले एक अर्कालाई भेट्ने भनेकै कि खेल हुँदा हो कि अर्वाड कार्यक्रममा । हामीबिच सबै कुरा ठिकठाक छ ।’

त्यसो त रोनाल्डोले पनि भनेका छन्, ‘म मेसीले गर्दानै उत्कृष्ट खेलाडी बनेको हुँ । १५ वर्ष देखि हाम्रो व्यवसायिक सम्बन्ध राम्रो छ किनकि हामीले धेरै राम्रा क्षणहरु सँगै बिताएका छौँ ।’   

एक कार्यक्रमामा रोनाल्डोले मेसीसँग डिनर गर्ने इच्छासमेत व्यक्त गरेका थिए, पछि मेसीले पनि आफ्नो चाहना रोनाल्डोसँग डिनर गर्ने भएको बताएका थिए । 

यतिमात्र होइन, एक पटक रोनाल्डोको छोराले मेसीलाई आफ्नो आइडल बताउदा रोनाल्डोले मेसीलाई भनेका थिए, मेरो छोरो युट्युबमा तिम्रो भिडियो हेरेर बस्छ, तिम्रो निकै ठूलो फ्यान बनेको छ । 

अनि मेसीले जवाफ दिएका थिए– मेरो छोरा पनि रोनाल्डोबाट प्रभावित भयो भने त्यसले मलाई खुसी नै बनाउँछ । 

  • प्रकाशित मिति : फागुन १०, २०७६ शनिबार १९:८:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया