पोखरा– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक सञ्चालन गर्न लागेको स्नातकोत्तर तहको परीक्षा रद्द भएको छ । परीक्षाअगावै प्रश्नपत्र बाहिरिएका कारण शनिबारका लागि तोकिएको मास्टर इन डक्टरेट (एमडी) र मास्टर इन सर्जरी (एमएस) एमएसको परीक्षा रोकिएको थियो ।
लोकसेवातर्फ नौ र खुल्लातर्फ आठ गरी १७ सिटका लागि तय गरिएको परीक्षाको प्रश्नपत्र बाहिरएको भन्दै केही विद्यार्थीले बहिष्कार गरेपछि परीक्षा नै स्थगित भएको हो । ४१ सय रुपैयाँ तिरेर १ हजार ३७ जना डाक्टरहरुले परीक्षा फारम भरेका थिए ।
निर्धारित परीक्षाका लागि १ हजार १२ जना उपस्थित रहेकोमा परीक्षा सुरु भएपछि केहीले प्रश्नपत्र नै बाहिरिएको, धाँधली भएको भन्दै परीक्षा बहिष्कार गरेका थिए । पोखराको अमरसिंह नमुना माविमा केन्द्र तोकिएको परीक्षा १ घन्टा ढिला गरी ३ बजे मात्रै सुरु भएको थियो ।
प्रश्नपत्र बाहिरिएको र मिलेमतोसमेत भएको भन्दै बहिष्कार र विवाद भएपछि परीक्षार्थीले पुनः परीक्षा गर्न माग गरेका थिए । शनिबार अबेरसम्मै परीक्षा समितिको बैठक बसेको थियो । राति ११ बजे परीक्षा रद्ध गर्ने निर्णय गर्दै समितिले आइतबार सूचना जारी गरेको छ ।
अर्को सूचना प्रकाशित गरी परीक्षाको मिति तय हुने प्रतिष्ठानले जनाएको छ । प्राविधिक कारणले परीक्षा स्थगित गर्नुपरेको प्रतिष्ठानले जनाएको छ ।
शनिबार ३ बज्नै लाग्दा पनि परीक्षा सुरु नभएपछि परीक्षा दिन पुगेका केहीले सोधखोज गर्न थालेका थिए । उनीहरुले प्रश्नपत्र नै बाहिएको खबर सुनेपछि होहल्ला सुरु भएको थियो ।
प्रतिष्ठानका उपकुलपति बुद्धिबहादुर थापाले परीक्षा सुरु भइसकेपछि मात्र प्रश्नपत्र बाहिरिएको बताउँछन् । कतै परीक्षा सुरु भइसकेको र कतै ढिला गरी सुरु भएको बताउँदै उनले विवाद आएपछि परीक्षा रद्ध गरिएको बताए ।
प्रतिष्ठानले गएको पुस ०७ गते भर्नाका लागि एक महिने सूचना निकालेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।