नयाँ नागरिकता कानुनका समर्थक र विराेधीबीच दिल्लीमा झडप

काठमाडौं– भारतको नयाँ दिल्लीको यमुना क्षेत्रमा नयाँ नागरिकता संशोधन कानुनको मुद्दामा विरोध गरिरहेका र समर्थन गरिरहेको मानिसहरुबीच झडप भएको छ । यो झडपका कारण त्यहाँ हिंसा भड्किँदा अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ ।

समाचार एजेन्सी एउनआईका अनुसार यो हिंसामा अहिलेसम्म तीन सर्वसाधरण नागरिक, एक प्रहरी अधिकारीको मृत्यु भइसकेको छ । पाँचौ मृत्युबारे जिटिबी अस्पतालले जनाएको छ । पाँचौ मृतकबारे कुनै जानकारी बाहिर दिइएको छैन । 

जिटिबी अस्पतालमा दर्जनौँ घाइतेको उपचार भइरहेको छ । कम्तिमा पनि २५ जनाको विशेष उपचार भइरहेको जनाइएको छ ।

दिल्ली सरकारका मन्त्री गोपाल राय बाबरपुर क्षेत्रमा फायरिङ भएको भन्दै यसलाई नियन्त्रण गर्न त्यहाँ प्रहरी पठाउने तयारीका लागि मंगलबार विहानबाट लागिपरेका छन् । 

उनले उक्त क्षेत्रमा र उत्तरपूर्वी दिल्लीमा तत्काल प्रहरी पठाउने तयारी भएको बताएका छन् ।

दिल्लीमा यो हिंसा भड्किएको सोमबार दिउँसोबाट हो । त्यहाँ सोमबार दिउँसो र साँझ भएको घटनामा चार जनाको मृत्यु भइसकेको थियो । जाफराबादमा मोहम्मद सुल्तान नामका प्रदर्शनकारीलाई गोली खुट्टामा लागेको थियो । तर, उनको रगत धेरै बगेकाले मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।



प्रदर्शनकै बीचमा शाहिद अल्वी नामका अटो चालकको पनि मृत्यु भएको छ ।

उता, अस्पताल सूत्रको हवाला दिँदै बिबिसी हिन्दीले २५ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई अस्पतालमा उपचारका लागि भर्ना गरिएको जनाएको छ ।



समाचार एजेन्सी पिटिआइका अनुसार रतन लाल नामका हेड कन्स्टेबलको पनि मृत्यु भएको छ ।

हिंसा भड्किएपछि दिल्ली मेट्रोका केही स्टेसनहरु बन्द गरिएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरवालले अशान्ति नफैलाउन र वार्ताबाट समस्याको समाधान गर्न अनुरोध गरेका छन् । 

  • प्रकाशित मिति : फागुन १३, २०७६ मंगलबार १०:२३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया